ब्रुनाई – भाषा हराए लिपी हराउछ, लिपी हराए साहित्य हराउंछ, साहित्य हराए संस्कार संस्कृति हराउछ, संस्कार संस्कृति हराए धर्म हराउछ, धर्म हराए आफै हराउंछौ भन्ने उपदेश दिनुहुने महागुरु फाल्गुनन्द र प्रथम किरात राजा यलम्बरको फोटोमा पुजा गरी ब्रुनाईमा रहेका नेपालीहरुले किरात उधौली चाड भब्यतापूर्वक मनाएका छन् ।
खोलाको पानी सुक्न थालेपछि माछा उधो नदीतर्फ लाग्ने गर्दछ, त्यहि उधो लागेको समयमा मनाइने चाडलाई नै उधौली भनिन्छ । प्रत्येक बर्षको मंसिर पूर्णिमाको दिनलाई उधौली चाड मनाउने चलन छ भने अनुकुलता हेरी अघिपछि पनि मनाउने गरिन्छ । ब्रुनाईमा रहेकाहरुले केहीहप्ता बाँकी रहदै यसबर्षको उधौली चाड मनाएका हुन । प्रकृतिपुजक किरातजन्य राई, लिम्बु, सुनुवार र याख्खा जातिहरुको अत्यधिक सहभागितामा यसवर्षको न्वागी पुजा अर्थात उधौली चाड सम्पन्न भयो ।
समारोहमा उपस्थित मध्येका सबैभन्दा ज्येष्ठ डम्बरबहादुर थेवेले पानसमा बत्ति सल्काई झ्याम्टा बजाएर उद्घाटन गर्नुभएको थियो । त्यसको लगतै आआफ्नो जातिले कसरी यो चाड कसरी मनाइन्छ भन्नेबारे राईहरुको तर्फबाट किसन राई, सुनुवारको तर्फबाट तरुण सुनुवार, याख्खाको तर्फबाट मदन जिमी र लिम्बुको तर्फबाट संस्कृतिविद् गोपीलाल लिम्बुले बोल्नु भएको थियो ।
आमन्त्रित अतिथिहरुको तर्फबाट श्रीमति शोभिता शाहीले बोल्नु भएको थियो भने क्याप्टेन बद्रिकुमार राईले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो । उपस्थित सबैले धित् मरुन्जेल च्याब्रुङ र साकेला सेली नाचेका थिए ।
साकेला/सान्केवा
किरात राई जातिको मौलिक साँस्कृतिक नाच साकेलामा झ्याम्टा, ढोल, सिरिलिङे, सेउली, चमर सहित सयौले शिली नाचेका थिए । शिलीमा प्रेमप्रकाश राई, दिपप्रकाश राई, गणेश राई, रन्जना राई, सुमित्रा राई, पुष्पा राई, गीता राई, सपना राई, परिवर्तन राई, शिवाहाँङ राई, निरन राई लगायत रहनु भएको थियो । अत्यधिक सहभागिताको कारण नृत्यस्थलनै बदल्नु परेको थियो । नेपालबाट भ्रमणमा ब्रुनाई आउनु भएका बृद्धा आमा बुबाले समेत दिलखोलेरै नाच्नुभएको थियो । युवा पुस्ताहरुको बढ्दो आकर्षणले साकेला नृत्यको माहौल नै बेग्लै बनेको थियो ।
च्याब्रुङ नृत्य
किरात लिम्बु जातिको मौलिक साँस्कृतिक च्याब्रुङ नृत्यमा डेढदर्जन च्याब्रुङहरु समाविष्ट भएका थिए भने नृत्यमा लोकबहादुर लिम्बु, चन्द्रकुमार आङबुहाँङ, दीपेन्द्र कन्दङवा, हर्क थेवे, जिबन कुमारी लिम्बु, शर्मिला इमसङ, सविता लिम्बु, कमला लिम्बु, दिपा (योङया) लिम्बु, कल्पना लोकसम, यमुना (वनेम) लावती रहनु भएको थियो । उक्त च्याब्रुङ नृत्यको संयोजन गीतकार सन्तकुमार आङदेम्बेले गर्नुभएको थियो । त्यस्तैगरि लक्ष्मी (फियाक) आङदेम्बे, दिपा लिम्बुराई, लिला लिम्बु लगायत सयौका सहभागिता रहेको थियो । नयाँ पुस्ताका मेधावी लिम्बु, कल्पना तिगेला, शिला आङदेम्बे, मलियना तिगेला, मुक्कुम खजुम, दिक्षा लिम्बु र सृष्टि देवानले अत्यन्तै उत्साहपूर्वक च्याब्रुङ नाचेर सबैलाई हौसला प्रदान गरि अझ रोचक बनाएका थिए । लामबद्ध नाचिने च्याब्रुङमा एकसाथ १०५ भन्दा बढि सहभागीहरुको कारण नृत्यस्थल साँघुरो बनेको थियो भने दिउसो ३ बजेदेखि लगातार रातको १० बजे सम्म धित्मरुन्जेल नाचेका थिए । लिम्बु परम्पराको भेषभुषामा सजिएका लिम्बु दिदीबहिनीहरुको सहभागिताले माहौल साच्चै नै रमाइलो बनेको थियो ।
डोकेनी नाच
किरात याख्खा जातिहरुको परम्परागत मौलिक नृत्य डोकेनी नाचले सबैलाई मनोरन्जन प्रदान गरेको थियो । याख्खा जातिको इतिहास संग सम्बन्धित यस नाचमा नेत्र लिम्बुखिम, मदन जिमी लगायतले प्रस्तुत गर्नुभएको थियो ।
खेलकुद प्रतियोगिता
परम्परागत खेलकुद धनुषकाँड र छेलो प्रतियोगितामा पनि अन्यन्तै रुचीका साथ धेरैले सहभागिता जनाएका थिए । धनुषकाँड प्रतियोगितामा राजेश चोङवाङ प्रथम र तरुण सुनुवार दोस्रो बनेका थिए । त्यस्तैगरि छेलो प्रतियोगितामा धिरज राई प्रथम बनेका थिए । विजेताहरुलाई खादा र सेतो फेटा गुठाई सम्मान गरिएको थियो साथै धनुषकाँङमा विजयीलाई सानो धनुषकाँङ पुरस्कार प्रदान गरिएको थियो । खेलकुद प्रतियोगितालाई मदन जिमी र सन्जीव राईले कुशलतापूर्वक संचालन गरेका थिए ।
परम्परागत खानपीन
किरातजन्य खानाहरु आगन्तुकहरुलाई चाख्न लगाइएको थियो । परम्परागत याङवेन, किनिमा, गुन्द्रुक, सुकुटी, मोःमो लगायत अत्यन्तै लोकप्रिय तोङ्बाको पनि ब्यवस्था गरिएको थियो । काँचो बाँस काटेर बनाइएको तोङबा र केराको पातको छोपनीले साच्चै नै गाँउघरको झल्को दिएको थियो । आमन्त्रित पाहुना बाहेक सबैले इच्छाए अनुसार किनीखाने राम्रो ब्यवस्था गरिएको थियो । खानपीनको लागि डम्बर खजुम, जितेन्द्र चेम्जोङ, यमुना सुनुवार, संगीता राई लगायत क्रियाशिल रहनुभएको थियो ।
खानपीन बनाउनको लागि आआफ्नो समुदायलाई जिम्मेवारी तोकिएको थियो । किरात सुनुवार समाजलाई मोःमो, किरात राई यायोख्खालाई ड्रिङस, याख्खा समाजलाई सेलरोटि र लिम्बु समाजलाई तोङ्बाको जिम्मा दिइएको थियो ।
भेषभुषाः
आफ्नो भाषा, साहित्य र संस्कृति प्राण भन्दा प्यारो हुन्छ भन्नेकुरा यसपटकको यो भेलाले पुष्टि गरेको छ । राई, लिम्बु, याख्खा र सुनुवारहरुले आआफ्नो जातिय पोषाक लगाउदा सहभागीहरु सबै अत्यन्तै सुन्दर देखिएका थिए । नयाँ पुस्ताहरु पनि आआफ्नो पोषाक तथा गरगहना प्रति आकर्षित हुदै गएको कुरालाई ख्याल गर्दै प्रत्येक जातिबाट छनौट गरि पुरस्कृत गरिएको थियो । सुनुवार जाति मध्येबाट उत्कृष्ट मौलिक पोषाकमा सविना सुनुवार, राई जातिको मौलिक पोषाकमा पुष्पा राई, याख्खा जातिको मौलिक पोषाकमा दिपा याख्खा र लिम्बु जातिको मौलिक पोषाकमा कल्पना मादेन पुरस्कृत हुनुभयो । पुरस्कृतहरुले स्तरिय सारी प्राप्त गरेका थिए भने उक्त पुरस्कारहरु मध्ये २ वटा सारी एचटुफियुजनका दिप्तिया चाम्लिङ र सपना राईले १ वटा सारी स्पोन्सर गर्नुभएको थियो भने बाँकी आयोजकले ब्यवस्था गरेको थियो ।
राफल ड्र
यस बर्षको आकर्षण तथा चर्चाको विषय राफल ड्र पनि रहेको थियो । पहिलो, दोस्रो र तेस्रोलाई सुन पुरस्कारको ब्यवस्था गरिएको थियो । श्रीमति यमुना लावती उक्त आधा तोला सुन रहेको प्रथम पुरस्कार जित्ने भाग्यमानी बन्नुभएको थियो । उक्त राफल ड्रको लागि वालि सुनपसल सेरियाले ह्वाइट सुनको स्पोन्सर गर्नुभएको थियो भने रामधानी सप लगायतले पनि सहयोग गर्नुभएको थियो ।
गीतसंगीत
विभिन्न पुस्तकहरुमा लिम्बु, राई, सुनुवार, जिरेल, सुरेल, धिमाल, याख्खा लगायत मगर, गुरुङलाई पनि किरात सन्तान भनिएको छ यद्यपी राई, लिम्बु, याख्खा र सुनुवार जातिहरु मुख्यतया आफू किरात भएको दावी गर्छन । उनीहरुको आआफ्नै भाषा रहेको छ, विल्कुलै फरक संस्कारहरु रहेकाछन् त्यसैले कार्यक्रम अवधिभर सबै जातिको आआफ्नो भाषाका गीतहरु बजाईएको थियो । आदीवासीहरुको राष्ट्रिय गाना तथा किरात उत्थानका गीतहरु गुन्जयमान भएको थियो । सबैलाई सुविधाहोस भनेर किरातडटअर्ग धधध।पष्चबत।यचन मा डाउनलोड गर्ने सुविधा पनि रहेको कुरा आयोजकले बताउएका छन् ।
यस भब्य समारोहको अभिभावकत्व क्याप्टेन काजीमान लिम्बु एम.सी. ले गर्नुभएको थियो भने कार्यक्रमको संचालन तथा सम्पर्क संयोजन विश्वासदीप तिगेलाले गरेका थिए । कार्यक्रममा लगभग ४ सय सहभागि थिए । ब्रुनाईमा उधौली चाड मनाइएको यो तेस्रो बर्ष हो भने यसबर्षको मंसिर पूर्णिमा आउदो डिसेम्बर २८ तारिख पर्दछ । ***