विराटनगर-नेपाली कांग्रेस नेतृ सुजता कोइरालाले अहिलेकै राजनैतिक अवस्था लम्बींदै गए मुलुक जनमत संग्रहमा जान वाध्य हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेतृ कोइरालाले राजनैतिक दलहरुविचमा आ-आफ्नै अडान यथावत रहे मुलुकको निकासको लागी जनमत संग्रहमा जानुको विकल्प कसैसंग नहुने बताउनु भएको हो ।
नेपाली कांग्रेसले उमेदवार चयन गर्न नसकेकै कारण पछिल्लो समय मुलुकले निकास नपाएको भन्दै कोइरालाले नेपाली कांग्रेसले सरकारको नेतृत्वको उमेद्वारको रुपमा रामचन्द्र पौडेललाई अगाडि सार्नुपर्ने जिकिर समेत गर्नुभयो । उहांले सभापति सुशिल कोइरालाले पार्टी चलाउने , र पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने माग समेत गर्नुभयो ।
तीन पटक प्रधानमन्त्री बनिसक्नु भएका शेरबहादुर देउवाले केहि समय कुरेर पार्टीमा अभिभावकको भुमिका निर्वाह गर्ने र अहिलेलाई रामचन्द्र पौडेललाई सरकारको नेतृत्वगर्न पठाउनुपर्नेमा उहांले जोड दिनुभएको थियो ।