काठमाडौं- वीर अस्पतालमा अनियमित तरिकाले कर्मचारी भर्ना गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. दामोदर पोखरेल र अस्पतालका निर्देशक डा. बुलन्द थापा तीन सातादेखि कार्यालय आएका छैनन्।
अख्तियारले कर्मचारी भर्ना, लेखापरीक्षण, अस्पताल सेवालगायत विषयमा दर्जन प्रश्न राखेर साउन १ मा जवाफ मागेको थियो। त्यसयता न्याम्सका उपकुलपति पोखरेल र अस्पतालका निर्देशक डा. थापा कार्यालयमा जानकारी नै नदिई बेखबर छन्। अस्पताल प्रशासनका अनुसार न्याम्स र कर्मचारीले पटकपटकका फोन उनीहरु उठाउँदैनन्। उपकुलपति र निर्देशक कार्यालय नआउँदा प्रशासन ठप्प छ भने कर्मचारी अकमक्क छन्।
प्रमुख बेखबर बनेपछि साउन १२ गते परेको वीर अस्पतालको १२४ औं वार्षिकोत्सवमा समेत कुनै कार्यक्रम हुन पाएन। विगतका वर्षमा प्रधानमन्त्री ल्याएर वार्षिकोत्सव मनाइन्थ्यो।
न्याम्सका रजिस्ट्रार डा. मुकुन्द पन्थीले उपकुलपति र निर्देशक दुवैले औपचारिक रुपमा बिदाको जानकारी नदिएको बताए। ‘उपकुलपतिले बिदा स्वीकृत मन्त्रालयबाट गराउने हो, निर्देशकले उपकुलपतिबाट तर दुवैले औपचारिक रुपमा लिखित बिदा स्वीकृत गराएको मलाई थाहा छैन,’ उनले भने, ‘उपकुलपतिले लिखित रुपमा जानकारी नदिए पनि फोनबाट भने मलाई आउदिनँ भन्नुभएको छ।’
उपकुलपति र निर्देशक दुवै लामो समय बेखबर बनेपछि नयाँ आर्थिक वर्षको कार्यक्रम बनाउन, तलब खुवाउन, अस्पतालका लागि आवश्यक सामग्री खरिद गर्न तथा अन्य महत्त्वपूर्ण काम गर्न समस्या परिरहेको रजिस्ट्रार पन्थीले बताए। उनले बिनाजानकारी लामो समय उपकुलपति र निर्देशक बिदामा बस्नुको कारण आफूलाई थाहा नभएको बताए।
न्याम्स नियमअनुसार उपकुलपति बिदामा बस्नुपरे स्वास्थ्य मन्त्रालयबाट बिदा स्वीकृत गराउनुपर्छ। पोखरेलले बिदाबारे स्वास्थ्य मन्त्रालयमा समेत जानकारी दिएका छैनन्। न्याम्स प्रशासनका अनुसार अख्तियारले पठाएको पत्रका विषयमा आवश्यक कारबाही गर्नू भनेर साउन ४ मा रजिस्ट्रारलाई तोक लगाएर निस्केका उपकुलपति पोखरेल अझै कार्यालय आएका छैनन्। तर स्रोतका अनुसार उपकुलपति पोखरेलले १४ साउनसम्मको हाजिर आफ्नै निवासमा हाजिरकापी मगाएर गरेका छन्। यो विषयमा जिज्ञासा राख्न नागरिकले पटकपटक गरेको फोन पनि पोखरेलले उठाएनन्।
निर्देशक थापाले बिदा बस्नुपरे न्याम्स उपकुलपतिबाट स्वीकृत गराउनुपर्छ। तर उनी पनि कुनै जानकारी नदिई साउन ३ देखि बेखबर छन्। अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार थापाले तीन सातादेखि फोन उठाएका छैनन्।
कर्मचारीको फोन नउठाएका निर्देशक थापाले नागरिकको फोन भने उठाए। उनले आफूले अस्पतालमा निमित्त निर्देशकको जिम्मेवारी अस्पतालका यौवनचन्द्र सिवाकोटीलाई दिएर गएको बताए। ‘मैले निमित्तको जिम्मेवारी तोकेको छु,’ उनले भने, ‘निमित्तको जिम्मेवारी दिनु भनेको नै म अनुपस्थित हुन्छु भन्ने हो।’ उनले अख्तियारको पत्र आउनुभन्दा पहिले नै आफू अस्पतालबाट बिदामा हिँडिसकेकाले पत्रका विषयमा विस्तृत जानकारी नभएको बताए। तर प्रशासनका अनुसार उनले सिवाकोटीलाई मौखिक रुपमा निमित्तको जानकारी दिएको र आफू बिदामा बस्ने भन्ने कुनै जानकारी नगराएको बताए।
अख्तियारले साउन १ मा न्याम्सलाई पठाएको पत्रमा अनियमित तरिकाले भर्ना गरिएका कर्मचारीको विवरण उपलब्ध गराउन, ज्यालादारी मेडिकल अधिकृत आठौं तहमा नियुक्त गरेकाले मर्यादा, पूर्ण समय र महिनौं वर्षौं पनि ज्यालादारी भनेर कर्मचारी के आधारमा राखिएको, करार, ज्यालादारी, इन्सेन्टिभ, भोलुन्टेयरमा नियुक्त भएकालाई कुन शीर्षकबाट तलबभत्ता तथा अन्य सुविधा दिइएको छ, अस्पतालमा दरबन्दी नभएको ठाउँमा समेत करार, ज्यालादारीमा भर्ना गर्ने काम भएकाले नियम ४१ बमोजिम कारबाही किन नगर्ने लगायत जिज्ञासा राखिएको छ।
अख्तियारले यसअघि पनि अस्पतालका निर्देशक डा. थापाले पदीय दायित्व विपरीत काम गरेको भन्दै उपकुलपति डा. पोखरेललाई कारबाही गर्न भनेको थियो। यसका साथै राष्ट्रिय सतर्कता केन्द्रले अस्पतालमा अनियमित तवरले राखेका ९१ कर्मचारीलाई दिएको तलबवापतको एक करोड ८० लाख रुपैयाँ निर्देशकमार्फत उठाउन निर्देशन दिएको थियो। निर्देशक थापाले नियमविपरीत ९१ जना कर्मचारी राखी अस्पताललाई एक करोडभन्दा बढी घाटा पुर्याएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो। सतर्कताले दिएको निर्देशनअनुसार डा. थापाले नियमविपरीत राखिएका ९१ कर्मचारीलाई वीर अस्पतालबाट निकालेका थिए। तर त्यसबापतको रकम उठाउन कर्मचारी युनियनले पटकपटक दबाब दिइरहेको छ।
उपकुलपति पोखरेलले राजनीतिक दबाबका कारण निर्देशकलाई कारबाही गर्न नसकेको भन्दै लामो समयदेखि टार्दै आएका थिए। तर उपकुलपति पोखरेलले लामो समय पनि निर्देशक थापालाई कारबाही गर्न नसकेपछि अख्तियारले स्वास्थ्य मन्त्रालयमा पत्र पठाएर निर्देशकलाई कारबाही गर्न भनेको थियो। मन्त्रालयले अख्तियार निर्देशनअनुसार नै निर्देशक थापाको तह घटुवाको कारबाही गरेको थियो। सतर्कताले उठाउन भनेको रकम भने अझै उठाउन सकेको छैन।
उपकुलपति थापाले यसअघि पनि निर्देशकलाई कारबाही गर्न कुनै चासो नदिएको र हाल आएको पत्रमा पनि निर्देशक थापा पुनः कारबाहीमा पर्ने र आफू पनि फस्ने सम्भावना देखिएपछि अस्पताल नै आउन छाडेको न्याम्स कर्मचारी युनियनका सहसचिव नवराज धितालले दाबी गरे। उनका अनुसार पदाधिकारी भएका नाताले न्याम्स र अस्पतालमा गरेका कर्तुत सबैका सामु छर्लंग हुने र अस्पताल कर्मचारीले अख्तियारको पत्रबारे बारम्बार प्रश्न गर्ने भएपछि उपकुलपति बेखबर बनेका हुन्। ‘यी सबै काममा उपकुलपतिको पनि हात हुन सक्ने भएकाले उनी भागिरहेका छन्,’ उनले भने, ‘अब हामी उनीविरुद्ध पनि मुद्दा हाल्ने तयारीमा छौं।’
अस्पतालमा अनियमित तवरले कर्मचारी भर्ना गरिएको भन्दै न्याम्स कर्मचारीले पुस १८ मा अख्तियार आयोगमा उजुरी हालेका थिए। पटकपटक अनियमितत र भ्रष्टाचार गरेर वीर अस्पताललाई धराशायी बनाएको आरोपमा अस्पताल कमर्चारीले तत्काल छानबिन गरेर कारबाहीको मागसहित अख्तियारमा उजुरी दिएका थिए। अख्तियारले सोही उजुरीका आधारमा छानबिन गरिरहेको छ। अस्पतालमा अहिले पनि नियमविपरीत ३० जना कर्मचारी दैनिक ज्यालादारी, मासिक ज्यालादारी नियुक्ति गरी कामकाज गरिरहेको कर्मचारी बताउँछन्।