Deneme Bonusu Veren Siteler
सोमबार, पौष ०८, २०८१
Monday, December 23, 2024

ghayalsriएउटा सामान्य सेमिनारबाट नै उनले मलाई राम्रोसँग चिनेका रहेछन् ।  हुन त त्यसभन्दा अगाडिबाट नै उनले मलाई चिन्नको लागि धेरै प्रयास गरेका रहेछन् । आफु चिनेको र भेटेको प्रत्येक व्यक्तिसँग मलाई चिनाइदिने अनुरोध गर्दा रहेछन् । त्यस अवसरमा कतिले चिनेको छैन भनेर उनलाई निराश पार्दा रहेछन् त कतिले ‘भइहाल्छ नि, उहासँग मेरो राम्रै सम्बन्ध छ त्यसैले तपाइँलाई उहासँग परिचय मात्र होइन तपाइँको चाहनाअनुसार घनिष्ठ मित्रता कायम गराइदिने छु’ भन्दै उनलाई भुल्याउने गर्दा रहेछन् ।  त्यसदिन म एउटा स्टेशनरीमा बसी आफ्नो केही बाँकी रकम असूल गर्दै थिएँ ।  अकस्मात् उनको आगमन भयो र मेरो नजिक आई विस्तारै बोल्न पुगे– ‘तपाइँको नाम……….हो ?’  उनको त्यो ठाडो प्रश्न सुनेर कताकता म भित्र अपमानित रेखा कोरिन थाल्छन्त र आफैंलाई साम्य पार्दै म बोल्छु– ‘हजुर ! केही काम थियो कि ?’ मेरो प्रतिउत्तरमा थपिएको प्रश्न सुनेर केही अत्तालिएको र केही असजिलो मान्दै उनी बोल्छन्– ‘होइन, होइन त्यस्तो केही काम छैन तैपनि तपाइसँग परिचय गरौं कि भनेर’ त्यसपछि आफ्नो दायाँ हात मतर्फ बढाउँदै बोल्छन्– ‘मेरो नाम राजेन्द्र ।’ म उनको हातमा हात मिलाउँदै बोल्छु– ‘ए नाम त साह्रै राम्रो रहेछ ।’ यति भनेर आफ्नो हात आफुतिर खिच्न थाल्छु तर उनले भने जोडसँग समातिरहन्छन् । मैले केही झड्का दिँदै आफ्नो हात आफुतिर खिच्छु । उनको चेहरामा कताकता नैराश्य छाउँछ । त्यसको मध्यनजर गर्दै म बोल्छु– ‘अनि तपाइँ अहिले कहाँ हुनुहुन्छ ?’ मेरो प्रश्नमा केही खुशी हुँदै तत्काल उनी बोल्छन्– ‘अहिले म काठमाडौं छु ।’ त्यसदिन उनी र म लामो समयसम्म कुरा गरिरहन्छौं । उनी मेरो नियमित पाठक भएको कुरा पनि सुनाउन पछि पर्दैनन् र अन्तमा उनले मेरो हातमा एक कार्ड थमाउन पुग्छन् । लगत्तै उनी मबाट विदा भएर आफ्नो बाटो लाग्छन् भनें उनी गएपछि केही समय म उनकै बारेमा सोच्न बाध्य हुन्छु । उनीसँग बोल्नुपर्दा र मित्रताको हात बढाउनुपर्दा कताकता आफैमा नरमाइलो लाग्छ किनकी……….।

त्यसपछिका दिनमा उनी र म धेरैपटक भेट भइसकेका हुन्छौं । भेट्नुभन्दा अगाडि म उनीबाट भाग्ने प्रयास गर्छु तर मेरा सबै प्रयास ‘प्रयास’ मा नै सीमित रहन्छन् । म भाग्नुभन्दा अगावै उनी मेरो हात समाउन आइपुग्छन् । अनि त नचाहेर पनि म उनीसँग बोल्न बाध्य हुन्छु । उनैसँग होटल र सेमिनारमा सहभागी हुन्छु । त्यो समयको बीचमा उनले मलाई आफ्नो घरमा जाने प्रस्ताव राख्छन् । घरपरिवारसँग परिचय गराई राम्रै सम्बन्ध स्थापित गराउँन चाहन्छन् तर म कुनै न कुनै बाहनामा भाग्ने गर्छु । त्यसदिन म एउटा सेमिनारबाट विदा भई घरतर्फ प्रस्थान गर्दै थिएँ । साँझ परिसकेको थियो । बाटोमा सवारी साधनहरु बिरलै भेटिन्थे । आकाश धमिलिँदै थियो । म लामोलामो पाइला बढाउँदै थिएँ । क्षणभरमै गड्याङगुडुङको आवाज आई मुसलधारे पानी बर्षियो । म निथ्रुक्क भिजिसकेको थिएँ । बाँकी भिज्नबाट जोगिन नजिकैको प्रतीक्षालयभित्र पसी भिजेको कपडा निचोर्न लाग्छु । अकस्मात् ! उताबाट एक चिल्लो र चिप्लो पजेरो आउँछ । हतारहतार प्रतिक्षालयको डिलमा उभिएर हात ठड्याउँछु । पजेरो म नजिकै आउँछ र विस्तारै रोकिन्छ । पजेरो भित्र राजेन्द्र थिए । अचानक उनलाई देख्दा म झस्कन पुग्छु र आफुलाई साम्य पार्दै केही हाँस्ने चेष्टा गर्छु । बिचैमा मलाई हेर्दै राजेन्द्र बोल्छन्– ‘अरे तपाइँ यतिबेला यहाँ हुनुहुन्छ ? आउनुहोस् ।’ उनको आग्रहमा म केही सोच्न बाध्य हुन्छु । ‘होइन तपाइँ के सोच्न लाग्नु भो ? आउनुहोस् ? तपाई त साह्रै रुझ्नुभएछ । आज हामी दुबैजना हाम्रो घरमा जाउँ । हेर्नोस तपाइँको स्वागतको लागि मेरो घर प्रतीक्षामा छ ।’ राजेन्द्र बोल्दै गर्दा बिचैमा म बोल्न पुग्छु¬– ‘भो पर्दैन म यहींसम्म आएको, तपाइँ जानुभए हुन्छ । म यहाँ केही समय बिसाएको मात्र हुँ ।’

त्यतिबेलासम्म उनी प्रतीक्षालयमा आइपुगी मेरो हात समाउँदै बोल्छन्– ‘प्लिज मेरो अनुरोधलाई खेर नफालिदिनोस् । आज तपाइँ जसरी भएपनि मेरो घर जानुपर्छ ।’ मैले विस्तारै आकाशतर्फ नजर लगाउँछु । पानी झन् बर्सिंदै थियो । साँझ बढ्दै थियो । हुन त उसको सहयोगको अपेक्षा कहिल्यै गरेको थिइन र गर्नेपनि छैन । विपदको समयमा शत्रुका पनि पाउ मल्नु भन्छन् ! त्यसैले मेरो चाहना नहुँदा नहुँदै पनि उनको साथ लाग्न बाध्य हुन्छु । मेरो स्वीकार पश्चात् उनी आफुलाई एउटा विजयी योद्धा सम्झेको मैले अनुभव गर्छु । पजेरो उनको घरतर्फ अगाडि बढ्छ । पानी झन् वर्षिंदै थियो । बाटामा सवारीसाधनहरु ओहोर दोहोर गर्दै थिए । म झ्यालबाट बाहिर चियाउँदै अनेक दृष्यमा रमाइरहेको थिएँ । दुबै जना चुपचाप थियौं । निकै बेरको शून्यतालाई भङ्ग गर्दै राजेन्द्र मतर्फ फर्केर¬¬¬¬ बोल्छन्¬–‘तपाइँ त चुपचाप हुनुहुन्छ नि ?’ उनको मधुर बोली, मेरो एकोहोरो सोचाइ र झरीको कारण राम्रोसँग सुन्न सक्दिन मात्र उनीतर्फ फर्कन्छु । राजेन्द्र पुनः केही समय चुपचाप रहन्छन् र केही समयपश्चात् मतर्फ फर्केर बोल्छन्–‘अहिले तपाइँ कुन कृति प्रकाशनको तयारीमा हुनुहन्छ ?’ ‘अहिले म आफ्नो अत्मकथा लेख्दै छु ।’

पजेरो द्रुत गतिमा कुदिरहेको थियो । त्यही गतिमा मेरो मन पनि अस्तिर थियो । यस बीचमा राजेन्द्र घरि मतर्फ नजर डुलाउँथ्यो त घरि बाटो र गाडीको स्टेयरिङमा । ‘यसभन्दा पहिले प्रकाशित भएको तपाइँको उपन्यास पढ्ने अवसर पाएको थिएँ । त्यो उपन्यास पढेर सकेकै दिनदेखि म तपाइँको खोजीमा थिएँ तर धेरै समयपछि तपाइँलाई भेट्ने अवसर जुरयो जुन भेटले म आफुलाई भाग्यमानी सम्झन्छु ।’ यसपटक उनी केही गम्भीर भएर मतर्फ नहेरी बोलेका थिए । उनी बोल्दै जान्छन् ‘हुन त प्रेमदेखि कोही पनि टाढा रहन सक्दैन । आफ्नो उमेरको अवस्थासँगै कोही न कोहीप्रति झुकाव रहन्छ ।’ यसबीचमा उनी केही दार्शनिक बन्न पुग्छन् । म चुपचाप उनलाई सुनिरहन्छु । यस बीचमा उनले मलाई आफ्नो पारिवारिक अवस्था र दाम्पत्य जीवनका केही पाटाहरु पनि खोलिसकेका हुन्छन् । उनको कुरालाई मान्ने हो भने प्रेमकै कारण आफ्नो विवाहको लगनगाँठो कसिएको रहेछ । तर त्यो सम्बन्ध निकै छोटो समयमा गाँसिएको रहेछ । दुबैजना गैर सरकारी संस्थामा कार्यरत भएको र प्रायः सधैं भेट भैरहने हुँदा पनि यो सम्बन्ध गाँस्न सफल भएका रहेछन् । यसैबीचमा उनले मलाई मेरो विवाहको बारेमा पनि सोध्न पुग्छन्–‘तपाइँ यो उमेरसम्म पनि अविवाहित नै हुनुहुन्छ नि ? कतै यो सांसारिक मोहदेखि भाग्न खोज्नुभएको त होइन ? तपाइँले लेख्ने गर्नुभएको कृतिहरुजस्तै छ जस्तो लाग्छ मलाई तपाइँको आफ्नो वास्तविक जीवनकथा ।

आत्मीयताको सम्बन्धले के म तपाइँको जीवनका केही पाटाहरु जान्न सक्छु ?’  उनको त्यस किसिमको अकल्पनीय प्रश्नले मलाई अप्ठ्यारोमा पार्छ । तैपनि उनीतर्फ फर्केर बोल्न बाध्य हुन्छु–‘कृपया तपाइँले मेरो बारेमा जुन जिज्ञासा राख्नुभयो त्यसका लागि धन्यवाद ! म जुन अवस्थामा छु त्यसैमा खुशी छु । त्यसैले मेरो जीवनका वैयक्तिक पाटाहरु नसोध्नुहोला ।’ राजेन्द्र मतर्फ फर्केर बोल्छन्–‘मेरो चाहना यो होइन कि तपाइँको जीवनको व्यक्तिगत पाटाहरु थाहा पाउनु । थाहा पाउन खोज्नु मेरो नैतिकताले पनि दिँदैन । मलाई लाग्छ घनिष्ठ मित्रसँग आफ्ना केही कुराहरु बाँडेको खण्डमा मन हलुका हुन्छ ।’ उनको कुरा सुन्दा मलाई उनीप्रति अविश्वास गरेजस्तो लाग्छ । केही समयपश्चात् उनीतर्फ फर्केर म बोल्छु–‘भावना भन्ने कुरा यस्तो हो जति कोट्यायो उति बढ्छ । त्यसैले म जानीजानी आफ्नो भावना शेयर गर्ने निहुँमा बढाएर ठूलो बनाउन चाहन्न । किनकी एक दिन त्यही भावनामा दरार आउँदा मन जलाउने काम हुन्छ ।’ मेरो कुराले उनको चित्त बुझ्छ या बुझ्दैन म केही बुझ्न सक्दिन । ‘भैगो, म चाहन्न तपाइँको व्यथाहरु बढाएर तपाइँको मनमा नुनचुक छर्किउँ। एउटा पाठकको हैसियतले म तपाइँको सम्मान गर्छु । तर आफ्नो प्रिय लेखकको बारेमा जान्न पाउनु म आफ्नो अधिकार ठान्छु ।’ उनी चुपचाप गाडी हुइँक्याइरहन्छन् । म चुपचाप यात्रा गरिरहन्छु ।

घुम्तीहरुमा र टाढा सवारी साधनहरु देख्दा उनी हर्न बजाउँछन् र त्यही हर्नको कारण शून्य वातावरण खल्बलिन्छ । म उनलाई नियाल्न थाल्छु । धेरै समय बितिसक्दा पनि उनी मतर्फ नजर लगाउँदैनन् । उनी मबाट धेरै निराश बन्न पुगेको म अनुमान गर्छु । तर पनि उनलाई केही भन्न सक्दिन । केही समयको यात्रापछि राजेन्द्र एउटा घरको आडमा लगेर गाडी पार्किङ गर्छन् । म झ्यालबाट बाहिर चियाउँछु । मेरा अगाडि एउटा चारतले बिल्डिङ देखापर्छ । त्यतिबेलासम्म पानी पर्न बन्द भैसकेको थियो । राजेन्द्र गाडीबाट ओर्लंदै गर्दा अगाडिको बिल्डिङ देखाउँदै भन्छन्–‘यही हो मेरो घर ।’ गाडीबाट उत्रेर उनको नजिक पुगी उनको हात समाउँदै म बोल्छु–‘राजेन्द्रजी तपाइँलाई एउटा सानो अनुरोध छ ।’ ‘कस्तो अनुरोध ? उनी मतर्फ फर्केर प्रश्न गर्छन् ।’ ‘म को हुँ भन्ने बारेमा तपाइँ आफ्नो घर परिवारसँग केही बताउनु हुनेछैन । बताउनु हुनेछ त केवल एउटा मित्र ।’ ‘तपाइँको जो इच्छा’ भन्दै उनी घरभित्र प्रवेश गर्छन् । म पनि उनको पछि लाग्छु ।

बेलुकी खाना खाएर सुत्नको लागि हामी दुबै जना कोठातर्फ प्रस्थान गर्छौं । त्यस दिन उनकी श्रीमती घरमा नभएको कारण उनीसँग हेलमेल गर्न मलाई धेरै सजिलो हुन्छ । दुबै जना कोठाभित्र गएर बस्छौं । कोठा निकै सजिसजाउ थियो । कोठाको दायाँपट्टिको भित्तामा राजेन्द्रका दुई दम्पतिको तस्वीर ठूलो फ्रेमभित्र सजाइएको थियो । जुन कोठाको आकर्षणको बिन्दु पनि थियो । उक्त तस्वीरमा गुलावी ओठमा मन्द मुस्कुराइरहेकी श्रीमतीले आफ्नो दाहिने हात लगेर राजेन्द्रको काँधमा अड्याएकी थिइन् भने राजेन्द्र श्रीमतीको सम्पूर्ण भाग सम्हाल्न तयार जस्तो देखिन्थे । तस्वीर हेर्दा लाग्थ्यो ती युगल जोडी सातौं जुनीसम्म सँगै जिउन तयार छन् । उक्त तस्वीर देख्दा मेरो मन अस्थिर हुन्छ । तत्काल तस्वीरबाट आँखा हटाउँछु । लाग्छ, त्यो घर र शहरबाट टाढा गई आनन्दको स्वास फेरुँ । त्यति नै बेला राजेन्द्रले उक्त तस्वीर देखाउँदै बोल्छन्–‘यिनी मेरी श्रीमती ।’ ‘अँ, मलाई थाहा छ ।’ राजेन्द्र बोल्दै गर्दा हतारिएर बीचैमा म बोल्छु । ‘कसरी थाहा पाउनुभयो ?’ राजेन्द्र मेरो अनुहार ताकेरै प्रश्न गर्छन् ।

‘कोठाभित्र प्रवेश गर्नासाथ पहिले मैले यो तस्वीर देखें । यति ठूलो तस्वीरमा सँगै बसेपछि वहाँ तपाइँको परिवार नै हुनुपर्छ भन्ने मैले अनुमान लगाइसकेको थिएँ ।’ मेरो कुरा सुनेर उनी लामो हाँसो हाँस्छन् र बोल्छन्–‘अनुमान लगाउन त तपाइँ निकै अगाडि हुनुहुँदो रहेछ ।’ रात छिप्पिँदै थियो । चिसो हावाको कारण जाडो पनि बढ्दै थियो । जाडोसँगै मेरो मनभित्र कौतुहल बढ्दै थियो, साथमा केही त्रास पनि । आज म जीवनमा कहिल्यै पनि नसोचेको ठाउँमा थिएँ । म उनको घरमा थिएँ । म उनको अतिथि थिएँ र अतिथिको रुपमा सम्मानित थिएँ । आफ्नो अतिथिको सत्कार गर्नु आफ्नो कर्तव्य ठान्थे राजेन्द्र । त्यहाँ कुनै अभाव थिएन तैपनि मन भारी भैरहेको थियो । असजिलोको अनुभव भैरहेको थियो । म त्यस रातभर निदाउने पक्षमा थिइन । किनकी केही कुराले मेरो मन थिचिरहेको थियो । त्यसैले म भोलिको मिरमिरे बिहानीको कल्पनामा थिएँ । मिरमिरे बिहानीसँगै त्यो र त्यो ठाउँ छोड्ने योजनामा थिएँ । निकै समयदेखि राजेन्द्र मेरो अनुहार पढिरहेको मैले अनुभव गर्छु । त्यसैबेला राजेन्द्र हाइ काढ्दै आफ्नो शरीर तनक्क तान्छन् र झ्यालको पर्दा हटाई बाहिर हेर्छन् । झ्यालबाट छिरेको चिसो बतास मसम्म आइपुग्छ । पुनः पर्दा लगाउँछन् राजेन्द्र र मतर्फ फर्केर बोल्छन्–‘यो चिसो पनि कति साह्रो बढेको ।’ उनी मौसमलाई दोष लगाउँदै मतर्फ हेर्छन् । मैले पनि टाउको हल्लाएर उनको कुरामा सहमति जनाउँछु । राजेन्द्र फेरि बोल्छन् –‘यो चिसोले आज त्यसै छोड्नेवाला छैन । बरु चिसो हटाउने कुनै उपाय गरौं कि ?’ उनको कुरा मैले बुझिसकेको थिएँ । उनी आज मसँगै बसेर केही पिउन चाहन्छन् । म चुपचाप उनलाई हेरिरहन्छु । उनी अगाडि बोल्छन्–‘आज तपाइँको साथ पाएर मलाई केही रमाइलो गर्न मन लागेको छ । के तपाइँ मलाई साथ दिन सक्नुहुन्छ ?’ म हल्का  हाँसो हाँसिदिन्छु । मेरो त्यही हाँसोलाई उनी स्वीकृतिका रुपमा लिँदै त्यही कोठमा पिउने कार्यक्रमको चाँजो मिलाउन थाल्छन् । एकैछिनमा सबै सामग्रीहरु जुट्छ । ‘आउनोस्, आजको हाम्रो भेटलाई रङ्गीन बनाऔं ।’ उनको प्रस्तावपछि विस्तारै उनको नजिक सर्दै म बोल्छु–‘मलाई सफ्ट ड्रिङ्कबाहेक अरु पिउने बानी छैन ।’ गिलासहरु ह्विस्कीले भरिन थाल्छन् र एकैछिनमा गिलासहरु रित्ता हुन्छन् । त्यसपछि गिलासहरु भरिने र रित्तिने क्रम जारी रहन्छ । ‘भो, यसभन्दा बढी नलिउँ क्यारे ।’ म अलि सतर्क हुन खोज्दै बोल्छु । उनी केही समयसम्म मलाई हेरिरहन्छन् र बीचैमा लामो हाँसो हाँस्दै बोल्छन्–‘लौ तपाइँलाई त भेटिसकेछ । जाबो ह्विस्कीले त तपाइँको शरीर गाल्छ भने अरुको त कुरै नलिउँ ।’ उनले यसो भनिरहँदा मैले भने उनलाई नसाले छोइसकेको अनुभव गर्छु । उनी पहिलेभन्दा झनखुलेर बोल्न थालेका थिए । तपाइँ–तपाइँको सम्बन्ध तिमीमा परिणत भएको थियो । यसैक्रममा एकपटक उनले मलाई भनेका हुन्छन्–‘कवि मित्र मलाई भूपी शेरचनको कविताको एउटा पंक्ति अझै पनि याद छ । सुनाउँ कि ?’

म स्वीकृतिसूचक टाउको हल्लाउँछु । उनी अघि बढ्छन्–
‘मैले पिएको रिस गर्नेहरु पिएर त हेर पिउन कति गाह्रो हुन्छ…….।’
म पिउन छोडेर उनलाई हेरिरहन्छु । उनी फेरि बोल्छन्–‘कविमित्र तिमीलाई के थाहा भूपी शेरचन पिएरै कवि भएका थिए रे !’ म पनि आफुले थाहा पाएझैं गरी उनको कुरामा सहमतिको टाउको हल्लाइदिन्छु । भरि गिलास रित्ताउँदै र फेरि भर्दै उनी बोल्छन्–‘कविमित्र मैले एउटा कुरा पत्ता लगाएको छु ।’ यति भनेर उनी मेरो मुख ताकेर हेर्न थाल्छन् । उनको त्यस हेराइले मभित्र छटपटी चल्छ । उनले त्यस्तो के कुरा थाहा पाए जुन कुरा भन्नु भन्दा अगाडि यसरी मलाई हेर्नुपर्ने ? म भित्रभित्रै तर्सिन्छु पनि । ‘भनु कविमित्र ?’ उनले मबाट सहमति खोज्छन् । मैले सहमतिमा टाउको हल्लाउँदै गर्दा मेरो अनुहार भने रातो भएर आउँछ । मेरो शरीरबाट ह्विस्कीको नसा उत्रिसकेको मलाई भान हुन्छ । उनी अगाडि बोल्छन्–‘यो रक्सी भन्ने चिज पनि गजबको रहेछ । भोजन नरुच्दा त औषधिकै काम गर्ने ।’ उनी बोल्दै गर्दा अकस्मात् मेरो मुखबाट लामो हाँसो फुस्किन्छ । धेरै समयसम्म एक्लै हाँसिरहन्छु । किनकी मेरो हाँसो उनले पत्ता लगाएको रक्सीको विषयमा थियो । थ्याङ्क्स गड भन्दै म उनलाई हेर्न पुग्छु । उनी त एकोहोरो भई मलाई नै हेरिरहेका पो रहेछन् । म पनि हाँस्न छोडेर उनलाई नै हेर्न थाल्छु । उनी बिस्तारै बोल्छन्–‘मित्रलाई बल्ल पो लागेछ ।’ यसपटक भने दुबैजना एकैपटक हास्छौं । अब भने हामी दुबैजना निर्धक्कसाथ खुलेर पिउन र मनका कुराहरु बाँड्न थालिसकेका हुन्छौं । हामीबीच लेखक र पाठकको नाता नभई वर्षौदेखि परिचित घनिष्ठ मित्रको रुपमा थियो । कतिखेर उनले चुरोट सल्काइसकेछन् मैले पत्तै पाइन । एकैपटक मुखमा लगेर सर्को तान्दा पो मैले देखें र चुरोट माग्न हात बढाएँ । आफुले तान्दै गरेको चुरोट मलाई दिएर उनी अर्को चुरोट सल्काउन थाल्छन् । म चुरोटको सर्को तान्दै बोल्छु– ‘राजेन्द्र जी आज म निकै खुशी यस मानेमा छु कि जुन तपाई पत्ता लगाउन सक्नुहु्न्न ।’

‘ल तपाईं पनि…………..किन पत्ता लगाउन नसक्नु मैले ? आज हाम्रो अचानक भेट भयो । हामी सँगै घरसम्म आयौं अनि यी अहिले यो कार्यक्रम चल्दै छ ।’ यति भनेर उनी चुरोटको सर्को तान्दै धुवाँ उडाउँछन् । ‘होइन, होइन तपाईंले कुरा पत्ता लगाउन सक्नुभएन । पख्नुस् म बताउँछु ।’ यति भनेर म पनि चुरोटको सर्को तानेर धुवाँ उडाउँदै पुनः बोल्न थाल्छु– ‘हो आजको हाम्रो भेट र यस बसाइले म अत्यन्त खुशी छु तर त्यसभन्दा बढी खुशी म यस मानेमा छु कि आज तपाईंको घरमा तपाईंको श्रीमती नहुनु पनि हो ।’ ‘किन, केभो र कविमित्र तपाईंलाई ? मेरी श्रीमती घरमा नहुँदा तपाई यसरी खुशी हुनुपर्ने ?’ उनी मलाई हेरेर बोल्छन् । ‘ल तपाई पनि ! तपाईकी श्रीमती यस समय यहाँ भएको भए हामी यसरी जम्ने थिएनौ नि, होइन र ?’ उनकी श्रीमती घरमा नहुँदा खुशी हुनुको रहस्य यसरी खोल्छु म । मेरो कुरामा उनले पनि सहमतिको टाउको हल्लाउँछन् र भित्तामा फ्रेमभित्र गुलाबी ओठ र मधुर मुस्कानमा आफुसँगै मुस्कुराइरहेकी आफ्नी श्रीमतीको तस्वीर नियाल्न थाल्छन् । उनीसँगै मैले पनि उक्त तस्वीर हेर्छु । अनेक कुराहरु मनमा खेल्न आइपुग्छन्, मन रोमाञ्चित भएर आउँछ ।

‘होइन तपाई त तस्वीर हेरेर हाँस्न पो थाल्नु भो ?’ अचानक राजेन्द्रको आवाजले झस्किँदै तस्वीरबाट आँखा हटाउन पुग्छु म । उनी मलाई हेर्दै पुनः बोल्छन्– ‘ल भन्नुस् तपाईंको जीवनमा यसरी युगल जोडीको तस्वीर भित्तामा सजाउने दिन कहिले आउँछ ?’ म मात्र उनलाई हेरिरहन्छु, केही बोल्न सक्दिन । ‘भन्नुस् न भन्नुस् कहिले आउँछ त्यो दिन ?’ ‘नाईं, अब कहिल्यै पनि आउँदैन ।’ ‘मतलब ?’ उनी छोटो प्रश्नमा उत्तर खोज्छन् । ‘यो जुनीमा म उनीसँगको तस्वीर यसरी फ्रेममा सजाउन सक्दिन तर मनको फ्रेमभित्र भने अहिले पनि सजाएको छु’ चुरोटको सर्को तान्दै म बोल्न पुग्छु । ‘के त्यसको कारण म जान्न सक्छु ?’ उनी मलाई हेरेरै प्रश्न गर्छन् ।
‘यिनको त बिहे भैसक्यो ।’
‘ओ गड…….’ भन्दै मेरो कुरापछि उनी केही भावुक बन्छन् र गिलास उठाएर पिउन थाल्छन् । उनीसँगै म पनि गिलास उठाइदिन्छु । केही समयसम्म हामी मौन रहन्छौं । धेरैसमयसम्म म उनलाई हेर्न सक्दिन । ‘केही छैन, उनी नभएर केभो र ? अरुले पनि साथ दिन्छन् नि त तपाइँलाई ।’ उनी मलाई सान्त्वना दिलाउने प्रयास गर्छन् । म शिर उठाएर उनलाई हेर्छु । उनी मलाई नै हेरिरहेका थिए । पुनः उनी बोल्छन्– ‘मेरो कुराले तपाईंलाई चोट पुगेको भए माफी चाहन्छु । अब छोडेर जानेको बाटो हेरेर पनि त बस्नु भएन नि विगत भूलेर वर्तमान बनाउनतर्फ लाग्नुपर्छ ।’ उनी यसबीचमा केके बोलिरहन्छन् तर म भने गिलास रित्याउनतर्फ लाग्छु । यसबीचमा उनले मलाई एकपटक भनेका पनि हु्न्छन्– ‘के म जान्न सक्छु जीवनको यस यात्रामा तपाईंलाई एक्लै छाडेर आफु मात्रै रमाउन सक्ने मान्छे को हो भनेर ?’ ‘हो सक्नुहुन्छ तर तपाई पत्याउनुहुन्न ।’ धेरै समयदेखि चुपचाप म केही चर्को र केही आक्रोशको भावमा बोल्छु ।

‘किन नपत्याउनु, म पत्याउँछु तर तपाईंले मलाई विश्वास गरी बताउनुभयो भने मात्र’ उनी म भित्रको रहस्य यसैगरी खोतलिरहन्छन् । म आफुलाई खोल्दै जान्छु । ‘तर तपाईंले एउटा बाचा गर्नुपर्छ ।’ म उनलाई बाचाभित्र पार्न चाहन्छु । ‘कस्तो बाचा ? उनी प्रश्न गर्छन् ।’ ‘मैले भनेका कुराहरु उनलाई भन्नुहुने छैन र मेरो बारेमा उनलाई केही बताउनुहुने छैन ।’

‘कसैलाई केही बताउनेछैन मैले ?’ उनले आफुले बाचा बाँध्नुको अर्थ र व्यक्ति खोज्छन् । ‘हो म भन्ने नै छु तर पहिलो बाचा बाँध्नुपर्ने हुन्छ । मञ्जुर……….?’

‘मञ्जुर’ उनी मतर्फ आफ्नो हात बढाउँदै बोल्छन् । मपनि उनको हातमाथि आफ्नो हात राख्दै बोल्छु– ‘तपाईंले आफ्नो श्रीमतीलाई मेरो बारेमा केही बताउनुहुनेछैन, केही सोध्नुहुनेछैन ।’ अकस्मात् उनको मुखबाट हाँसो गुञ्जिन्छ । मेरो हातबाट आफ्नो हात छुटाएर बाँकी रहेको गिलास रित्याउँदै बोल्छन्– ‘अलि जेन्टल बन्नुस न यार ! तपाईंका बारेमा मैले मेरी श्रीमतीसँग भन्नैपर्ने कारण नै के छ र ? लौ तपाईं भन्नुहुन्छ भने म त्यो पनि मान्न तयार छु कि कुनै दिन कुनै समय म मेरी श्रीमतीसँग तपाईंको बारेमा बोल्ने छैन ।’ उनले यसो भनिरहँदा म भने भित्तामा फ्रेमभित्र सजिएको उनकै श्रीमतीको तस्वीरलाई नियाल्न पुग्छु । केही समयसम्म उक्त तस्वीर हेरिरहन्छु र राजेन्द्रतर्फ फर्किन्छु । उनी पनि मलाई नै हेरिरहेका थिए । बोल्छन्– ‘तपाई पटकपटक त्यो तस्वीर हेर्दै हुनुहुन्छ । म देखिरहेछु तपाईं यस कोठाभित्र प्रवेश गरेपश्चात् हरेक समय त्यही तस्वीर हेरिरहनुभएको छ । त्यस तस्वीरसँग तपाईंको के सम्बन्ध छ ? मलाई नढाँटी बताउनुस् ।’ यति भनेर राजेन्द्र चुरोटको सर्को तानेर मेरो जवाफको प्रतिक्षामा हुन्छन् । अब मैले उनीसँग सत्य कुरा लुकाउने अवस्था नै रहँदैन । ‘हो राजेन्द्र जी, यस तस्वीरसँग नभएर तस्वीरको व्यक्तिसँग एउटा सिङ्गो जीवनको सम्बन्ध थियो तर अहिले आएर त्यो सम्बन्ध भावनामा सीमित भएको छ । कल्पनामा सीमित भएको छ ।’ त्यतिबेला हातमा रहेको चुरोटको सर्को तानेर धुँवा उडाउँदै पुनः बोल्छु–‘तपाईंले मसँग पटकपटक जसका बारेमा जान्न चाहनुभयो त्यो व्यक्ति पनि त्यही हो जसको आजसम्म पनि म पुजारी बनेको छु।’

‘होइन, तपाई के भन्दै हुनुहुन्छ ?’ म बोल्दै गर्दा बीचैमा उनी मलाई प्रश्न गर्छन् । ‘हो राजेन्द्र जी आज म सत्य भन्दै छु । मलाई यो अवस्थासम्म ल्याइपुरयाउने व्यक्ति तपाईकी श्रीमती हुन् । हो, बारम्बार तपाईंले सोध्ने गरेकी मेरी प्रेमिका तपाई कि स्वास्नी हुन् ।’ यस बीचमा म निकैबेर बोलिरहें र उनी श्रोता बनेर सुनिरहे । त्यसपछि उनको मुखबाट कुनै शब्द झरेन अथवा उनी केही बोलेनन् । त्यतिबेलासम्म हाम्रो अगाडिका सबै गिलासहरु पनि रित्तिसकेका थिए । बाँकी हातमा एउटा चुरोटको खिल्ली सल्किरहेको थियो । म विस्तारै त्यहाँबाट उठेर ढोकानिर पुगी फर्केर उनलाई हेर्छु । उनी भित्ताको फ्रेमभित्र सजिएको आफ्नो युगल जोडीको तस्वीर एकोहोरो भई हेरिरहेका थिए । अब मलाई उनीसँग त्यहाँ बस्न मन लाग्दैन । विस्तारै ढोकाबाट बाहिर आफ्नो पाइला बढाउँछु । बाहिर चिसो र अँध्यारो बढ्दै थियो । ***

 

– पर्वत, हाल म्याग्दी 

तपाईको प्रतिक्रिया