त्यस्तो कुरा हुँदैन सरगम, यौन मान्छेको शरीरसँगसँगै मन र भावनामा जोडिएर हुने चीज हो, एक अर्काको प्रेम अनुभूतिभित्र रहेर हुने सहवासमा पुरुषको शुक्राणु र स्त्रीको डिम्बाणुकोमात्र मिलन भएको हुँदैन, मनभित्रका ती हजार तन्तु र ग्रन्थहरु पनि एक भएका हुन्छन्, जसले मान्छेलाई भावनाभित्र बाँधेर एक अर्काको सहयात्री बनिरहन प्रेरित गरिरहेको हुन्छ ।
हुन सक्छ तिम्रा कुरा पनि सत्य हो तर चाहना सँगै बढिरहेको स्वार्थ र शोषण बिर्सन सक्ने कुरा पनि त होइन । यहाँको परम्परागत जीवनशैली तिम्रो विचार भन्दा निकै फरक कुरा हो । हाम्रो समाजमा स्त्री जातिमाथि हुने गरेको यौन शोषण निकै भयावह छ, लाज सरगम इज्जत जस्ता कुराहरु आईमाईले ने सम्हाल्नुपर्ने बाध्यता छ । एउटा स्त्रीले बिहे नगरी गर्भ बोकी भने त्यहाँ त्यही स्त्रीको बेइज्जत हुन्छ । त्यसलाई गर्भ बोकाउने पुरुषको कुनै खोज हुँदैन । त्यो त गलत हो, तर यसरी भाग्नु पनि त राम्रो होइन । हो, मैले यो संघर्ष त्यही ठाउम बसेर गर्नुपर्दथ्यो ।
मोक्षको पागलपनले मलाई त्यहाँबाट भगायो । म पनि त्यही समाजले हुर्काएकी छोरी न परेँ मोक्षको प्रेमले मलाय बहकाइरहेको थियो । उसको पीडामा मेरो मन पनि दुख्थ्यो । उसले आँसु बगाउँदा मेरो पनि आँखा रसाउँथ्यो । म बहकिन चाहन्नथेँ । प्रियाको बलिदान मैले बिर्सन सक्ने घटना होइन, प्रिया रुबी जस्ता युवतीको पीडा पनि त सामान्य कुरा होइन । मैले बन्दुक समाउँदा नै यो कुण्ठित समाजविरुद्ध मैले अन्तिम समयसम्म लड्ने प्रण लएकी थिएँ । हतियारको राजनीति छोड्दैमा मेरो मनभित्र चलेको विसंगतिविरुद्धको आन्दोलन अन्त्य भैहाल्ने कुरा पनि त होइन । हेर्नु छ आखिर कहिलेसम्म परम्परागत समाजभित्रका नीति र नियमले स्त्री जातिलाईमात्रै कैदी बनाउँछ रु
भ्रष्ट, पतीता, चरित्रहीन भएर म हर समय ती कुण्ठाहरुलाई बिउँझाइरह चाहन्छु । मान्छेले मलाई देखेपछि यो कुमारी आमा हो भनेर सधै नाक खुम्च्याउँदै सम्झिरहुन् मलाई कुनै आपत्ति छैन । मेरो स्वतन्त्रताविरुद्धको कानुनले मेरो चाहनालाई जति बाँध्न खोज्छ, उति उद्दण्ड हुनेछु । रिचर्ड, तिमीलाई अचम्म लाग्ला मेरो कुरा सुनेर तिमीले पनि मलाई पागल सम्झन सक्नेछौ ।
विश्वमा नारी जातिहरु निकै शोषित छन्, त्यसमाथि पनि अविकसित राष्ट्रहरुमा त्यहाँको समाजिक आर्थिक र राजनीतिक रुढीले स्त्री जातिलाई जिउँदै मारेको छ । यो शताब्दीमा पनि दाइजो नल्याएको, छोरा नपाएको, तल्लो जाति भएको, निहुँमा जिउँदै जलिरहेको छ महिला भूगोल ।