पत्रकार हो !
देश बिदेशका खवर लेख्छौ
तिमीलाई कसरी भनु ?
मेरो समाचार लेख भनेर
तिमीले देखेकै थियौ मेरो पीडा र बेदनाहरु
अब लेख पनि भन्दिन म,
मेरो वास्तविकता कसैलाई कहिल्यै नभन्नु !
साहित्यकार हो !
समाजको बारेमा जे भन्यौ
विलोम थियो अशुभ थियो
मेरो वास्तविकता देख्यौ ? चुपचाप किन ?
कसरी खाडलमा परें ? तिमीले देखेकै थियौ
चित्रकार हो !
मेरो बाहिरी रुपरेखा हेर्यौ
मेरो तस्वीर खै त बनाएको ?
मेरा वरिपरी जंगल छैन ?
स्याल, सर्प, काडाँ, बारबेर छैन ?
अनाथ बालक झैँ के बनाएको ?
साथीहरु हो !
विश्वास बोकेर आएका थियौ
स्वार्थ सिद्दीको मसला बोकेर हो कि ?
आफ्नो दुनो सोझाउन खोज्यौ ?
आपत विपतको घडीमा सम्झिनु
मदन भोट जादा झैँ बाटोमा
सरकार प्रशासक हो !
देशलाई डुबाएर के उपद्रो गर्यौ ?
गाउँ शहर महंगीको आतंकले छोपेको छ
नेता देश द्रोही बन्दा उनैको तलुवा चाटेर
युवाहरुलाई पाश्बिक्ताको अचानोमा हाल्दैछौ
ज्वलन्त उपमा परराष्ट्र मन्त्रालय र देशको कानून !
इतिहासकार हो !
मेरो नामको कुनै दस्ताबेज नलेखियोस
मेरो मृत्युको बारेमा गुमनाम पारियोस
म बिदेशमै मर्छु, मेरो नाम नराखियोस
जिउँदा छँदा अपहेलना गर्नेको नाम रहोस
म नेपालीको रगत हुँ राजनीतिमा नकोरियोस
आफन्तीजन हो
तिम्रो आस्था प्रतिष्ठा बिगारें मैले ?
मेरो नाम नजडियोस तिम्रो कुकर्मसंग
मेरो कर्म नपोखियोस तिम्रो पाखन्डसँग
जति भोगे जीवनका कालरात्री अनेक बाटोमा
बस् पुग्यो अब चाहिन्न ख़ुसामद र चाप्लुशी कुराहरु
मलाई स्वतन्त्र बाच्न देऊ !
-हाल लिस्बोन पोर्तुगल