डा. बाबुराम भट्टराईले पार्टी उपाध्यक्ष पदबाट दिएको राजीनामाले सिंगो मुलुकलाई तरंगित बनाइदिएको छ । मुलुकमा आमनिर्वाचनको मिति घोषणा भैसकेको छ र एकढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बेलामा एकीकृत माओवादीभित्र पदविभाजनमा समस्या उत्पन्न भएको छ । त्यही विषम परिस्थितिको यो बेलामा आएको भट्टराईको पदत्यागको घोषणालाई पार्टी संगठनले मात्र होइन सिंगो समाजले अप्रत्याशित र असामयिक जस्तो अनुभूत गर्नु अस्वाभाविक पनि होइन । आर्यघाटमा नपुग्दासम्म राजकीय पद नछोड्ने नेपाली राजनीतिको स्थापित परम्परा विपरित भट्टराईले पदत्यागको स्वेच्छिक घोषणा गर्नु मुलुकका लागि आठौं आश्चर्य ठहरिएको छ । यतिबेला उनको पदत्यागको चर्चा परिचर्चाले छापाहरु रंगिएका छन् । शान्त पोखरीमा ढुंगा फ्याँकिए झैं गरी समाजमा तरङ्गहरु फैलिएका छन् । ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि’ भने झैं उनको कदमको स्वागत पनि भएको छ, आलोचना पनि भएको छ । यद्यपि कुनै पदमा रहने वा नरहने भन्ने कुरा नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो तापनि भट्टराईको आकस्मिक निर्णयप्रति सकारात्मक र नकारात्मक प्रतिक्रियाहरु समानरुपमा सार्वजनिक भैरहेका छन् ।
कुनै विशेष परिस्थितिमा बाहेक राजनीतिमा लाग्ने कुनै पनि मानिसले सजिलैसंग पदत्याग गर्न रुचाउँदैन । आयु-सीमा तोकेर राजनीतिबाट अवकाश लिने परम्परा त विश्वमा कहीँ पनि छैन । वैधानिक वाध्यता र सामाजिक अलोकप्रियता बाहेक अरु कुराले राजनीतिज्ञहरुलाई अवकाशको जीन्दगीतिर प्रेरित गरेको उदाहरण भेटिदैन । लामो समय लोकतान्त्रिक अभ्यासमा रहेका कैयौ मुलुकहरुमा देशको सर्बोच्च पदका निमित्त अधिकतम समयावधि तोकेको पाइन्छ । पार्टीको असफलताको नैतिक जिम्मेवारी लिएर पार्टी प्रमुखको पदबाट राजनीनामा गर्ने परम्परा बसालिएको पनि देखिन्छ । तर नेपालको सन्दर्भमा त्यस्तो व्यवस्था अभ्यासमा छैन । त्यसैले पनि नेपाली राजनीतिज्ञहरुलाई आर्यघाट नपुग्दासम्म पदमा टाँसिइरहनबाट अरु कुनै कुराले छेक्न रोक्न सक्तैन । नैतिकता नेपाली राजनीतिको अभ्यास बनिसकेकेा छैन । डा. भट्टराईले भने आफू बुढो भैसकेको, लामो समय पार्टीको यौटै पदमा रहिसकेको र नयां पुस्तामा पार्टी नेतृत्व हस्तान्तरणको परम्परा बसाल्ने आवश्यकताको उपयुक्त समय उपस्थित भैसकेको भनेर अकस्मात पदत्यागको घोषणा गर्न पुगेका हुन् ।
वैधानिक वा नैतिक आधारमा भट्टराईले पदत्याग गर्नुपर्ने अवस्था पटक्कै थिएन । पार्टीभित्रको आन्तरिक परिस्थिति जे जस्तो रहेका भए पनि तमाम नेपालीहरुले भट्टराईले पद छोड्नुपर्छ वा अब उनी टेस्टेड भैसकेका हुनाले अर्को नयाँ व्यक्ति वा पुस्तालाई पार्टी हस्तान्तरण गर्नु उपयुक्त हुन्छ भन्ने मान्यता बनाएको थिएन । भविष्यका आगामी केही दशकसम्म नेपाली जनताले आशा राख्ने सीमित राजनेताहरुमध्येमा भट्टराईको स्थान अग्रपंक्तिमै थियो । उनको आवश्यकता र उपयोगिता समाप्त भैसकेको छ भन्ने मान्यता मुलुकले पटक्कै बनाएको थिएन । उनको विद्वता र क्षमताको उपयोग मुलुकको हितमा गर्न बाँकी छ भन्ने हिसाबकिताब समाजमा रहेको थियो । त्यसैले होला साँचो मनले भट्टराईले पार्टीको पद परित्याग गरेकै भए पनि सक्रिय राजनीतिबाट पलायन भएका होलान् भनेर विश्वास गर्न चाहेको छैन ।
अर्को जनमत नलिँदासम्मको नेपालको सवभन्दा ठूलो पार्टी एकीकृत माओवादी नै हो । त्यस अर्थमा नेपाली जनताले आशा अपेक्षा राखेको र भरोसा गर्ने पार्टी नेतृत्व पनि वर्तमान एकीकृत माओवादीको नै हो । होला, पार्टीभित्र अनेकौ क्षमतावान नेताहरुको दोश्रो पुस्ता तयार भएको हुन पनि सक्छ तर नेपाली मतदाताहरुले चिनेको र पत्याएको नेता भनेकै प्रचण्ड र बाबुराम हुन् । नयाँ नेपालको सपना देखाएर मुलुक रुपान्तरणको अभियानमा जनतालाई डोर्याउने मुखियाली त्यही जोडीको नै हो । जनताकाबीचमा आफैले बाँडेका सपनाहरुलाई यथार्थमा अनुवाद गर्नुपर्ने जिम्मेवारी नेतृत्वको त्यही युगल जोडी कै हो भन्ने मान्यता नेपाली समाजले राख्दछ भन्नु बढ्ता हुँदैन । त्यस अर्थमा नेपाली जनमतले मनबाटै प्रचण्ड-भट्टराईको जोडीलाई विदा गर्नुपर्ने अवस्था आइसकेको मान्यता राख्छ भनेर पत्याउन सकिदैन । कमसेकम आगामी एकदशक त्यो जोडी राजनीतिमा सक्रिय रहोस्, मुलुकलार्इ समृद्ध भविष्यतर्फ डोर्यावस् र कमसेकम मुलुक एकोहोरिएर गन्तव्यतर्फ लाग्नसक्ने परिस्थिति निर्माण नहुँदासम्म त्यो जोडीले नेतृत्वको सफल भूमिका निर्वाह गरोस् भन्ने अपेक्षाभाव सिंगो नेपालले राखेको छ । त्यसैले भट्टाराईले स्वेच्छिक अवकाश लिने कुरा आम नेपाली जनतालाई सजिलै पच्ने विषय होइन । र भट्टराईको राजनीतिकविराग पार्टी संगठनसम्म सीमित रहोस् भन्ने हार्दिक कामना पनि गरेको छ ।
सबैलाई समानरुपमा मनपर्ने कुनै बस्तु पनि हुन सक्तैन । हरेक मान्छेको रुचि र छनोट अलग अलग हुन्छ । त्यो कुरा मान्छेमा पनि लागु हुन्छ । स्वभावतः एकीकृत माओवादीभित्र भट्टराईको नेतृत्व सर्बसम्मत र सर्बमान्य थियो होला भनेर कल्पना गर्नु बस्तुसंगत ठहर्दैन । पार्टीभित्र उनका कडा आलोचकहरुको संख्या कम थिएन । उनले विगतमा प्रधानमन्त्रीको पद सम्हालेको नरुचाउनेहरु पनि पार्टीभित्र थिएनन् भन्न सकिन्न । तर यतिबेला सिंगो पार्टीपंक्तिले उनको कदमलाई अप्रत्यासित र असामयिक भन्ने गरेको देखिन्छ । कमसेकम जो हिजैदेखि भट्टराईसँग विमति राख्थे तिनले त भट्टराईले ठिक गरे भन्न सक्नुपर्थ्यो । त्यस्तो हिम्मत देखाउने हुति कसैमा देखिएन । निर्धक्क भन्न सकिने कुरा के हो भने भट्टराईको पदत्यागलाई ‘कुचोले गर्नुपर्ने काम हावाले गरिदिए’ को जस्तो हाइसन्चो मान्नेहरुको खाँचो पार्टीभित्र अवश्य थिएन । बाबुरामले पदत्याग गरेकोमा मनमनै हर्षबढाईं गर्ने र बाहिर भने आँसु चुहाउनेहरुको संख्या पार्टीभित्र ठुलै रहेको प्रमाण यो घटनाले सार्वजनिक गरिदिएको छ । अथवा सधै पदमा टाँस्सिइरहन रुचाउने, निश्चित उमेरहद लागुहुने परिस्थिति निर्माण भैहाल्यो भने आफ्नो अस्तित्व र जीविका समाप्त हुने भयग्रस्त मानसिकताका कारणले मात्र भट्टराईको घोषणाको विपक्षमा मत जाहेर भएको होइन होला भनेर पत्याउन सकिदैन ।
जहाँसम्म देश संक्रमणकालबाट गुज्रीरहेको, पार्टी विभाजनको पीडाबाट मुक्ति नपाइसकेको र निर्वाचनको घोषणा भैसकेको अवस्थामा उपाध्यक्षले राजनीनामा गर्नु उपयुक्त थिएन भनेर तर्क गर्नेहरुले पार्टीभित्र पदविभाजनमा सहमति जुट्न नसकेकैले महाधिवेशन सम्पन्न भएको ६/६ महिना बितिसक्दा पनि पार्टी संगठनले पूर्णाकार लिन नसकेको हो भन्ने कुरा बिर्सेको नहुनुपर्ने हो । सकारात्मक चेष्टाको लागि कहिल्यै पनि समय प्रतिकूल हुँदैन । त्यो त हिम्मतको कुरा हो । समयको माग र आवश्यकता पहिचान गरेर कदम उठाउने साहसको कुरा हो । यतिबेलाको भट्टराईको कदमलाई अप्रसांगिक ठहर्यानउेहरु वास्तवमा आफूहरुले कुनै रिस्क उठाउन नचाहनेहरुको नामर्द तर्क मात्रै हो । पार्टी कार्यकर्ताहरुमा विकसित भएको पदलोलुपताकै कारणले नेतृत्वलाई निर्णय लिन अप्ठेरो परेको थियो र त्यही गाँठो फुकाउने सिलसिलामा भट्टराईबाट उदाहरण प्रस्तुत गरिएको हो भन्ने कुरा बुझेर पनि बुझ पचाउनुको कुनै अर्थ हुन्छ जस्तो लाग्दैन ।
यमलोकको संघारमा पाइलो राखिसक्दा पनि पार्टी संगठनमा कब्जा जमाइरहेर नयाँ नेतृत्व विकासको ढोका बन्द गर्ने परम्परा तोड्नु नेपालको सन्दर्भमा एकदम जरुरी भैसकेको तीतो सत्य हो भन्ने कुरा अन्य पार्टीका युवा नेताहरुले भट्टराईको आकस्मिक निर्णयलाई सकारात्मक र उत्साहजनक उदाहरण मानेबाट स्पष्ट हुन्छ । जुनकुरा अरुहरुका लागि उदारण बन्नसक्छ, लाभदायक र उत्साजक ठहरिन सक्छ भने निश्चय नै आफ्नो पार्टी संगठनका लागि हानीकारक होला भनेर मान्न सकिदैन । बरु ढिलो चाँढो कसै न कसैले त्यस्तो उदाहरण प्रस्तुत गर्ने शुभकामको अगुवाई गर्नुपर्थ्येा, त्यो आफ्नै नेता भट्टराईबाट भयो भनेर खुसी किन नमनाउने ? भट्टराईको विद्वता र कार्यक्षमताबाट पार्टी वञ्चित हुनपर्ने सम्भावनालाई कसरी टार्ने भन्ने कुरातिर ध्यान केन्द्रित गर्नु राम्रो हुँदो होला । बरु पार्टीका सबै पदहरु परित्याग गरेर पनि राजनीतिमा सक्रिय रहने डा. साहेबको चाहना हो भने त्यसबाट माओकालपछिको चीनले ‘देङ सिआओ पिङ’ बाट लिएको जस्तो लाभबाट पार्टी र मुलुक वञ्चित नहुने व्यवस्था मिलाउनतिर पार्टीले ध्यान पुर्याउँदा हितकारी हुनेछ । सक्ने भट्टराईमार्गको अनुशरण गरे भो, नसक्नेहरुले ब्यर्थ आलोचनामा समय किन खर्चनु पर्यो र ? ***