उ यादले सताइएको हो या
पीडाले भुटभुटिएको हो,
कहिले लाग्छ,
कता-कता शब्दांश छुटेर
पूर्णविराम लागे जस्तो,
कहिले लाग्छ,
बेहोशीपनहरुले घर्लप्पै छोपेर
अर्धचेतनामा बर्बराए जस्तो,
लाग्छ “म” सामिप्यमा छु उसको
चिरपरिचित छु उसको पीडाहरु सँग,
अनुप्राणित हो जस्तो आभाष हुन्छ मलाई
उसका धड्कनहरु सुन्दा,
तैपनि, प्रलयपूर्वको हतास अनि
उदासिनता देख्छु म उसमाथि,
अनि लाग्छ चेतनाशुन्य भएर पनि
व्याकुलता उसमा निहित छ,
अचानक,
उ लर्खराउँदै जुरुक्क उठ्यो
अनि बरबराउन थाल्यो
“आओ यादहरु हो आओ
…..म निदाएको छैन”….
उफ ! म चकित भएँ
मेरा अनुमानहरु तासका घर सावित भए,
उदासिनताको बादल हटाउँदै
सुगन्धसहितको
एउटा “शंकालाग्दो सत्य” ओकल्यो उसले,
“म निदाएको छैन, म बर्बराएको छैन
र म लडखडाएको छैन अझै
—किनकि म मातृभूमि हुँ,
केवल तिम्रो सोच
निकृष्टताले भरिपूर्ण छ अनि
“शंकालाग्दो असत्य” ले पुरिएको छ”
ओहो ! म छक्क परें,
मेरो अभिमानमा हुरी चल्यो,
अनायासै गरुडको छायाँ पर्यो
तैपनि उ रोकिएन र म तिर फर्केर भन्यो,
“कोस्ठबद्ध गर तिम्रा ति संकुचित भावनाहरु
जुन तिमी अप्ठ्यारोमा पर्दा
म तिर फ्याँकिन्छन,
अनि नियमबद्ध गर तिम्रा ति हुङ्कारहरु,
जुन एउटा क्षुद्र-ग्रहको रुपमा
मेरा वरिपरी घुमिरहन्छन,
गिद्ध दृष्टि पर्खाइमा !!
ति कर्कश लाग्ने बोली लिएर
कृपादृष्टि नदेखाउ कदापि म माथि,
थाहा छ मलाई,
उपयुक्त समयमा व्यभिचार गर्ने नै छौ भन्ने,
बुझिराख हे मुर्ख ! मर्ने बेलामा, मेरै काख चाहिन्छ,
मेरै काखमा तिम्रो समाधि हुनेछ——-!!
अनि गर्जेर ठूलो स्वरले भन्यो
—ऊ पछाडि फर्केर हेर तिम्रो “सट्टा” तैयार छ !!
म अवाक् भएँ,
मेरो अभिमान निमेषभरमै स्खलित भयो
अनि बिस्तारै सुस्ताएँ,
मेरो देशको सँधै जय होस्,
मेरो देश अजर-अमर होस्
अनि त्यहि देशमा मर्न पाउँ !!
————समाप्त————
तपाईको प्रतिक्रिया