भनिन्छ अबसर थोरैलाई मात्र आउछ, चुनौतीपूर्ण समयमा सहि मानिसको उदय भए परिबर्तनको लागि टाढा पुग्नुपर्दैन। एनआरएनको चुनावी रन्को होस् वा बिभिन्न संघसस्थाको नै, उनीहरुको नेतृत्वको हनाथापीलाई हेर्ने हो भने यो चहलपहल नेपालको राजनीति भन्दा कम भने देखिएको छैन। राजनीतिबाट प्रेरित हुदै व्यक्तिगत स्वार्थ, पद अनि संम्मानको लागि हाबी भएको यो चक्रलाइ परास्त गर्न अनि बिभिन्न गोलचक्करमा फसिरहेको चुनौतीलाई एक पाइला भए पनि अघि बढाउनका लागि अहिले ओसाकामा हुने एनआरएन जापानको अधिबेशानलाई बिशेष महत्वकोरुपमा हेरिएको छ। यो होडबाजी संगै अब आउने नेतृत्व कुन श्रेणीको पर्ने हो त्यो भने धमिलो पानीको माछा जस्तै अन्योलपूर्ण नै छ।
सबैलाई थाहा भएकै कुरा हो, जापनको एनआरएनको अधिबेशन होस वा महाभारतको महायुग्द्ध नै, कौरवको भिडलाई नेतृत्व गर्न त्यति सजिलो छैन, चाहे कृष्ण हुन् अथवा भीष्मपितामह नै, नेपाल र नेपालीको लागि भन्दा पनि व्यक्तिविशेषको स्वार्थ हाबी भएको एनआरएनमा ‘शकुनि’ हरू प्रशस्तै छन्। अर्कातिर विभिन्न सघंसस्थाका हर्ताकर्ताहरू जो पैसाको पावर अनि हचुवाको भरमा उचिलिएका छन् उनीहरु स्वयंम के चाहन्छन् भन्ने उनीहरु नै प्रस्ट छैनन्। शिक्षित अनि बुद्धिजिबी भनाउंदाहरु जो चुनाब अगाडि खुब मच्चिन् छन् अनि चुनाबको आगमन सगै डर र धम्कीबाट गायब हुने प्रवृत्तिबाट शिथिल देखिन्छन्। यस्तो प्रवृत्ति अनि दिन प्रतिदिन नयाँ नयाँ संस्थाहरुको उदय हुदै गैरहेको अबस्थामा जनमानसमा फेरी सकरात्मक सोच र नमुना बनाउन एक नयाँ कदमको आबश्यकता भएको महशुस गर्न सकिन्छ। स्थापनाकाल देखिनै नेपाल अनि नेपालीप्रति स्थापित भएको पबित्र संस्था आज स्थापना भएको एक दशक नपुग्दै तिरस्कृत अनि घृणित बाटोतिर लम्किरहेको छ। अखिर किन दिनप्रतिदिन जनमानिसमा यस्ता नकरात्मक सोचहरुमात्र सिर्जित भएको छन ? के एनआरएनमा नराम्रा कुराहरु अनि नकारत्मक सोच मात्र छ ? त्यो भने पक्कै होइन। बिभिन्न देशविकास, जनचेतना, आर्थिक सहयोग लगायत विभन्न सेवामुलक कार्यमा एनआरएनको महत्वपूर्ण योगदानलाई जति चर्चा गरे पनि कमि नै देखिन्छ। तर आलुको बोरामा एक कुहिएको आलुले जमातलाई नै खराब गर्छ भने जस्तै केहि व्यक्ति बिशेषबाट नै एनआरएनको बदनाम भैरहेको छ।
हुन त कुनै संस्था होस् वा संगठन त्यसलाई कुशल नेतृत्व दिनको लागि राम्रो उद्देश्य, साहस, योजना, रणनीति, अनुभब, शिक्षित, मिलनसार लगायत राम्रो अगुवाई गर्ने क्षमता भएको आबश्यक पर्दछ। अझ पृथकरुपबाट एनआरएनलाई नेतृत्व गर्नको लागि अर्जुनको ज़स्तो दूरदृस्टी मात्र नभई कृष्ण जस्ता चलाखी व्यक्तिहरुको पनि उत्तिकै जरुरी देखिन्छ। यदि हुदाहुदै पनि जो कोही हचुवाको भरमा उफ्रन्छ भने त्यो उसको उफ्राई कुवाको भ्यागुटोको उफ्राई जस्तै हुनेछ। अहिलेको अबस्था अनि आबश्यकतालाई मनन गर्दा कमिटीमा मानिसहरु चाहे जतिसुकै चलाख हुन् वा सुस्तनै सबैजनाको मिलोमतोबाट नै जित सम्भब छ भन्ने कुरा बुझ्नु अहिलेको नेतृत्वलाई जरुरी छ। समाजसेवा मानिसको सेकेन्डरी काममा पर्ने कुराहरु हुन् आफ्नो समयले भ्याए सम्म परिस्थितीले साथ दिएसम्म गरिने काम भित्र पर्दछ। तर मानिसले आज यहि समाजसेवालाई हतियार अनि व्यक्तिगत स्वार्थकोरुपमा प्रयोग गरेर भाडमैलो अनि बदनाम गरिरहेका छन्। जसले न कुनै नेपालीको भलो गरेको छ न देश विकासमा नै सहयोग पुरयाएको छ। यो संस्थालाई तपाई अनि हाम्रो बनाउनको लागि तपाई हामीको सहकार्य बाट नै सम्भब छ। बिभिन्न देश बिदेशका खर्चिला सम्मेलनहरुलाई महत्व दिनुभन्दा पनि आफ्नो घरको समस्यालाई सुधार्दै अनि नाफामुलक संस्थाकोरुपमा नभई सेवामुलक संस्थाको रुपमा चिनाउनु जरुरी छ।
समाजसेवा भनेको प्रचारप्रसार अनि ठुला ठुला गफहरुबाट होइन भित्रि मन अनि सेवाको भावनाबाट प्रेरित हुनुपर्दछ। आफ्नै घरका समस्याहरु, आफ्नै घरका परिवेशहरु अनि वरपरका समस्याहरु नै ठुला हुन्छन। यो समस्यालाई सुल्झाउन अनि असल व्यक्तिको चयनको लागि ओसाकाको अधिबेशनलाई चुनौतीपूर्णरुपमा हेरिएको छ। एक दशकको इतिहासमा पहिलो पटक अवसरकोरुपमा आएको यस चुनौतीलाई सफल पार्न सबै शुभचिन्तकहरुलाई अनुरोध गर्दछौ। बोल्ने मुखहरुभन्दा गर्ने हातहरुनै पबित्र हुन्छन यो भनाईलाई मनन गर्न अनि ओसाकाको अधिबेशनलाई भडाउन ग्रान्ड डिजाईनको चलखेलमा लाग्नु भएको अनि चुनाब टोकियोमा गरेर सत्ता हातमा लिन खोज्नुभएका महानुभाबहरुलाई खरायोले सिंहलाई इनारमा खसालेको कथा नाबिर्सिदिनु हुन् अनुरोध गर्दछु। आकाशका ताराहरु भन्दापनि घरका स-साना टुकीहरुनै उज्याला हुन्छन, पद र प्रतिष्ठाको लागि कुमारजीको ज़स्तो ब्रह्मन्डको दौडधुप भन्दा पनि गणेशजीको ज़स्तो बुद्धि नै महान हुन्छ भन्ने कुरालाई प्राथमिकता दिदै भ्रष्ट अनि कुनियतको परम्पराको यो अध्यायलाई समाप्त पार्न ओसाकाको यो ऐतिहासिक यात्रामा तपाईहरुलाई स्वागत छ । असाधारण यात्रा भन्दा विचार अनि सिद्दान्तको नेतृत्वले जापान मात्र होइन विश्वभरका नेपालीलाईलाई प्रेरित गर्नेछ, यो प्रचुर संभाबनामा सहयोग गर्न अनि कुशल नेतृत्वलाई स्वागत गर्न हामीहरु आतुर भएका छौ। यो आतुरीको पर्खाइमा माला लगाउन तपाईचाही नछुटनु होला नि !
(लेखक एनआरएन जापान कान्साई क्षेत्रिय कमिटीका सचिव हुनुहुन्छ)