काठमाडौं– हास्यव्यङ्ग्यकार प्रा. मोहनराज शर्मालाई वासुदेव लुइँटेल पुरस्कार २०६८ द्वारा सम्मान गरियो ।
वासुदेव–विद्यादेवी लुइँटेल गुठीद्वारा सञ्चालित रू. एक लाख ११ हजार १११ नगदसहित ताम्रपत्र प्रदान गरी वरिष्ठ साहित्यकार श्यामप्रसादले हास्यव्यङ्ग्यकार शर्मालाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा साहित्यकार श्यामप्रसादले नेपालमा हास्यव्यङ्ग्य क्षेत्र उर्वर रहेको र यसले विभाजित मनलाई जोड्न कामसमेत गर्ने बताउनुभयो ।
उहाँले नेपालमा हास्यव्यङ्ग्य विद्यालय स्थापना गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
गुठीका अध्यक्ष रोचक घिमिरेले जीवनको अन्तिम क्षणसम्म लुईंटेल नेपाली हास्यव्यङ्ग्यकै प्रगतिका निम्ति समर्पित रहिआएको बताउनुभयो ।
सम्मानित हुनुभएका शर्माले आफूले हास्यव्यङ्ग्यको प्रयोग मुख्यतः निबन्धमा र व्यङ्ग्यको प्रयोग कथा, उपन्यास, नाटक, एकाङ्कीमा गरेको बताउनुभयो ।
यस गुठीले बलराम थापा, गोपालराज मैनाली, केशवराज पिँडाली, दुर्गा बराल, राजपाल थापा, श्रीधर खनाल, मोहनश्याम महर्जन ‘खोकना’, श्रीमती वसुन्धरा भूसाल, रामकुमार पाँडे, टेकवीर मुखिया र महजोडी (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य)लाई सम्मान गरिसकेको छ ।