दोहा – आप्रवासी कामदारको मामलामा विशेष दखल राख्ने बिघटित संविधानसभाकी पूर्व सभासद तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को गवर्निङ वडीकि डिपुटी मेम्वर विन्दा पाण्डेसंग गैरआवासीय नेपाली संघ, दोहा च्याप्टरले विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ कतारका कार्यबाहक अध्यक्ष गुरुनारायण रानाभाटको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कतारका विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
परिचायत्मक कार्यक्रम समापन पछि आप्रवासनको हकका बारेमा आइएलओको के कस्ता कार्य योजना रहेको छ भन्ने मुख्य विषयबस्तु लगायत कतारमा कार्यरत नेपाली श्रमिकको अवस्थाको बारेमा पनि उपस्थित थुप्रैले पाण्डे समक्ष आफ्नो धारणा र जिज्ञासा राखेका थिए। गैरआवासीय नेपाली संघका सचिव विनोद भट्टराईले कतारमा कार्यरत नेपाली श्रमिकको विभिन्न समस्या सहितको संलग्न अवधारणापत्र पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो।
उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद गल्फ संयोजक नरेन्द्र भाटले कतारमा बिद्यमान श्रमिकको समस्याको समाधानको लागि अरु कसैले गरेर नभईकन नेपाल सरकारले कतार सरकारको सम्बन्धित निकायसंग प्रत्यक्ष सरोकार राखी अगाडि बढ्न सकेमा मात्र समस्यामा निदान तथा न्युनीकरण आउने कुरा बताउनुभयो। एनआरएन कतारको स्थापनाकालदेखि नै श्रमिकका समस्यासंग सम्बन्धित मुध्दाहरुसंग जोडिएको अवधारणा पत्र नेपालबाट आउने बैचारिक संस्थाका प्रतिनिधी, श्रम, परराष्ट्र र बैदेशिक रोजगार प्रर्बधन बोर्ड, तथा बैदेशिक रोजगार व्यवशायी संघका प्रतिनिधीहरु कतार उपस्थितीको समयमा धेरै पटक बुझाईसकेको पनि जानकारी दिनुभयो।
एनआरएन सल्लाहकार विमल सुवेदीले कतारमा मानसिक तनावको कारणले आत्महत्या वरण गर्न पुगेका मृतकका आश्रित परिवारलाई सरकारले विशेष राहत प्रदान गरिने प्रचलनको थालनी गरिनुपर्ने अनिवार्यता दर्शाउनुभयो। त्यस्तै गरी नेपाली जनसम्पर्क समितीका महामन्त्री करीम बक्स मियाँले अवसर र चुनौती दुवै रहेको कतारमा श्रमिकले भोग्दै आएको समस्या र त्यसको निर्मूलीकरणको लागि समाधानको बाटो समेत विगतमा उपस्थित सम्बन्धित निकायका सबैलाई बुझाउँदै आएपनि यस बारेमा पहलकदमी नभएकोले निरर्थक सावित भएको जानकारी गराउनु भयो। समस्याको बारेमा बताउँदै मियाँले नेपालबाट रोजगारको क्रममा आउनु पुर्व नै ज्ञान र चेतनाको विकास गरिनुपर्ने कुरामा जोड दिनुभयो। एनआरएन ओमनका सचिव दिपक खड्काले खाडी राष्ट्र र त्यसमा पनि ओमनामा नेपाली घरेलु महिला कामदारको दारुण अवस्थामा जानकारी गराउँदै त्यस समस्या समाधानको लागि पहिले त ओमानमा दूतावास खोलिनुपर्ने कुरा सुझाउनु भयो। ३० बर्ष माथिका नेपाली महिलाहरुलाई मात्र हाउसमेड काममा जान पाउने कानूनी प्रावधान गरिएपनि अनियमित तरिकाले महिला कामदार लगायत अन्य कामदारहरुलाई विदेश पठाउने प्रचलनमा तदारुकताको साथ रोक लगाईएमा यसबाट धेरै राहत महसुस गर्ने थिए भन्ने खड्काको सुझाव थियो।
सरकार, श्रमिक र व्यवसायीहरुको प्रत्यक्ष संलग्नता रहने अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नितान्त श्रमिकहरुको मुध्दालाई केलाएर कानूनी अधिकार अनुरुप फरफारक गर्ने हेतुले गठित यस संगठनले कतारको मुध्दालाई पनि समेट्न सक्ने र आफुले यस्ता कुराहरुलाई सम्बन्धित निकायमा जाहेर गर्ने सदस्य पाण्डेको अभिब्यक्ति रहेको थियो।
सम्बन्धित पक्षले समाधान गर्न नसकेको यस्तो मुध्दालाई नेपाल ट्रेड युनियन महासंघ मार्फत आईएलओ समक्ष राख्न सकिने कुरामा विश्वस्त हुन उहाँले अनुरोध गर्नु भयो। यस मुध्दालाई अन्तर्राष्ट्रियकरण गरी अधिकार प्राप्त गर्नको लागि यसको जिम्मेवारी लिन पनि हामी तयार हुने कि नहुने भन्ने अर्को प्रश्न खडा हुन्छ, उहाँले भन्नुभयो। अर्थात् नेपालीहरुले अन्तर्राष्ट्रिय श्रम अधिकार अनुसारको सेवा सुविधा लिने क्रममा यसरी अघि बढ्दा सम्बन्धित देशले नेपाली कामदारको संख्यामा कटौती गरिदिने पो हो कि ? यो अर्को विषम अवस्था आउन सक्ने अवस्था पनि जाहेर गर्नुभयो। २०२२ मा कतारमा हुन गईरहेको विश्व कप फुटबल खेलमा यदि कतारले श्रमिकहरुले पाउने सेवा सुविधा अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको छ कि छैन अन्य निर्माण कार्यहरु सोही मापदण्ड भित्र पुरा गरेको छ कि छैन र यदि ति कुराहरुमा सम्बन्धित देशले पुरा नगरेको खण्डमा अर्थात् अस्वीकार गरेको खण्डमा फिफालाई आईएलओले सो मापदण्ड पुरा गर्न जोड दिने र यदि त्यसो हुन नसकेमा फिफा मार्फत नै विश्वकप खेल सम्बन्धित देशलाई हुन दिने कि नदिने भन्ने निर्णय फिफाले गर्ने पनि पाण्डेले बताउनुभयो।
उक्त अवसरमा कार्यक्रमको अवधारणापत्र गैरआवासीय नेपाली संघ दोहा च्याप्टरका सचिव विनोद भट्टराईले पढेर सुनाउनु भएकोथियो। ***