काठमाडौं – राजधानीका औषधि पसलमा इजाजत पाएकाबाहेक सिकारु र अन्य व्यक्तिले औषधि बेच्ने गरेको भेटिएको छ । अनुगमनका क्रममा पुतलीसडकमा मात्रै आधा दर्जन औषधि पसलमा गरिएको अनुगमनमा वास्तविक औषधि व्यवसायी पसलमै नबस्ने गरेको भेटिएको हो । गम्भीर ढंगको लापरबाही भेटेपछि वाणिज्य विभागले औषधि व्यवस्था विभागसँग समन्वय गरी उनीहरूमाथि कारबाही थाल्ने तयारी गरेको छ ।
‘भित्तामा झुन्ड्याएको इजाजतपत्रमा एउटाको फोटो हुन्छ, तर पसलमा अर्कै मान्छे भेटिन्छ,’ मंगलबारको अनुगमनमा खटिएका वाणिज्य विभागका एक कर्मचारीले भने, ‘आफ्नो नाममा लाइसेन्स निकालेर अर्कैलाई बेचेर हिंडेको पनि भेटियो ।’ विभागले अन्य ठाउँमा पनि इजाजतवाहक बाहेकका व्यक्तिले पसल सञ्चालन गरेको हुनसक्ने आशंकासाथ थप अनुगमनको तयारी गरेको छ ।
पुतलीसडकको नाइस फर्मामा अनुगमन गर्दा टोलीले इजाजतपत्र पाएका व्यवसायी पसलमा नभएको भेट्यो । सोधपुछका क्रममा पसलमा बसेका व्यक्तिसँग तालिम र अन्य अनुभव नभएको भेटियो । औषधि व्यवस्था विभागले औषधि बिक्री वितरणका लागि पसल सञ्चालन गर्नुअघि व्यवसायीले तालिम लिएको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । साथै औषधि पसलमा उही व्यक्ति हुनुपर्नेमा दक्षता नभएका परिवारका सदस्यहरू वा अन्य व्यक्ति राखेर पसल सञ्चालन गर्ने परिपाटी छ । यस्तो प्रवृत्तिले जनस्वास्थ्यप्रति गम्भीर लापरबाही भइरहेको विभागका निर्देशक प्रेमप्रसाद पौडेलले बताए । ‘एउटा रोगमा भूलवशः अर्को खालको औषधि दिएमा हुने क्षति ठूलो हुन्छ, कतिपय व्यवसायीहरूले यस्तै लापरबाही गरिरहेका छन्,’ उनले भने ।
सामान्य व्यवसायीमात्रै होइन, अस्पतालले सञ्चालन गरेको औषधि पसलमा पनि यस्तै लापरबाही भेटिएको छ । क्यापिटल हस्पिटल प्रालिले सञ्चालन गरेको औषधि पसलमा इजाजतपत्र नभएका व्यक्तिले औषधि बिक्री वितरण गरेको भेटिएको छ । ‘हामीले उनीहरूलाई तत्काल इजाजतपत्र प्राप्त व्यक्तिमात्रै पसलमा राख्न निर्देशन दिएका छौं,’ निर्देशक पौडेलले भने । पुतलीसडकका नाइस फर्माले समेत यस्तै निर्देशन पाएको छ । अर्को राम मेडी फार्मेसीमा पनि इजाजतपत्र नभएका व्यक्ति पसलमा बसेको भेटिएको छ ।
अनुगमनमा संलग्न कर्मचारीहरूका अनुसार, इजाजतपत्रवाहक व्यवसायीको खोजतलास भए ‘खाना वा खाजाका लागि बाहिर गएको’ बनिबनाउ जवाफ दिने गरेका छन् । केरकार हुनथाले कामविशेषले राजधानी बाहिर गएको बताउने गरेका छन् । अनौपचारिक कुराकानीका क्रममा केहीले लाइसेन्स मात्रै किनेर पनि पसल सञ्चालन गरेको स्वीकारेको भेटिएको एक कर्मचारीले बताए ।
जनस्वास्थ्यप्रति जोखिम हुनसक्ने भएकाले सरकारले औषधि पसल सञ्चालनअघि अनिवार्य इजाजतपत्रको व्यवस्था गरेको हो । सामान्यतयाः मोफसल र वरपरका गाउूमा इजाजतपत्र नभएका व्यक्तिले पनि औषधि बेच्ने गरेकामा अनुगमनका क्रममा राजधानीका मुख्य ठाउू र अस्पतालमा पनि यस्तो समस्या देखिएको हो । अनुगमनका क्रममा झन्डु नेपाल, भद्र फर्मा लगायतमा कुनै समस्या नदेखिएको विभागले जनाएको छ ।