Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

 नेपाल बहु जाति, बहु संस्कृति र बहुभाषी राष्ट्र भनेर विश्व मानचित्रमा पृथक पहिचान बनाउन सफल भएको छ | ४८.६१ प्रतिशत नेपाली जनताको मातृभाषा र ८७ प्रतिशत नेपाली जनताको साझा सम्पर्कको माध्यम बनेको नेपाली भाषा हामी सबैको ढुकढुकी हो | धेरै लामो समय देखि सरकारी कामकाजमा प्रयुक्त यो नेपाली भाषाले नेपालीहरू बिच आपसमा भावनात्मक एकताको सूत्रमा बांधेको छ | नेपाली भाषा एक अन्तर्राष्ट्रिय भाषा बन्न पुगिसकेको छ | भारतमा समेत राष्ट्रिय भाषाको रूपमा स्वीकृत भै सकेको हुनाले यो भाषा एक जीवन्त भाषा हो । यसलाई बिभिन्न खस, पर्वते, सिञ्जाली तथा गोरखा भाषा नामले पनि चिनिन्छ । सत्रौं शताब्दी पूर्वदेखि नेपाल बाहिर फैलिएको नेपाली भाषा र साहित्य एसिया महाद्वीपको जिउँदो र शक्तिशाली सामाजिक सम्पति भएको छ ।

पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे जस्तै भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तले नेपाली भाषामा दिएको योगदानको कारण नै विश्वभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सम्भव भएको छ । नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्’ भनि लेखनाथ पौडेलले भन्नुभएको थियो । पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेको पछिल्लो वर्ष बालाजुमा एक बृहत कवि सम्मेलन गराएका थिए । यसबाट के पुष्टी हुन्छ भने साझा फुलावारिका माली पृथ्वीनारायण शाह भाषाप्रति धेरै चिन्तनशील थिए । ऐतिहासिक उक्त कबि सम्मेलनद्वारा भाषा तथा साहित्यको श्रीबृध्दी हुन् सकोस भन्ने हेतु तत्कालिन समयका प्रसिद्ध कबि तथा साहित्यकारहरु काशी, अयोध्या, काश्मीर, गुजरात, मध्यदेश, महाराष्ट्र, मिथिला र गोर्खा दरबारका ७३ गरी ८७ जना कविहरूले भाग लिएका थिए । केहि कबिहरुलाई सम्मानार्थ नगद पुरस्कारको समेत प्रदान गर्नुभएको थियो भने यस अर्थमा नेपाल एकिकरणका पिताले दुखले आर्ज्याको यो मुलुकमा चौबिसे र बाईसे राज्यलाई मात्र एकत्रित नगरी भाषाप्रति गर्नुभएको योगदान हामी कसैले पनि भुल्नुहुदैन । त्यसैले हामी हाम्रो भाषाप्रति गर्व गर्दछौ किनभने यसले हाम्रो शान बढाएको छ । हाम्रो अस्तित्वलाई जोगाईरहेको छ । पृथ्वीनारायण शाहले नेपाली भाषाको श्री गणेश नगरीदिएको भए हामी सबै असहज परिस्थितिबाट गुज्रने थियौ । कुर्सी र सत्ताको मोहको लुछाचुडी भन्दा केवल भाषा कै लागि युद्दभूमिमा उत्रनुपर्ने थियो । अनिश्चितताको भुमरी र धमलिएको वातावरणमा नेपालीहरुको दिनचर्या व्यतित हुने थियो । र त्यस्तो अवस्था भै दिएको खण्डमा उपनिवेश भएका मुलुक जस्तै अन्य राष्ट्रको भाषा बोल्न हामी बाध्य हुनेथियौ ।

नेपालभरि र हाल विश्वभरि छरिएर रहेका तमाम नेपालीहरुको बुझ्ने भाषा नेपाली नै रहेको तथ्य सर्वविदित छ । परदेशमा पुगेको एउटा तामांग नेपालीले नेवार नेपालीसँग कुरा गर्न नेपाली भाषाकै प्रयोग गर्नुपर्छ । नेपालीले अर्को नेपालीसँग कुरा गर्ने गर्ने माध्यम नेपाली भाषा नै हुन्छ । यसले हाम्रो राष्ट्रियतालाई मजबुत बनाएको हुन्छ । त्यसैले नेपाली भाषाप्रति अनास्थाको भ्रम फैलाउनु आफ्नै पहिचानलाई अवमूल्यन गर्नु हो । हामी सबै नेपालीका आ-आफ्ना मातृभाषा छन् । सबै मातृभाषाको सम्बर्धन र प्रयोग बढाउनुपर्दछ र यो हाम्रो जिम्मेबारी पनि हो । भाषाप्रति कसैले पनि वैरभाव किमार्थ राख्नुहुंदैन । एकले अर्काको भाषा एवं साहित्यको सम्मान गर्न सिक्नुपर्छ । आधिकारिक भाषाको ज्ञान राख्नु अझ उत्तम हुन्छ । भाषा शब्द, आकाश तथा ब्रहमाण्ड, पशुपंक्षी चराचर जगत्मा सञ्चारित छ । नेपालीभन्दा धेरै पुरानो झण्डै करिब ४० करोड प्रयोक्ता भएको हिन्दीमा संस्कृतका वाणी, संकेत, हिज्जे अझ यथावत् रुपमा सुरक्षित छन् र उनीहरूलाई बदल्नुपर्ने आवश्यक परेन। तर हाम्रा गुरुहरूले चार दशकभित्र तीनपल्ट भाषा बदलिएका छन् । भाषालाई राजनीतिकरुपले कदापि हेर्नुहुन्न । वर्तमान अवस्थामा नेपालका नेताहरूले जात, धर्म, भाषा र क्षेत्रको नारा दिएर राजनीति गरि भाषामा हिलो छ्याप्ने काम गरिरहेका छन् ।

हाम्रो छिमेकी मुलक पाकिस्तानमा बहुसङ्ख्यक मातृभाषी पन्जाबी र सिन्धी भाषी भए पनि उर्दु भाषालाई राष्ट्रभाषा मानेको छ । इन्डोनेसियामा साझा सम्पर्कको भाषा भएको हुँदा बहासा भाषालाई राष्ट्रभाषा मानेको पाइन्छ । भारतले हिन्दी भाषालाई राष्ट्रभाषा माने पनि अंग्रेजीलाई पनि सह-सम्पर्क भाषालाई स्वीकारेको छ।विश्वका केहि मुलकमा एकभन्दा बढी भाषालाई राष्ट्रभाषाको मान्यता पनि दिइएको छ । उत्तर अमरिकाको क्यानाडामा अंग्रेजी र फ्रेन्च भाषाले मान्यता पाए पनि अंग्रेजी भाषाकै व्यापक प्रयोग पाइन्छ । यी सबैको अध्ययन र स्थिति हेर्दा राष्ट्रभाषा भनेको मूलतः त्यस राष्ट्रका बासिन्दाहरू बिच विचार विमर्शका लागि बढी सरल र सक्षम भाषा हुनुपर्ने बुझिन्छ । पूर्वी पाकिस्तानका बंगाली भाषीहरू अन्तत: भाषिक आन्दोलनकै कारण बंगलादेश स्थापना हुन पुग्यो ।

एक भाषाले अर्को भाषालाई घृणाको दृष्टिले होइन, सम्मान दिन सिक्नुपर्छ । भाषिक सम्मान सभ्यताको परिचय हो । विश्वमा अस्तित्वमा रहेका ६ हजार भाषामध्ये अहिले ३ हजारमात्र अस्तित्वमा छन् । हामीले हाम्रो भाषाप्रति ऐक्यबद्दता देखाउनुपर्दछ । स्वीट्जरल्यान्डको संसदमा केही सांसदहरू फ्रेन्च भाषामा बोल्छन्, तर त्यसको अर्थ स्वीस भाषाको घृणाका दृष्टिकोणले हेरिदैन । भाषिक अपनत्वमा मात्र जोड दिने राष्ट्रहरु विकासमा पछाडि परेका हामीसंग प्रशस्त उदाहरण छन् । केन्यामा स्वाहिली भन्ने प्रमुख भाषा छंदाछंदै त्यसलाई प्रचलनमा नल्याई ५ कक्षासम्म स्थानीय, जातीय भाषामा शिक्षा दिने नीति बनाइयो, तर तान्जानियाले यस्तो भाषिक संर्कीणतालाई किनारा लगाउदै जनजिब्रोमा अत्यधिक प्रचलित भाषालाई उच्च स्थान दियो । जसको परिणाम केन्याको विकास र क्षमता अभिवृद्धि तान्जानियाको तुलनामा धेरै पछाडि परयो । नेपाली भाषाले गरेको उन्नतिलाई पाखा लगाउने सोच राख्नु कदापी स्वीकार्य नहुन सक्दछ ।  हजारौं वर्षदेखि संस्कृत व्याकरण अटल र स्थिर रहेको देखेका छौं । युरोपमा बोलिने जर्मनी, रूसी, फ्रेन्च लगायतका भाषाहरूको जननी भाषा संस्कृत हो । संस्कृत भाषा स्थिर भएता पनि त्यसका सन्तानहरू गतिशील हुन पुगेका छन् । संस्कृत नेपाली भाषाको जननी नै हो । नेपाली भाषा संस्कृतसंग नजिकको साईनो मात्र हैन । सरल, गतिशील र इतिहासमा असाध्य द्रुतगतिमा विकास भएको भाषा छ । ११औं शताब्दीमा अस्तित्वमा आएको यो भाषा नेपालपछि भारतमा बढी बोलिने गरिन्छ ।

भानुभक्तको बाल्यकालिन समयमा नेपालमा अत्यधिकरुपमा संस्कृत भाषाको प्रयोग र संस्कृत भाषाकै बोलबाला थियो । संस्कृत भाषाको तुलनामा नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । भानुभक्तले आफ्नो मातृभाषा तथा नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । सानैदेखि कविता लेख्ने भएकोले नेपाली भाषाको कवितामा बोल्थे र कवितामा गाउँथे यसरि नेपाली भाषालाई जीवन्त दिने काम भानुभक्तले गरे । भानुभक्तलाई कांधमा बोकी मोतीराम भट्ट पनि आफै पनि चम्किए । भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखे ।

नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि संस्कृतको पुराणहरू नै पढिन्थ्यो । त्यसबेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तले नेपालीमा रामायण लेखेपछि सबैका घरघरमा रामायण राखिन थालियो । सबै महिला, पुरुष र जातजाति सबैले समानरूपमा रामायण पढ्ने अवसर पाए । भानुभक्तको रामायणले देश देशान्तरमा प्रसिद्धि कमाउन थाल्यो किनभने नेपालीमा सबैलाई सरल भयो । भाषा रहे हाम्रो अस्तित्व रहने र भाषा नरहे हाम्रो पहिचान गुम्ने हुन्छ ।  हाम्रा नयां पिढीहरु यस बिषयमा गम्भीर हुन आवश्यक छ ।

भानुभक्त, मोतीराम र पृथ्वीनारायण शाहले नेपाली भाषाप्रति देखाएको श्रद्धा, चिन्तन र दर्शनलाई हामी र हाम्रा पिढीले संरक्षण गर्नुपर्दछ l हाम्रो भाषा हामी सबैको प्रतिष्ठा र गौरब हो l सबैले नेपालीले यसको मर्म र भावना बुझ्न सके हाम्रो भाषा पतन हुनबाट जोगिन्छ र हाम्रो पहिचान कालजयी हुने हुने छ । ***

(भर्जिनिया अमेरिकामा बस्दै आएका लेखक थापा नेपाली भाषाको संरक्षण तथा संबर्धनका लागि निरन्तर कलम चलाईरहने एक  सक्रिय साधक हुन)  

तपाईको प्रतिक्रिया