काठमाडौं– एकीकृत नेकपा (माओवादी)का लडाकुहरुको समायोजन प्रक्रियाअन्तर्गत अधिकृत स्तरबाहेक अन्य स्तरको जाँचमा उत्तीर्ण भएकाहरुलाई बिदा दिने प्रक्रिया आजबाट सुरु भएको छ ।
लोकसेवा आयोग र सेना समायोजन विशेष समितिको सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको अधिकृत स्तरबाहेक अन्य दर्जाको परीक्षामा एक हजार ३८८ जना लडाकु उत्तीर्ण भएपछि उनीहरुलाई ४५ दिन बिदा दिने यसअघिको निर्णयअनुसार आजदेखि बिदाको प्रक्रिया थालिएको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो ।
‘‘सचिवालयलाई आज जाँचमा उत्तीर्णहरुको अन्तिम नामावली नेपाली सेनाले दिन्छ र उनीहरुलाई अग्रिम भत्ता दिएर बिदाको प्रक्रिया थाल्छौँ,’’ उहाँले भन्नुभयो–‘‘असोज र कात्तिकमा उनीहरुले पाउने रासन तथा तलब भत्तावापतको रकम उपलब्ध गराएर बिदा दिन्छौँ ।’’
बिदाको प्रक्रिया सकिएपछि उत्तीर्ण लडाकुको जिम्मा अब नेपाली सेनाको मातहतमा जाने पनि सचिवालयले जनाएको छ । यसरी बिदामा गएका लडाकुहरु मङ्सिर ६ गतेबाट सेनाले तोकेको तालिममा सहभागी हुनेछन् । सचिवालय संयोजक शर्माले तीन/चार दिनभित्र बिदाको सम्पूर्ण प्रक्रिया पूरा हुने बताउनुभयो ।
गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य भदौ २ गते सम्पन्न भएपछि लडाकुहरुको जाँच लिइएको थियो भने नेपाली सेनाले आइतबार मात्रै जाँचको अन्तिम नतिजा प्रकाशित गरेको थियो ।
इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकुमध्ये एक हजार ५११ जनाले स्वेच्छिक अवकाशमा रोजेका थिए ।