सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
sherनुवाकोट- नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुको सहमतिको खाकालाई अस्वीकार गर्दै देशलाई अन्योल र अनिश्चितताको भूमरीतर्फ धकेलेको बताउनुभएको छ ।
रसुवातर्फ जानेक्रममा सोमवार विदुरस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आउनुभएका नेता देउवाले स्थानीय कार्यकर्तासँगको छलफलमा भन्नुभयो ‘सहमतिबिना कुनै पनि निकासको सम्भावना नभएको बेलामा प्रधानमन्त्रीले मुलुकलाई संवैधानिक रिक्ततातर्फ धकेलिरहनु भएको छ ।’
उहाँले मुलुकलाई सहमति र सहकार्य आवश्यक भएको सन्दर्भमा दलहरुको आग्रह र स्वयम् एमाओवादी पार्टीको आग्रहलाई प्रधानमन्त्री भट्टराईले स्वीकार गरेको खण्डमा समस्याले समाधानको बाटो समाउने बताउनुभयो ।
सबै मिलेर गणतन्त्रलाई संस्थागत गर्ने समयमा प्रधानमन्त्रीले पनि आफ्नै ढिपीमा सत्तामा टाँसिदा गणतन्त्रिक यात्रा कमजोर बन्दै गएको नेता देउवाको भनाइ थियो ।
उहाँले राजनीतिक अस्थिरताले मुलुकलाई झन् धरासायी बनाउने भएकाले राजनीतिक स्थिरताका लागि सहमतिको विकल्प छैन भन्नुभयो ।
तोकिएको समयमा निर्वाचन नगर्ने हो भने लोकतान्त्रिक पद्धति नै अन्योलमा पर्ने भएकाले तत्काल दलहरुसँग सहमति गरेर अब आउने वैशाखमा निर्वाचन गर्नका लागि प्रधानमन्त्रीले बाटो खुला गर्नुपर्नेमा नेता देउवाले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया