जुम्ला- यतिबेला जुम्लामा राजनीतिक दलहरु आफ्ना जनवर्गीय सङ्गठन विस्तारका लागि तीव्र कसरतमा जुटेका छन् ।
सम्मेलन, भेला, छलफल र गोष्ठी कार्यक्रमका माध्यमद्वारा विशेषगरी एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा-माओवादी सदरमुकामदेखि ग्रामीण भेकसम्म आफ्ना वर्गीय सङ्गठन तथा सञ्जाल विस्तारको प्रतिस्पर्धामा लागेका छन् ।
नेपाली कांग्रेस तरुण दल विस्तारमा छ । त्यसैगरी, एनेकपा (माओवादी), महिला, किसानलगायत सञ्जाल विस्तारमा छ । नेकपा (एमाले) पनि युवा दस्तालगायत सङ्गठनमा व्यस्त छ भने नेकपा (माओवादी)ले विद्यार्थी, जनस्वयम्सेवक दस्ता, नेपाल राष्ट्रिय क्रान्ति, बुद्धिजीवी जिल्ला सङ्गठनलगायत सञ्जाल तयार गरिसकेको छ ।
संविधानसभाको विघटनपछि जनता भने अन्योलमा छन् । त्यसमा पनि माओवादी दुई भागमा विभाजित भएपछि उनीहरुमा विशाल निराशा छाएको छ । केही गर्ला भनेर जिताएर पठायौँ तर उनीहरुले हाम्रा सपना, इच्छा र अधिकारको हत्या गरेका छन् भन्छन् समाजसेवी ताम्ती-७ का मानबहादुर शाही ।
त्यसमा थप्दै कुडारी-८ का कालीबहादुर बुढा भन्नुहुन्छ-”कुशल नेतृत्व चयनका लागि हामी जनता सजग हुन आवश्यक छ । तसर्थ जनता पनि एक भएर असल नेतृत्वको खोजीमा लाग्नुपर्दछ ।”