Deneme Bonusu Veren Siteler
आइतबार, पौष १४, २०८१
Sunday, December 29, 2024

Mahesh Thapaसन २००३ को फ्रेब्रुअरीमा वेल्जियमको इपर आउनुभन्दा अगाडि मलाई इपरको इतिहासको वारेमा थाहा थिएन । त्यसवेला वेल्जियममा त्यति धेरै नेपाली थिएनन । फिनिस मुलकी योहानाले मलाई सवैभन्दा पहिले इपर पुरयाएकी थिइन । वाटोमा उनि भन्दै थिइन त्यो सहरमा कतै तिम्रो पुर्खाको इतिहास पनि हुन सक्छ । मैले उनको भनाइ वुझिन । किन त्यसो भन्दैछौ मैले सोधे पछि उनले भनिन इपर प्रथम विश्वयुद्धको प्रभावमा रहेको सहर हो । त्यहा लाखौले ज्यान गुमाएको छ । विश्ववाट मानिसहरु त्यहां आएकाछन युद्ध लड्नका लागि । संसार ध्वस्त पार्ने हिटलर पनि आएका थिए सैनिकको रुपमा युद्ध लड्न । कतै तिम्रा गोर्खाली दाजुभाइ पनि आएका होलान् । उनको भनाइमा वुझ्न सकिन्थ्यो गोर्खालीको वारेमा उनले केही जानेकीछिन् ।

इपर पुगेपछि मलाई रोजले भनिन् – ‘स्वागत छ विरालोको सहरमा’ योहानाको कुरा र रोजको कुराले म अलमल्ल परेको थिए । यी दुइ अर्थ मैले वुझ्न सकिरहेको थिइन । तर इपरको दश वर्षको वसाईमा अझै मैले उनिहरुको कुराको भावार्थ वुझ्ने कोसिस गर्दैछु ।

इपरमा रहेको मेनन गेटमा नाम पढ्दै जांदा गोर्खा राइफल पहिलो वटालियनमा मेरो आंखा परेपछि शरिरमा एक प्रकारको कम्पन भयो । मलाई लाग्यो यो सहरसंग मेरो पुरानो नाता सम्वन्ध छ । मेरो श्रीमती भन्दै थिइन हामी कुनैवेला सैनिककोरुपमा आएका थियौ होला । आज पुन: आएका छौ । यही कारण पनि इपर छोड्न सकिएन हाम्रो इपर ।

शुरुको दिनमा म नौलो थिए । प्रथम विश्वयुद्धसंग सम्वन्धित धेरै विषयमा जानकारी लिने मेरो लक्ष्य थियो । इपर सम्वन्धमा लाइव्रेरी छ नि त्यहाको नगरपालिकामा काम गर्ने किस्टिनले भनिन् । उनले मलाई डोमेनिकको नाम वताएपछि म डोमेनिकलाई भेट्न पुगे । मलाई लागेको थियो गोर्खालीको वारेमा मलाई जानकारी होला । तर डोकेनिकलाई भेटेपछि मलाई लाग्यो यस विषयमा म भर्खर नर्सरीमा रहेछु । पुरै इतिहासको ज्ञान छ उसलाई । उसले मलाई धेरै विषयमा जानकारी दियो । त्यसवेला मलाई लाग्यो हामी यस विषयमा निकै कमजोर छौं ।

सन २००४ मा इपरको वसाइको क्रममा एक दिन नरेन्द्र थापा र रमिता थापा आए । इपर घुमेपछि उनिहरुले भने यो सहरको वारेमा केही गर्नुपर्छ । मलाई पनि लाग्यो, हो ! केही गर्नैपर्छ । कम्तीमा पनि नेपालीलाई जानकारी दिने काम गर्नुपर्छ । भर्खरै सिक्दैगरेको वेव डिजाइनिङमा राम्रो दखल थिएन । पत्रकारिताको सुरुवात पनि थियो । जानी-नजानी इपरको नाममा एउटा वेभसाइट खोलियो – गोर्खा राइफल इन इपर वाइ महेश थापा । साइट खुलेको केही महिनापछि संसारका केही इतिहाकारले यसको प्रसंशा गरे । स्वयम मलाई लागेको थिएन यो साइटले त्यति धेरै जानकारी दिनसक्छ । एक दिन मेरो घरको घन्टी बज्यो । ढोका खोले । ‘तिमी महेश हौ ?’ एक पुरुष र महिला थिए । मैले हो भने । कुरा सन् २००५ को हो । उनले भने – ‘म रेने यो मेरो श्रीमती म भित्र आउन सक्छु’ – मैले भने आउनुस । उनि भर्खरै पेन्सनमा गएका रहेछन । अनि सिक्दैरहेछन फिचर कथा लेख्ने कला । उनले भने – ‘मैले तिम्रो वेभसाइट हेरें यसवारेमा जानकारी चाहियो । म कथा लेख्दैछु’ – मैले भने – ‘हुन्छ मैले जानेको सहयोग गरौला ।’

एक दिन मैले एउटा पत्र पाए । पत्र रेनेले लेखेका थिए । उनले पत्रमा लेखेका थिए – ‘महेश तिमीलाई धन्यवाद ! तिम्रो सहयोगमा मेरो कथा सर्बोकृष्ठ भयो ।’ उनले गोर्खालीको इपर वारेमा डच भाषामा सानो कथा लेखेका रहेछन् । जुन स्थानिय स्तरमा राम्रो मानिएको रहेछ ।

एक दिन डोमेनिकले मलाई वोलायो – ‘महेश तिमीसंग काम छ एकछिन, समय दिन सक्छौ ?’ उनले एउटा सिडी दिदै भने – ‘यो कपिराइट छ, तर यसमा केही भाषा छन् सम्भवत नेपाली पनि हुनुपर्छ, मलाई रुपान्तर गरिदिन्छौ ? ’ मैले सुने एकछिन फेरी मेरो मनमा चिसो पस्यो । प्रथम विश्वयुद्धमा जर्मनले वन्धक वनाएका केही भारतीय सैनिकको वोली थियो त्यो सिडीमा । त्यसमा एउटा सैनिकले नेपाली गीत गाएका थिए । त्यो रेकर्ड सुनेपछि आंखा रसायो । आफ़ैलाई सोधे – ‘कतै ती सैनिक म आफै त थिइन ?’

नमस्ते युरोप शुरु गरियो सन् २००६ मा राजेन्द्र भटट नेपाली टिभीमा कार्यक्रम चलाउथे र म वेभतर्फ। एकदिन उनले भने – ‘महेश हामीले इपर वारेमा पनि प्रचार गर्नु आवश्यक छ ।’ एउटा कार्यक्रम वनाइयो । युकेमा इपरको वारेमा केही चर्चा परिचर्चा भयो । वेल्जियममा पनि विस्तारै मानिसहरुले इपर वारेमा वहस शुरु गर्न थाले ।

इपरमा चर्चित हास्यकलाकार जितु नेपाल आए । युरोपमा छायांकन भएको चलचित्र सपनाको नौलो संसारका निर्देशक राजु शाहसंग इपरको धेरै फुटेज छ । कुनै दिन उनले यसवारेमा एउटा डकुमेन्ट्री वनाउलान ।

हुन त मलाई जानकारी थियो । म इपर पुग्नुभन्दा पहिले इपरमा नेपाली गैसकेका थिए । यसको प्रमाण हो सेन्त्रुदिन निवासी राजेन्द्र रसाइलीवाट इपरमा पुगेको नेपालीको फोटो सापट मागेर वेभमा हालेको थिए ।

नेपालको तत्कालिन उपप्रधानमन्त्री सुजाता कोइराला वेल्जियम आउदै थिए । वुर्गे निवासी राधाकृष्ण अधिकारी र पूर्ण तिमिल्सिनाले भने – ’सुजातालाई इपरको वारेमा जानकारी दिनुपर्छ ।’ उनिहरु र वेष्ट भ्लान्दरणका नेपालीहरुको सहयोगमा कोइरालालाई इपर वारेमा जानकारी दिइयो । इपरका उपमेयरले कोइरालालाई त्यस सहरको वारेमा वताए । कोइरालाले नेपाल सरकारको पहलमा इपरको वारेमा केही गर्ने वताइन । सुजाता कोइराला इपर आएपछि इपरको वारेमा वेल्जियमका नेपाली जागरुक भए । यो दौरानमा धेरैले म संग इपरको वारेमा जानकारी लिए । कतिपय इपर आए । केही पत्रकार मित्रहरुले सहयोग गर्नुभयो । इपरको वारेमा नेपालमा पनि चर्चा हुन थाल्यो । नेपाली राजदूतावासका तत्कालिन राजदुत प्रमेशकुमार हमालले पनि इपरको वारेमा महत्व दिन थाले ।

सन २०११ देखि तमु समाज र वेल्जियममा रहेका अरु संगठनहरु पनि नोवम्वर ११ मा इपर आउने क्रम सुरु भयो । हुन त तमु समाजले २००३ मा पनि इपरमा आइ श्रद्धान्जली अर्पण गरेको थियो । तर २०११ पछि निरन्तरता दिने वतायो । नोवम्वर ११ तारिखको विशेष महत्व छ इपरको सम्वन्धमा । नोवम्वर ११ तारिख ११ वजे विश्वमा प्रथम विश्वयुद्धको समाप्ती भएको दिनलाई स्मरण गर्दै इपरमा मरेका असंख्य मृतकहरुको सम्झना गरिन थालियो । सन २०११ मा तमु समाजका तत्कालिन अध्यक्ष श्रीप्रसाद गुरुङले भने – ‘भाइ यहां इतिहास छ हामीले केही गर्नुपर्छ ।’

एकदिन एनआरएनका अध्यक्ष जानकी गुरुङले फोन गरिन् र भनिन् – ‘इपरको वारेमा एउटा अध्ययन कमिटी बनेको छ । तपाइ पनि त्यो कमिटीमा हुनुहुन्छ ।’ एनआरएन वेल्जिमका आइसीसी सदस्य अर्जुनकुमार श्रेष्ठ, एनआरएन वेल्जियमका पूर्व अध्यक्ष युवराज गुरुङसहितको टोली थियो त्यो जसको संयोजक थिए नेपाली दूतावास वेल्जियमका मिनिष्टर काउन्सिल कुमारराज खरेल । युद्धमा ज्यान गुमाएकहरुको ररेकर्ड राख्ने वेलायती संस्था कमन वेल्थ ग्रेभ कमिसनको वेभमा नेपालीको राष्टियता भारतीय लेखिएको थियो । मैले टोलीलाई यी विषय सच्याउन सो संस्थामा कुरा गर्ने र स्मारक वनाउने विषयमा नगरपालिका संग कुरा राख्ने विषय उठान गरे । संयोजक कुमारराज खरेलको पहलमा सो संस्थाको इपर डारेक्टर इयान हुसेन संग भेटियो । उनले आफुले पहल गर्ने जनाए । खरेल, श्रेष्ठ र गुरुङ सवै काम छोडि दशौपल्ट पुगे इपरमा । केही समय पश्चात सो संस्थाले सवै सच्यायो । उता स्मारक वनाउने विषयमा तत्कालिन राजदूत हमालले इपरका मेयरसंग भेट गरे । इपरका मेयरले सक्दो प्रयास गर्ने वताए । राष्टिय स्तरको कुरा भएको कारण मिनिष्टर काउन्सिल खरेलले यसलाई निरन्तता दिए । अन्ततं हामी सवैलाई उपयुक्त हुने स्थान दिन इपर प्रसासन मन्जुर भयो । खरेलको निरन्तता नभएको भए सायद आज यो संभव थिएन ।

तर स्मारक वनाउने स्थान दिन मन्जुर हुंदा नहुदै वेल्जियममा इपरमा स्मारक कस्ले वनाउने भन्ने विवाद भयो । तमु समाज प्रथम विश्वयुद्धमा इपरमा धेरै गुरुङहरुले वीर गति पाएको र हरेक वर्ष इपरमा आफ़्नो पहलमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्ने गरेको हुंदा आफुले स्मारक वनाउन पाउनुपर्ने वतायो । उता राजदूतावास र एनआरएन वेल्जियम सवै नेपालीको साझा स्मारक भएको हुंदा एनआरएनले वनाउनुपर्छ भन्न थाले ।

सन २०१४ प्रथम विश्व युद्धको शुरु भएको सय वर्ष। यस अवसरका विशेष कार्यकम हुंदैछ इपरमा । त्यस अवधिमा स्मारक वनाउंदा राम्रो हो । तर वेल्जियमका नेपाली समाज इपर राजनीतिवाट अगाडि वढ्न सकेको छैन ।

विवादको विच वेल्जियममा इपर स्मारक वनाउने दुइ वटा समिति वनेका छ्न् । सवैभन्दा पहिले तमु समाजको पहलमा एउटा समिति वन्यो । उनिहरुले मलाई त्यो समितिको सदस्य सचिवमा प्रस्ताव गरे । तर विवाद अन्त्य गरेर एउटा समिति वनाउनुपर्ने जनाइ त्यसमा जान मन्जुर गरिन । उता नेपाली दूतावास वेल्जियम र एनआरएन वेल्जियमवाट पनि एउटा समिति वन्यो । त्यसमा पनि मलाई सदस्य सचिवमा प्रस्ताव गरे । ५५ सदस्यीय समिति वन्यो भन्ने सुने । मेरो नाम प्रस्ताव भएनछ ।

इपरमा आएर विश्वका राजनेताले शिर निहुराएको मैले देखेको छु । कुनै समयमा आधासंसार मेरो भन्ने वेलायतकी महारानी एलिजावेथ समेत इपरमा आएर नतमस्तक भएको पनि देखेको छु । उनिहरुको सम्झनाले मलाई अझै ऊर्जा दिन्छ ।

यी दुवै समितिमा म वस्नु र नवस्नु मा मेरो जित र हार होइन । पत्रकारितामा लागेको यी वर्षहरुमा पनि वेल्जियमको नेपाली वाहुल्यता रहेको समाजवाट धेरै टाढा इपर वरपर वस्न मेरो ईच्छालाइ टोड्न सकेका छैन समयले । सन २००४ मा मनमा लिएको इपरलाई चिनाउने सपनामा मैले जितेको छु । गर्वको साथ म यो लडाइमा जितेर आएको सैनिकको रुपमा ठान्दै आज गोर्खा राइफल इन इपर वाइ महेश थापा वेभ पल्टाउदै मैले सन्तोषको सास लिएको छु ।

(लेखक नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष र नमस्ते युरोप डट कमका संचालक हुनुहुन्छ)

 

तपाईको प्रतिक्रिया