यहाँ सरकार छ
र, त मलाई तिम्रो इज्जतको सुर्ता छ,
मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ †
टुक्रा टुक्रामा बाँडेर हाम्रो अस्मिता भाग लगाइरहेछ राज्य
हाम्रो रक्ताम्मे पेटिकोट हेरेर मनोरन्जन लिइरहेछ सरकार
आँसुजस्तै रंगहीन बनाएर जीवन
हामी डुबिरहेछौँ आँसु–आँसुको दहमा
हामी डुबिरहेछौँ आक्रोश आक्रोशको दहमा
ठुग्न तम्तयार क्रुर नंग्राहरू अझै पच्छ्याइरहेछन् हाम्रो अस्मिता
कोमल ओठमा आफ्ना राक्षसी जुँगा रगड्न चाहनेहरू
हाँसिरहेछन् हाम्रै छेउछाउमा
र, त मलाई तिम्रो इज्जतको सुर्ता छ,
मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ ।
तिमीले निर्वाध हिँड्नु छ
सहरमा, गाउँमा, सडकमा, गोरेटोमा
पाखामा, पँधेरामा
हिँड्नु छ निसंकोच आफन्तसित
विनाडर फर्किनु छ अध्यागमनको बाटो
छिचोल्नु छ चौकी र सरकारी कार्यालय
मुस्काउनु छ फूलजस्तो हार्दिक मुस्कान
भेटिएका सबैसित,
यहाँ सरकार छ र यी सब असम्भव भएका छन्
नपत्याए हेर,
कुनै भाव नभएको
कुनै छन्द नमिलेको
कुनै अर्थ नबोकेको भाषण अथ्र्याइरहेछ बालुवाटार
बलात्कारीका पक्षमा
र, त मलाई तिम्रो इज्जतको सुर्ता छ,
मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ ।
खोल त्यो फलामे ढोका
फर्काऊ र बन्द गर यी बख्तरबन्द गाडीहरू
फायर गर बालुवाटारको भित्तामा
हामीलाई ताकिरहेको तिम्रो लुते राइफल
हामीलाई चाहिएको छ
मानुषी अर्थात् हामी मानुषीहरूको सुरक्षा
आज मिति ०६९ साल माघ १९ गते शुक्रबार
कृतिम रंगले सुकिलो बनाइएको बालुवाटारको पर्खालमा अडेसिएर
खिया लागेको बन्दुक बोकेका सिपाहीहरू अघिल्तिर उभिएर
यो लमतन्न सडक, यी रुखहरू, यी घरहरू
झरझराउँदो एक थान सूर्य र रक्ताम्मे पेटिकोट साक्षी राखेर
म भन्दैछु,
सरकार छ भनेर ढुक्क नबस
यहाँ सरकार छ
र, त मलाई तिम्रो इज्जतको सुर्ता छ,
मानुषी, कहाँ छौ ? आऊ बालुवाटार कब्जा गरौँ ।