एकाध महिना अगाडि नेपालका राष्ट्रपति डा. रामवरण यादव स्वास्थ्य जचाँउन हतारमा जापान आए, आफुहरुसंग परामर्श नै नगरी आएकोले नेपालको चिकित्सा क्षेत्रले आफुहरुको बिश्वसनीयता शंकाको घेरामा परेको भन्दै राष्ट्रपतिको कदमको बिरोध भयो । उनको जापान उपचार भ्रमण बिबादमा तानियो । राष्ट्रपति जापान उपचार गर्न आउनु ठूलो बिषय नभए पनि किन तानिए त बिबादमा, यसमा मुख्य दोष सल्लाहकारहरुकै मान्न सकिन्छ । बिचरा राष्ट्रपति स्वयमको के दोष ? यति सामान्य कुराको पनि हेक्का राख्न नसक्ने राष्ट्रपतिका सल्लाहकार कस्ता सल्लाहकार होलान् ? सर्बसाधारणलाई अचम्म लाग्नु नौलो होईन ।
राष्ट्रपति जापान आए स्वास्थ्य जचाँए, भएको केहि रहेनछ, ठिकै भयो । स्वस्थ्यमा कुनै समस्या नभएको प्रमाणित गराएर फर्के । फ़र्कने बेलामा अत्यन्त कम समयको बाबजुद पनि जापानको नेपाली कम्युनिटीले आयोजना गरेको कार्यक्रममा उपस्थित भए आफ्नो स्वास्थ्यको चिन्ता नगर्न भन्दै अन्य बिषयमा पनि केहि कुरा बोले तर राष्ट्राध्यक्षको हैसियत बिर्सेर बोले । नेपाली काँग्रेस पार्टीको निकै गुनगान गाए, आफुलाई राष्ट्रपति बनाउने काँग्रेसका केहि नेताहरुको नामै लिएर खुलेर प्रशंसा गरे । यतिबेला राम्रो भूमिका निर्बाह गर्न नसकेको भन्दै दलहरुलाई गाली गरे । राष्ट्रपतिले बोल्ने बिषयको बारेमा किन सल्लाह दिईएन होला ? बिदेशमा रहेको नेपाली कम्युनिटीले आफ्नो राष्ट्राध्यक्षबाट के अपेक्षा गरेको हुन्छ, त्यस्तो जमघटमा के बोल्दा ठिक हुन्छ के बोल्दा बेठिक हुन्छ त्यत्ति पनि खुट्याउन नसक्ने कस्ता सल्लाहकार होलान् राष्ट्रपति महोदयका ? सर्ब साधारणका लागि यो अर्को अचम्मलाग्दो बिषय बन्न पुग्यो ।
अलि अगाडिको नेपालको राजनीतितिर फर्केर हेर्ने हो भने ठूला पार्टीका ठूलै नेता भनिने प्रचण्डले समय, काल, परिस्थिति र आफ्नो प्रशासकीय अनुभव र हैसियत विचारै नगरी एकैचाटी तत्कालिन प्रधानसेनापती रुक्माङगद कटुवालसंग सिंगौरी खेल्दा सत्ताबाट बाहिरिनु पर्यो । १० बर्ष जनयुद्ध गरेको पार्टीका नेता पहिलोचोटी देशको सबैभन्दा उच्च कार्यकारी जिम्मेवारीमा पुगेको बेला आम जनताले गरेको अपेक्षालाई तिलाञ्जली दिदैं छोटो समयमै सत्ताबाट ओर्लिनुपर्यो । उक्त घटनालाई सो पार्टीले जे जसरी ब्याख्या गरेर चित्त बुझाए पनि सो कदम सहि समयमा भएको उपयुक्त कदम मान्न सकिदैन । प्रचण्ड-कटुवालबिचको जुंगाको लडाईमा राष्ट्रपतिको आड पाएका कटुवाल पटक्कै तसमस नहुँदा प्रचण्डले नैतिकताको आधारमा राजीनामा दिनुपर्यो । उक्त घटना प्रचण्डका लागि जीवनभरि पश्चाताप गर्नलायक हुनेछ । यस प्रकरणमा पनि प्रचण्डलाई सत्ताबाट हट्नुपर्ने खालको उल्टो कदम चाल्न सल्लाह दिने तत्कालिन सल्लाहकारहरु कस्ता होलान् ?
यसैगरी एमाओबादीकै अर्का प्रभावशाली नेता डा. बाबुराम भट्टराईले हालै पार्टीभित्रको रडाको थामथुम पार्नु त कता हो कता आफै राजीनामा दिएर पार्टीलाई असजिलो परिस्थितिमा धकेलिदिए । पार्टी ढिक्का भएर निर्बाचनमा होमिएर लाग्ने बेला पार्टीभित्रको पद बाँडफाँडको रडाकोको बिरुद्धमा एकाएक आएको डा. भट्टराईको राजीनामा प्रकरणले पार्टीको ठूलो शक्ति लगाउनुपर्ने स्थिति सिर्जना गराउने काम बाबुरामको आफ्नो एकल निर्णयले मात्र पक्कै भएनहोला, डाक्टरसा’पलाई त्यो बेमौसमी र एकलकाँटे सल्लाह दिने सल्लाहकार पनि कस्ता सल्लाहकार होलान् ?
अब लागौ जापानको नेपाली कम्युनिटीतर्फ ! अघिल्लो महिना जापान काँग्रेसको बहुप्रचारित महाधिवेशनका लागि चार चार जना केन्द्रिय नेताहरु सपत्नीसहित जापान बोलार्इयो । तर समारोहमा पस्कने मुख्य परिकार अर्थात नयाँ नेतृत्वको मुख्य बिबाद भने ज्यूँ-कात्यूँ राखेर तमासा देखाईयो । हलको उत्तेजित भिडले नेतृत्व चयनमा धावा बोल्यो, नेताहरुले पनि बिबाद मिलाउन सकेनन् जसरी आए त्यसरी नै फर्के, चार चार जना काँग्रेसका केन्द्रिय नेताहरु । यो भन्दा शर्मनाक पराजय के हुन सक्छ संगठनको नेतृत्व गर्ने मान्छे हौं भनेर परिचय दिने महाशयहरुका लागि ? सयौंको संख्यामा भेला भएका जापानभरिबाट आएका नेपालीहरु पनि निराश हुँदै लुरुलुरु आ-आफ्नो गन्तब्यतर्फ फर्के । उनीहरुले न त नेताहरुको भाषण सुन्न पाए न त महाधिवेशन सम्पन्न भयो । भनिन्छ, यस्तो स्थिति आउन सक्ने संभावना करिव सबैलाई थाहा थियो यदि त्यसो हो भने पूर्व तैयारी र गृहकार्यमा गम्भीर हुन किन सकिएन । यसमा पनि सल्लाहकारहरुले उचित सल्लाह दिन नसकेकै हो, सल्लाह नपुगेकै हो भनेर भन्न हिचकिचाउनु पर्ने केहि छैन ।
अचेल हरेक सँघसंस्थामा कार्यकारी समितिभन्दा लामो सूची भएको सल्लाहकार समिति बनाउने चलन ब्यापक बन्दै गएको छ । भाग पुर्याउनलाई यसो गर्दा अर्थात नाम मात्रको सल्लाहकारको बिल्ला भिराउँदा सल्लाहकार भन्ने शब्दकै अपमान हुन गएको धेरैलाई हेक्का छैन । आफ्नो संस्था वा समितिको बारेमा खासै जानकारी छैन, अपडेट, अनुभव, अध्ययन र रुची पनि छैन भने त्यस्तो मान्छेले सल्लाहकारको भूमिका निर्बाह गर्न सक्तैनन् । आवश्यक परेको बेला, संकटको बेला, बिबाद उत्पन्न भएको बेला र महत्वपूर्ण बिषयमा निर्णय लिन नसकेको बेला सल्लाहकारको भूमिका अत्यन्त महत्वपूर्ण एवं निर्णयक हुन्छ र हुनुपर्दछ । तर आफै एउटा पक्षको बुई चढेर संगै हाम्फाल्न पनि तयार, मर्न पनि तयार, बहिष्कार गर्न पनि तयार र जता भन्यो त्यतै फ़र्कन तयार हुनुलाई कस्तो सल्लाहकार मान्ने ? यो एउटा बहसको बिषय हुनसक्ला ।
ठिक यस्तै घटना पोखियो जापानको नेपाली मैदानमा अघिल्लो महिना । एनआरएन जापानले आफ्ना कार्यक्रम, नीति, योजना, भावी कार्यदिशाका बारेमा त्यति धेरै बोल्दैन, बोल्न आवश्यक ठान्दैन या जान्दैन उनै जानून । अधिवेशन भनेको खाली चुनाव गरेर नयाँ नेता छान्ने पर्व हो भनेझैं गरी सिधै चुनावी माहौल तताउने गरी तामझामका साथ निर्बाचन कमिटी गठन गर्ने, निर्बाचन कार्यक्रम तालिका सार्बजनिक गर्ने, मतदाताको नामावली दर्ता गर्ने, प्रकाशन गर्ने, उम्मेदवारको नामावली दर्ता गर्ने, घोषणा गर्ने, मतदान गर्ने जस्ता नेपालको निर्वाचन आयोगलेझैं चुनावी कार्यक्रमलाई मात्र एकोहोरो महत्व दिएर मिडियाबाजी गर्दा यसले उत्पन्न गर्ने स्थिति भनेको चुनावमा सकेसम्म धेरैलाई भिड्ने र भिडाउने वातावरणको सिर्जना गर्नु र त्यसका लागि उम्मेदवार, तिनका समर्थक र मतदाताहरुलाई तयारी अवस्थामा रहन प्रोत्साहित गर्नु नै हो । कान्तो क्षेत्रको अधिवेशनमा भएको पनि त्यहि नै हो । नयाँ नेतृत्वका लागि आ-आफ्नो हिसाबले तैयारी अवस्थामा आएका उम्मेदवारहरुले एकले अर्कालाई उछिन्न सबैखाले उपायहरु अवलम्बन गर्ने नै भए । बेला छउञ्जेलसम्म कसैको ध्यान गएन अन्तिम समयमा आएर सहमतिको प्रयासबाट निकालिएको भन्दै पारित नामावली सूची घोषणा गर्ने काम निर्बाचन कमिटीबाट गराई औपचारिकता निर्बाह गर्ने काम भयो । त्यसमा सहमति थिएन भने तत्काल असहमति रहेको भन्दै प्रक्रिया स्थगित गर्न सकिन्थ्यो । तर आईसीसीका प्रवक्ता, आईसीसीका सदस्यहरु सिंगो एनआएन जापान कार्यसमिति, आयोजक कान्तो समितिको रोहबारमा निर्बाचन कमिटीले घोषणा गरेको कान्तो कमिटी बिधिवत भएन भनेर आईसीसीका सदस्य, सल्लाहकार रहेकाहरुसमेत गरी १२ जनाले सामुहिक राजीनामा चढाए । जापानको त्यो राजीनामा प्रकरणले बिश्वभरिका एनआरएनहरुमाझ कस्तो सन्देश प्रवाह गर्योहोला ? सल्लाहकार महोदयहरुलाई त्यसैमा आत्मशान्ति मिलेको भए के जान्नु नत्र एउटा शाखा कमिटीको नेतृत्व चयनमा चित्त नबुझेको जस्तो सामान्य विवादमा पनि आईसीसीका सदस्य, एनसीसीका सल्लाहकार जस्ता उपल्लो तहका ब्यक्तिले पनि पदीय मर्यादाको ख्यालै नगरी राजीनामा दिनुको पछाडि पनि उनीहरुका अघोषित सल्लाहकारहरुकै भूमिकाले काम नगरेको भनेर किन नबुझ्ने ?
यसरी सल्लाहकारहरुको भूमिका सशक्त नहुँदा धेरै महत्वपूर्ण कार्यसम्पादनमा समस्या आउने गरेको र सल्लाहकार भन्ने पदीय मर्यादाको अपमान हुने गरेको उदाहरणहरु खोज्दै जाने हो भने हाम्रा वरिपरि प्रशस्त भेटिन्छन् ।***
साभार- नेपाली समाचार