सउल – नेपाली दूतावास, नेपाल आदिवासी जनजाती महासंघ र नेवाः पुचः दक्षिण कोरियाको संयुक्त आयोजनामा कोरियामा गत आइतवार बिभिन्न कार्यक्रमहरुका साथ नेपाल सम्बतको नयां बर्ष मनाईएको छ ।
दुई चरणमा बाँडिएको सो कार्यक्रममा पहिलो चरणलाई नेपालसम्बत शुभकामना कार्यक्रम नामकरण गरिएको थियो भने दोस्रो चरणलाई दिपक बज्राचार्य लाईभ कन्सर्ट इन सउल नामाकरण गरिएको थियो । पहिलो चरणको कार्यक्रममा नेपालको ऐतिहासिक जात्रा-इन्द्रजात्रामा मात्र देखाईने कुमारीको खतयात्रा र मजिपा लाखेनाचको साथमा नेपाल सम्बतको बिषयमा चर्चा परिचर्चा तथा शुभकामना आदानप्रदान गरिएको थियो । दर्शकहरुले एउटा नौलो प्रस्तुति भन्दै तारिफ गर्दै हेरिरहेका थिए ।
दोश्रो चरणमा नेपाल सम्बतको उपलक्ष्यमा नेवाः पुचःद्वारा आयोजित दिपक बज्राचार्य लाईभ कन्सर्टमा दिपक बज्राचार्यले ओ अमिरा, ऋतु, काली काली हिस्सी परेकी, कति बस्छौ माईतीघरमा लगायत थुप्रै लोकप्रिय गीतहरु दर्शकहरु माझ प्रस्तुत गरेका थिए । उनका प्रत्येक गीतमा दर्शकहरुले गुन्गुनाउदैं साथ दिएका थिए नाचेका थिए । एक्कासी परेको पानी र बढेको जाडोलाई वास्ता नगर्दै कार्यक्रमस्थल पुगेका सम्पूर्ण दर्शकहरुलाई दिपक बज्राचार्यलाई भरपुर मनोरन्जन दिलाएका थिए विशेषतः अन्तिम गीत “ओ अमिरा”मा त धेरैजसो दर्शकहरु स्टेज अगाडि नै गई दिपकसंग नाचेका थिए ।
यस कार्यक्रममा प्रकाश तिमल्सिनाको साथमा स्थानीय कलाकारहरु रमेश श्रेष्ठ, भरत गुरुङ, अशोक राई, स्विटी तामांग, सन्ध्या बुद्धाचार्य, अरुण श्रेष्ठ, निर्मल महर्जन, रघुनाथ महर्जन, सतिश गुरुङको डान्स ग्रुपको सहभागिताले सुनमा सुगन्ध थपेका थिए। कोरियामा सक्रिय थुप्रै संघसंस्थाका अध्यक्षहरुलगायत प्रतिनिधिहरु तथा कोरियावासी धेरै नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा कोरियन बुद्धिस्ट फेडेरेशन तथा ख्वानम बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय भिक्षु हुंग्फा तथा कोरियन जिन्गाक बौद्ध सम्प्रदाय अन्तर्गत अन्तराष्ट्रिय बौद्ध अध्ययन बिभागका प्रमुखगुरु ढक जंग लुम्बिनी बिकास कोषका उपाध्यक्ष आचार्य कर्मा सांग्पो लामाको पनि उपस्थिति रहेको थियो ।
यसैगरी अघिल्लो दिन सांझ नेवाः पुचःले सुस्वास्थ्य र दिर्घायुको लागि म्हः पूजा गरेका थिए । करिब ४५ जनाको सहभागितामा भएको सो म्हः पूजालाई गुरु नबिन वज्राचार्यले नेवाः बौद्धिक संस्कार तथा विधिअनुसार गराएका थिए । संस्कृति, संस्कार, इतिहास र पहिचानलाई प्रवासमा पनि निरन्तरता र यसलाई बिश्वब्यपिकरण गर्ने नेवाः पुचः दक्षिण कोरियाको प्रयासलाई सबैले तारिफ़ गरेका थिए । ***