कुनैपनि व्यक्तिको स्वभाव, व्यवहार, चरित्र र समग्र व्यक्तित्व उसको घरपरिवार, संस्कार, शिक्षा, सामाजिक वातावरण आदिमा मुलत: निर्भर हुन्छ । आधुनिकता सँगसँगै पारिवारिक, सामाजिक मूल्य, मान्यता, संस्कार र वातावारणमा पनि परिवर्तन आएको छ । मानवता, नैतिकता, इमान्दारिता जस्ता असल सामाजिक संस्कारहरु विकृतिहरुद्वारा प्रतिस्थापन भइरहेका छन् । मानिसले आफ्नो स्वाभाविक मानवीय आदर्श, मूल्य र मान्यतालाई कुल्चदै अमानवीय व्यवहार, प्रवृति र संस्कार अँगाल्दै गइरहेको छ
समाजमा इज्जत, प्रतिष्ठाको आधार नैतिकता, इमान्दारिता र असल व्यक्तित्व भन्दा पनि कुनैपनि व्यक्तिले आर्जन गरेको आर्थिक, सामाजिक सम्पन्नता, पहुँच वा शक्ति जस्ता कुराहरुलाई मानिने गरेको छ । एउटा व्यक्ति सम्पन्न वा राजनीतिक, प्रशासनिक तथाकथित उच्च ओहोदाको भएमा प्रतिष्ठित वा ठूलो व्यक्तिका रुपमा लिइन्छ चाहे उक्त व्यक्ति जतिसुकै भ्रष्ट र चरित्रहिन नै किन नहोस । यस प्रकारको आडम्बरपूर्ण संस्कारले पद वा शक्तिलाई इज्जत गर्ने तर व्यक्तिको समग्र व्यक्तित्व, अनुशासन, चरित्र र इमान्दारिता जस्ता कुराहरु अवमुल्यन गर्ने संस्कारको विकास हुदैंछ । असल र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन र खराबलाई दण्डित गर्ने संस्कारको अभावमा विभिन्न फौजदारी अभियोग लागेका, अदालतद्वारा अपराधको कसुर वापत सजायँ सुनाइएका कतिपय व्यक्तिहरुलाई कुनै कानुनी कारबाही नगरी उन्मुक्ति दिने क्रम पनि बढ्दो छ । यसले दण्डहीनताको संस्कारलाई प्रबर्द्धन गरिरहेको छ । जसले गर्दा अपराधीलाई उच्च मनोबल बढाएको छ भने पीडितहरुलाई न्यायका अभावमा अपमानित र दण्डित हुनु परेको महसुस गराएको छ । यसले गर्दा समाजमा असल र खराब, सज्जन र दुर्जन व्यक्ति एवं प्रवृतिका विचमा कुनै फरक नछुट्टिने अवस्था रहेको छ ।
फलस्वरूप असल बनेर के फाइदा वा के का लागि इमान्दार मानिस बन्ने भन्ने गम्भीर प्रश्न उब्जिएको छ । मानिस आफ्नो विचार, विवेक र चेतनाले गर्दा नै शृष्टिमा रहेका प्राणीहरु मध्ये सर्वश्रेष्ठ प्राणी भएको हो । कुनैपनि मानिसमा हुनुपर्ने अत्यावश्यक गुणहरु जस्तै मानवता, नैतिकता, इमान्दारिता, सभ्यता, ज्ञान, विवेक आदि हुन् । यी गुणहरुका अभावमा मानिस र अन्य प्राणीका बीच तात्विक भिन्नता रहदैन । मानवता र असल चरित्र विनाको मानिस जतिसुकै ठूलो कहलिए पनि उनीहरुले समाजलाई सकारात्मक योगदान भन्दा नकारात्मक कुराहरु दिने गरेको कुरा विश्व ईतिहासले देखाएको छ । कुनै समयका शक्तिशाली मानिएका हिटलर, मुसोलिन जस्ता तानाशाहहरु जति नै ठूला मानिए पनि लाखौ मानिसको हत्या गरेर उनीहरुले मानव समाज र मानवता बिरुद्ध जघन्य अन्याय, अत्याचार र अपराध गरे । यसैगरी कुनैपनि व्यक्तिले प्राप्त गरेको शिक्षा वा किताबी ज्ञानले मात्र उसको उत्कृष्टता पुष्टि गर्दैन । न त उसको चलाखिपना र चतुर्यताले असल छ भन्ने कुराको निश्चितता प्रदान गर्दछ । एक्काइसौ शताब्दिका साउदी अरेवियन विन लादेन हुन वा त्रेता युगीय रावण यी दुवै अत्यन्त तीक्ष्ण बुद्धि र चातुर्यता भएका मानिस हुन् । तथापि उनीहरुले आफ्नो बुद्धि, विवेक र ज्ञान मानवताका लागि नभई मानवता विरुद्धका खातिर प्रयोग गरे । यसर्थ, कुनै व्यक्तिले आर्जन गरेको ज्ञान र विवेक सँगसँगै जति सामाजिक, व्यबहारिक र मानवीय गुणले युक्त हुन्छ त्यतिनै असल व्यक्ति ठहरिन्छ ।
मानव अधिकार, सामाजिक न्याय र प्राकृतिक रुपबाट समेत सबै मानिस जन्मकै आधारमा समान छन् । जसरी प्रकृतिमा भएका प्राणीहरु सबैको समान अस्तित्व छ र सबै समान छन् । त्यसरीनै सबै मानिस प्राकृतिक रुपमै समान छन् । अत: मानिसको जात केवल मानिस नै भएकाले सबैको बराबर मूल्य, पहिचान र इज्जत स्थापति हुनुपर्छ । यस्तो प्राकृतिक समानता बीच पनि हामीले गलत संस्कारको निर्माण गर्दै यो जात, बर्ण सानो र त्यो ठूलो भन्ने अन्यायपूर्ण विभेद कायम गर्दै आयौं । आर्थिक हिसाबले बिपन्न एउटा व्यक्तिलाई, जो गरिब हुनुमा आफ्नो कुनै अपराध हुँदैन, अर्को सम्पन्न व्यक्तिको तुलनामा हेयका दृष्टिले हेरिनु मानवताका दृष्टिकोणले न्यायपूर्ण किमार्थ हुन सक्दैन ।
पारस्परिक सम्मान, सद्भाव, सहयोग, मेलमिलाप जस्ता मानवीय आदर्श सामाजिक जीवनशैलीको अभिन्न आयामका रुपमा कायम रहेकोमा आधुनिकतासँगै यस्ता आदर्शहरुलाई मानिसले बिर्सदै गइरहेको छ । भौतिकतामा रमाई रहेको अहिलेको आधुनिक मानिस दिनानुदिन प्रतिष्पर्धी, प्रतिशोधि, यान्त्रिक र घमण्डी हुँदै गइरहेको छ । अपितु, समाजका सबै मानिसको समान मर्यादा र वास्तविक समानता कायम गर्न मानिस प्रतिष्पर्धी होइन सहयोगी, कल्याणकारी हुनु जरुरी छ । मानिसले आफ्नो विवेक, बुद्धि परस्पर सामाजिक मेलमिलाप, सरसहयोग र भाइचाराका खातिर प्रयोग गर्नुपर्छ । एउटा मानिसले अर्को मानिसलाई बसुधैव कुटुम्बकमको दृष्टिकोणले हेर्ने, एक अर्कालाई सम्मान गर्ने र सबैको अस्तित्वलाई समान रुपले स्वीकार गर्ने हो भने समाजमा ईर्ष्या, वैमनश्यता, हिंसा, हत्या जस्ता घटनाहरु हुने थिएनन् । त्यसकारण, न्यायपूर्ण, शान्त, सभ्य र समानतामूलक समाज निर्माणका लागि व्यक्तिको सामाजिक पहिचान वा प्रतिष्ठा ठूलो सानो भनेर होइन उसको गुणको आधारमा सामाजिक सम्मान कायम हुने वातावरण हुन आवश्यक छ ।
यसरी समाजमा अहिले मानवता, नैतिकता, इमान्दारिता जस्ता असल मानिसमा हुनुपर्ने गुणहरुमा क्षयीकारण भइरहेको छ । यसले गर्दा शान्त, सह-अस्तित्वका साथ विभिन्न जाति, समुदाय मिलेर बसेको हाम्रो समाजमा अहिले हिंसा, द्वेष, प्रतिशोध, अकर्मण्यता जस्ता कुराहरुको विजारोपण भएको छ । यस्तो अवस्थामा मानिसलाई कसरी सभ्य, सुसंस्कृत, इमान्दार र असल मार्गमा लाग्ने प्रेरणा दिन सकिन्छ त ? सर्वप्रथमत: बालबालिकालाई सानै देखि नै मानवता, नैतिकता, इमान्दारिता, अनुशासन, मर्यादा जस्ता कुराहरुको ज्ञान घरपरिवार र विद्यालय दुबैमा दिनुपर्छ । बिडम्बना नै मान्नुपर्छ पहिले विद्यालय
पाठ्यक्रममा अनिवार्य विषयको रुपमा रहेको नैतिक शिक्षालाई अहिले हटाईएको छ । तर यसको महत्व र आवश्यकता आधुनिकतासँगै झनै बढ्दै गएको हुनाले विद्यालय शिक्षामा अनिवार्य र विश्वविद्यालय
स्तरमा पनि नैतिक शिक्षाको पाठ्यक्रम लागु गरिनुपर्छ । आजका बालबालिकाहरु भविष्यका कर्णधार भएकाले बच्चै देखि बालबालिकालाई ठूलो भन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौ भने भविष्यमा उनीहरु आफू असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिन्छ । यसका अलावा टेलिभिजन, कम्प्युटर र इन्टरनेटको अत्यधिक दुरुपयोगले हिंसा, लडाईं, झगडा, मारकाट, यौनजन्य अश्लिलता जस्ता खराब संस्कारहरु बालबालिकाले सजिलै सिक्ने भएकाले यस्ता प्रविधिहरुको सहि र सिमित प्रयोगका लागि अभिभावकद्वारा निगरानी गरिनु अत्यावश्यक देखिन्छ ।
हामीकहाँ राजनीतिक दलका नेतालाई आम मानिस भन्दा बढि ठूलो र सम्मानित व्यक्तिको रुपमा हेर्ने परिपाटी छ । तर बिडम्बना देशका औसत राजनीतिक नेताहरु भ्रष्ट र गैरजिम्मेवार छन् । यस्ता खराब व्यक्तिहरुलाई हामी समाजको सबै भन्दा उपल्लो दर्जाको व्यक्तिका रुपमा सम्मान प्रकट गर्छौं । अनि फेरि तिनै भ्रष्ट र अयोग्य व्याक्तिहरुलाई उनीहरुको गुण-दोष, असल-खराब पक्षको मुल्यांकन नगरि चुनाबमा पटक पटक मत खसालेर विजयी गराउँछौं । असल, चरित्रवान र राष्ट्रप्रेमी व्यक्तिलाई मात्र नेताका रुपमा समाजले अनुमोदन गर्नुपर्नेमा त्यसो नहुनु, नगरिनुले खराब व्यक्तिहरु झन् ठूला नेता, सांसद, मन्त्रि हुने गरेका छन् । यसले गर्दा राजनीतिज्ञहरु तथाकथित ठूला नेता त कहलिए तर देश र जनताप्रति जिम्मेवार हुन सकेनन् । त्यसैले, कुनैपनि व्यक्ति नेता हुनका लागि सर्वप्रथम असल र चरित्रवान हुनै पर्ने र त्यस्ता व्यक्तिलाई मात्र नेताका रुपमा स्वीकार गर्ने संस्कारको विकास गरिनुपर्छ ।
यसकारण, मानवीय मूल्य, मान्यता र आदर्श विनाको भ्रमित ठूलो मान्छे समाजमा विकृति र विसंगतिहरुको कारक बन्न सक्छ । असल व्याक्तिले मात्र आफ्नो घरपरिवार तथा समाजमा माया, सद्भाव, सहयोग, पारस्परिक सम्मान, मेलमिलाप, भाइचारा जस्ता मानवीय संस्कार कायम राख्न सक्छ । यसर्थ, सभ्य, शान्त, न्यायपूर्ण र कल्याणकारी समाज निर्माणका लागि तथाकथित ठूलो होइन असल, इमान्दार र चेतनशील व्यक्तिहरुको अहिले खाँचो छ । त्यसैले, समाजमा ठूलो होइन असल मानिस हुने वा बन्ने संस्कारको विकास हुनु अपरिहार्य भएको छ ।
(लेखक रेग्मी एनआरएनए जापान, कोसिनेत्सुका सल्लाहकार हुन)