‘राजाको काम कहिले जाला घाम’ भन्ने चलन थियो पहिले पहिले । हालैका दिनहरुमा आएर त्यो उखान पनि परिवर्तन भएको जस्तो लाग्छ – ‘सरकारी काम कहिले जाला घाम’ । भन्नलाई नाम र ठाम (ठाम=ठाऊँलाई बोलीचालीको भाषामा) अनुसारको काम, काम अनुसारको दाम अनि फेरि दाम अनुसारको माम पनि भनिन्छ । नाम, ठाम, काम, दाम र मामको सम्बन्ध रिङ् रोडको बाटो जस्तो फनक्कै घुमेर जोडिएको छ एक आपसमा । यिनीहरुको सम्बन्ध यति घनिष्ट भएर जोडिएको छ कि यिनीहरू सबै एक अर्काका परिपुरक हुन । त्यसैले भनिने गरिन्छ जस्तो काम त्यस्तै माम । तर सँधैभरी यी कुराहरू सही सलामत हुँदैनन् ।
‘विज्ञान र गणितका सूत्रहरु पनि कुनै बेला फेल खान्छन् रे’ भनेको सुनेको । आफू त विज्ञान र गणितमा सँधै गान्धी मार्क ल्याउने न परें आफैले भन्ने त कुरै भएन । त्यस्तै जस्तो कहिलेकाहीं नाम, ठाम, काम, दाम र मामको सम्बन्ध पनि मेल नखान सक्छ । विज्ञान र गणितका सूत्रहरुले विद्यार्थीहरुको मूत्र निकालिदिन्छ रे ! (यो सबैलाई लागू नहुन पनि सक्छ) । तर परीक्षाको समयमा अन्य विषयको परीक्षामा भन्दा गणित र विज्ञानको परीक्षा भएको दिनमा धेरै भन्दा धेरै विद्यार्थीहरु शौचालय धाउँछन् । यसबाटै थाहा हुन्छ कि साँच्चै विज्ञान र गणितको सूत्रले विद्यार्थीहरुको मूत्र निकाल्ने नै रहेछ भनेर । आफू पनि धाईयो होला कति पटक परीक्षाको बेलामा शौचालय । तर यहाँ गणित र विज्ञानको भन्दा अर्को भिन्दै विषयको कुरा गर्न गईरहेको छु त्यो हो गाउँघरतिर पहिलेपहिले गाई खाने भाषा भनेर भनिने अंग्रेजी भाषाको । भन्नेहरुले भन्छन्-‘इंग्लिस इज जस्ट वान्ली ल्यांग्वेज, इट डिपेन्स् अन प्राक्टिस्’ । हिजोको दिनमा त्यो कुरा सुनेर म पनि एक धार्नीको मुन्टो हल्लाउँथें । अंग्रेजीका पनि सूत्रहरु हुन्छन् नै तर तिनीहरु कतिपय बोलाईमा प्रयोग होलान् कतिपय लेखाईमा । हुन पनि अंग्रेजी एउटा भाषा हो अभ्यास गरे यसमा पोख्त हुन सकिन्छ होला । तर बोलाई र लेखाईमा फरक पर्छ भन्ने मेरो वोधो दिमागले पनि अनुमान काटेकै हो ।
त्यही भएर त म अरुवेला केही बोल्न नसके पनि झम्केपानी चढाए पछि जाबो अंग्रेजी त कति बोल्छु कति । सरर आफै आउँछ भन्या जादू गर्याजस्तो । काठमाण्डौ तिनकुनेको सेकुवा कर्नरमा साथीहरुसँग बोलेको अंग्रेजी म जहाँ गए पनि कहिल्यै विर्सन सक्दिन । हामी उस्तै-उस्तै साथीहरु त्यहाँ भेट हुन्थ्यौं । अरु बेला अंग्रेजीमा मुखबाट वाफ ननिस्किए पनि सेकुवा कर्नरमा धराने कालो सुंगुरको पोलेको मासु र दुइ चार गिलास झम्केपानी हालेपछि त जावो अंग्रेजी कति कति । गोराले पनि नबुझ्ने खालको अंग्रेजी बोल्ने भन्या हामीले । हामी राती अवेरसम्म खुब अंग्रेजी बोल्थ्यौं एक अर्काको कुरा नबुझे पनि । कर्नरमा साथीहरुसँग बोलेर पनि नपुगेर घर आए पछि एक्लै रातभरी अंग्रेजी बोल्थें म । गोराले त नबुझ्ने मेरो अंग्रेजी जावो नेपालको सुगा रटाए झैं रटाउने बोर्डिङ स्कूल पढेको मेरो छोराले के उत्तर दिन सक्ने ? घोकेको कुरा भन्दा अरू बढी प्याट्टै बोल्न आउँदैन त्यसलाई । रातभर अंग्रेजी बोलेपछि विहान टाउको दुख्ने भन्या । अनि म सोच्थें विहान टाउको दुखेको सायद यो अंग्रेजी गाह्रो भएर नै होला ।
ए साँच्चै म पनि कति कुरो घुमाईरहेको हुँला रिङरोडको बाटो घुम्याजस्तो । कहाँको काम, दाम र मामबाट शुरु भएको कुरा अंग्रेजी विषयमा गएर गन्थन धेरै गरें भन्या । कुरो के भने एकजना साथी एमआरपी पासपोर्टको लागि फारम भर्नुपर्यो भनेर मेरो अफिसमा आए । कहीं नभएको जात्रा हाँडी गाउँमा भनेजस्तो यतिखेर एमआरपी पासपोर्ट बनाउन फारम कम्प्यूटरमा नै भर्नुपर्ने, त्यतिमात्र नभएर भनिएकै साइजमा प्रिन्ट निकाल्नुपर्ने । कम्प्यूटरको गहिरो ज्ञान नभएका जुनसुकै देशमा बसेका नेपालीहरूलाई यो एउटा टाउको दुखाई बनेको छ यतिखेर । उनको पासपोर्टमा लेखिएका केही कुराहरू हेर्दै जाँदा मेरो गान्धी डिभिजनको अंग्रेजीले पनि गल्तीहरु फेला पार्यो । अगाडि नाम, ठाम, काम, दाम र मामको कुरा निकालेको थिएँ नि गाँठी कुरो त्यही नै हो । जापान आएकोमा मलाई पश्चाताप लागि रहेछ भन्या । मेरो गान्धी डिभिजनको अंग्रेजीले त परराष्ट्र मन्त्रालय या त अध्यागमन विभागमा नै जागिर खान सक्ने रहेछ नि झैं लाग्यो । अध्यागमन विभागमा काम गर्ने कर्मचारीको अंग्रेजीलाई मेरो झम्केपानी अंग्रेजीले च्यालेन्ज दियो भन्या । नेपालको त्यत्रो ठूलो सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको गल्ती पत्ता लगाउन सकेकोमा मेरो झम्केपानी अंग्रेजीप्रति मलाई गर्व लागेको छ । नाम र ठाम अनुसारको काम हुनुपर्ने हो त्यो भएन । त्यसो त यस्तो गर्नेलाई दाम पनि त्यही अनुसारको हुनुपर्ने हो तर उनीहरुले नै सरकारको तर्फबाट तलवबापत बढी दाम पाउँछन् । अनि बढी दाम पाए पछि त माम पनि त्यही अनुसारकै पाउने भए नि होइन र ?
तलको फोटो हेर्नुहोला । यसमा रातो घेरा लगाईएको नेपालको सरकारी कर्मचारी महाशयले लेख्नुभएको अंग्रेजी अनि उता पट्टि रातो अक्षरले लेखिएको सच्याईएको शुद्ध अंग्रेजी । रेष्टुरेन्टको स्पेलिङ शुद्ध लेख्न नसक्ने, स्किल लेवरमा स्किलको स्पेलिङ्ग शुद्ध लेख्न नसक्ने तिमी कस्तो कर्मचारी हौं ? लौ जा मैले त तिमी नै भनिदिएँ । म भन्दा कमजोर मान्छेलाई किन मैले तपाई भनिरहने ? यस्तो कमजोर मान्छेलाई मेरै रेमिट्यान्सले तलव खुवाउनुपर्ने मैले नै किन तपाइ हजुर भन्ने ? सायद लेख्न नआएर नै होला रेष्टुरेन्ट लेख्दा लटरपटर पारेर लेखेको छ तर स्किल लेवर लेख्दा Scele Labour लेखेका छौ । Scele नभइकन Skill होइन र ? पूरा लेख्नुपर्दा Skilled Labour अर्थात Skilled Labor हुन्छजस्तो लाग्छ । Scele भन्ने डिक्सनेरीले पनि नदेखाएको शब्दको अर्थ मलाई बताई दिन सक्छौ ? सक्छौ भने के अर्थ हुन्छ बताईदेऊ होइन भने तिम्रो काम अनुसार तिमीलाई त्यो ठाम, दाम र नाम केही पनि सुहाएन । कि जागिर खाने बेलामा छिमेकी राष्ट्रबाट खरीद गरिएको हो तपाईको शैक्षिक हतियार ? होइन भने २/३ कक्षामा पढ्ने केटाकेटीले पनि शुद्द लेख्न सक्ने अंग्रेजीको स्पेलिङ तिमी किन लेख्न सक्दैनौ ? फुर्सदको बेलामा कसलाई ठग्न पाउँला भनेर नसोचिकन अंग्रेजी पढ्ने बानी गर्नु । अंग्रेजी नजान्ने दाजुभाइहरूलाई त के थाहा आफ्नो पासपोर्टमा के लेखिदिएको छ भनेर तर उसले काम गर्न जान लागेको देशको एयरपोर्टमा के काम गर्छ ? भनेर सोधे भने के भन्ने ? Scele labour भन्ने कुन खाले भिषाको प्रकार हो ? नेपालीको ठाउँमा त्यस्तो लेखाई विदेशीको पासपोर्ट अर्थात उनीहरूलाई दिइने कागजपत्रमा लेखियो भने के हुन्छ ? कति घटिया र असक्षम कर्मचारी हुन्छन नेपालको अध्यागमन विभागमा अर्थात सरकारी कार्यालयमा भन्ने सीधै थाहा पाउँछन । हेर नेपालको वेईजत । जापान आउनु भन्दा अगाडि मेरो पासपोर्ट बनाउन जाँदा विदेशमा आपतकालिन अवस्था परेको खन्डमा सम्पर्क व्यक्तिको नाममा मेरो श्रीमतीको नाम स्पेलिङ विगारिदिए सुब्बा साहेवले । यो अशुद्द भएछ, विगारी दिनुभएछ भन्दा उहाँले त्यो हामीलाई मतलव हुँदैन भन्नुभयो । उहाँले नै कागजपत्र बनाउने अनि उहाँलाई नै मतलव नहुने कस्तो परिपाटी हो यो ? तिमी कर्मचारीहरूलाई त त्यहाँ बसेर सीधासाधालाई लुट्न पाए भयो के मतलव हुन्थ्यो र । विचरा सिधासाधाहरूले विदेशी भूमिमा यस्तो लेखिएको कागजपत्र देखाएर के भन्ने ? गर्ने भए नाम र ठाम अनुसारको काम गर्नु होइन भने हामीले कमाएर पठाएको रेमिट्यान्सले तिमीलाई पोल्नेछ । धिक्कार छ तिमीजस्ता कर्मचारीलाई । ***