शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौं- अदालतबाट ‘प्रमाणको अभावमा’ पूर्वअधिराजकुमार धीरेन्द्रकी पत्नी ठहर नभएकी बत्तीसपुतलीकी जया पाण्डेले जन्म दिएकी पुत्री श्रेयाले नागरिकता पनि पाइनन् । हाल अमेरिकाको बोस्टनमा बस्दै आएकी जया उनलाई ‘धीरेन्द्रपुत्री’ कै नाताले नागरिकता दिलाउने योजनामा पनि असफल भइन् ।
नेपाल छोडेको १५ वर्षपछि फर्किएकी जया तीन साता काठमाडौं बसेर यही शनिबार अमेरिका फर्किदैछिन् । आमा सूर्यकुमारी पाण्डेको घरमै बसेकी जयाले जनआस्थासँगको भेटमा वकिलहरूको कमजोरीका कारण धीरेन्द्रपत्नीका रूपमा आफूले आधिकारिकता नपाएको बताइन् । भनिन्, ‘वकिलहरू उता (धीरेन्द्र परिवार) सँग मिलेजस्तो छ ।’ नेपालको नयाँ कानुनअनुसार, आमाको नामबाट छोरीले नागरिकता पाउने अधिकारको सदुपयोग गर्नेबारे जिज्ञासा राख्दा उनले भनिन्, ‘म जसरी पनि उनलाई बुबाकै नामको नागरिक दिलाउन चाहन्छु ।’
उनले धीरेन्द्रको महाराजगञ्जस्थित निवास ‘जीवनकुञ्ज’ को बासिन्दाका रूपमा छोरी श्रेयाको नागरिकता दावी गरेकी थिइन् । त्यसअनुसार, काठमाडौं महानगरपालिकाको ३ नं. वडा कार्यालय पुगिन् । तर, वडाले बाबुको नागरिकता माग्यो, जो जयासँग छैन । उनले धीरेन्द्रका केही आफन्तसँग नागरिकताबारे सोधिन् पनि । तर, अधिराजकुमारका नाताले धीरेन्द्रले नागरिकताबिना नै सबै सुविधा (राहदानीको समेत) पाएको जवाफ धीरेन्द्रका आफन्तले दिए । यसरी जया धीरेन्द्रको नागरिकता खोज्दै हिँडेको चाल पाएपछि जीवनकुञ्जमा उनको नागरिकताको खोजी भयो । तर, भेटिएन । कतै कुनै सुराकीमार्फत जयाले हात पारिसकेकी त हैनन् भनेर धीरेन्द्रको नागरिकता खोज्दै जाँदा पत्तो लाग्यो कि, त्यो नागरिकता धीरेन्द्रपत्नी प्रेक्षाले निधनअघि राखेकै ठाउँमा थियो । प्रेक्षाको निधनपछि धीरेन्द्रपुत्री पूजा, शितास्मा र दिलासा नाता प्रमाणित गर्न सोही नागरिकता लिएर जिल्ला प्रशासन गएका थिए । र, दिलासाले फेरि स्वर्गीय आमाले राखेकै ठाउँमा राखिन् । निधनअघि धीरेन्द्रकी दिदी (पूर्वअधिराजकुमारी) स्व. शान्ति सिंहका छोरा विनोदले हाइड्रोपावर सञ्चालनका लागि उनको नागरिकता लिएका थिए । धीरेन्द्रले निधन हुनुभन्दा एक साताअघि मात्र विनोदलाई नागरिकता बुझाएका हुन् ।
तर, दरबार हत्याकाण्डको एक महिना नबित्दै विनोदले प्रेक्षालाई नागरिकता फर्काएको र प्रेक्षाले कानुनतः छोरीहरूको नाता प्रमाणितको प्रक्रिया शुरु गरिसकेकी थिइन् । तर, रारामा भएको हेलिकोप्टर दुर्घटनामा प्रेक्षाको निधनपछि मात्र उनीहरूले नाता प्रमाणित गरे । यता, जयाचाहिँ धीरेन्द्रले नागरिकता नै नबनाएको सूचना लिएर अमेरिका फर्किन लागेकी छन् । आºनो संघर्षले नपुगेपछि अब उनले श्रेयालाई धीरेन्द्रपुत्रीका रूपमा नागरिकता दिलाउन माइती नेपालसँग गुहार मागेकी छन् । माइती नेपालका अधिकारीले पनि श्रेयालाई आमाकै नाममा नागरिकता दिलाउन सकिने बताए । तर, जयाले मानिनन् । एकातिर अदालतले अंशमुद्दा हराएको, अर्कातिर प्रशासनले नागरिकता दिन नचाहेको दुईवटा पीडा बोकेर उनी फर्किन लागेकी हुन् । उनले जिल्ला अदालतमा दायर गरेको सम्पत्तिसम्बन्धी मुद्दामा विवाह गरेर घरजम गरिरहेका धीरेन्द्रका तीन छोरीलाई विपक्षी बनाएकी थिइन् । कानुनतः पनि विवाह गरेर गएका छोरीको माइतको सम्पत्तिमा हक लाग्दैन । र, यही कमजोरीमा उनले मुद्दा हारिन् । ‘त्यसरी विवाह गरेर गएका छोरीलाई किन विपक्षी बनाउनुभयो त ?’ जिज्ञासामा उनले भनिन्, ‘खासमा मलाई उनीहरू (धीरेन्द्रका छोरी) सँग कुनै नराम्रो हुनु छैन । त्यो त एउटा प्रोसेसमात्रै गरेको ।’
सन् १९९२ मा लण्डन जाँदा अध्यागमनले दिएको कागज देखाइन्, जसमा ‘पति धीरेन्द्र वीरविक्रम शाहसँग भेट्न’ भनी अंग्रेजीमा लेखिएको थियो । उनले धीरेन्द्रलाई पति दाबी पुग्ने अन्य कागजात पनि सुरक्षित रहेको, तर वकिलहरूको बदमासीले मुद्दा हार्नुपरेको कुरा दोहो¥याइन् । उनको पक्षमा अधिवक्ताहरू गुरूप्रसाद बराल र सूर्य केसीले बहस गरेका थिए । त्यसमध्ये केसी माओवादी बुद्धिजीवी संगठनका कृष्ण केसीका भाइ हुन् । धीरेन्द्र परिवारको तर्फबाट अधिवक्ता हिरा रेग्मीले बहस गरेका थिए । भेटका क्रममा जयाले धीरेन्द्रसँगको अन्तिम भेटका कुरा सम्झिइन् । धीरेन्द्र त्यसबेला नक्सालस्थित एकजना साथीको घरमा बस्थे । त्यहाँ उनीहरूको भेट हुन्थ्यो । तर, जयाचाहिँ बत्तीसपुतली, द्वारिकाज होटल अघिल्तिर रहेको आमाकै घरमा बसोबास गर्थिन् । दरबार हत्याकाण्डका बेला जया अमेरिकामा थिइन् । पदवी खोसिएका ‘अधिराजकुमार’ धीरेन्द्रले मारिनु केही दिन पहिले मात्र जयालाई सेप्टेम्बरमा नेपाल बोलाएको उनले सुनाइन् (तर, १ जुन, २००१ मा दरबार हत्याकाण्ड भयो) । जयाका अनुसार, सेप्टेम्बरमा राजदरबारले धीरेन्द्रको ‘अधिराजकुमार’ पदवी फर्काउने, तर पत्नीका रूपमा प्रेक्षालाई नभई जयालाई मान्यता दिने कुरामा दाजु (राजा) वीरेन्द्र सहमत भइसकेका थिए । धीरेन्द्रले आफूसँगको भेटमा पनि प्रेक्षासँग असन्तुष्टिका कुरा बारम्बार गरिरहने उनले सुनाइन् । ‘वास्तवमा उहाँको पारिवारिक जीवन असफल भएपछिमात्रै म श्रीमती भएकी हुँ’, उनले भनिन् ।
पहिलो भेटबाटै धीरेन्द्रले आफूलाई ‘मार्क’ गरेको उनले दावी गरिन् । ‘बत्तीसपुतलीमै एकजना नातेदारको घरमा विवाहको भोज थियो । त्यहाँ भेट भएको हो । अनि, उहाँले मलाई फलो गर्नुभयो’, भनिन् । अहिले आफूले अदालतबाट नपाएको अधिकार दिलाउनका लागि केही नातेदार सक्रिय भएको उनले बताइन् । तर, तिनको नाम भनिनन् । ‘नातेदारहरूसँग सधैं कुरा भइराखेको छ, उहाँहरूले हामी कुरा मिलाउँछौं, अड्डा–अदालततिर नधाउनु भनेका छन्’, भनिन् । पूर्वराजा ज्ञानेन्द्रसँग उनको भेट भएको छैन मात्रै हैन, युरोपबाट फर्किएको एक हप्तापछि पनि ज्ञानेन्द्र विदेशमै रहेको सूचना बोकेर बसेकी रहिछन् । अहिले उनी अमेरिकामा ‘असाइलम’ (शरणार्थीको मान्यता) दिलाउने काममा अनुवादकका रूपमा काम गर्दै छिन् । त्यसक्रममा थुप्रै नेपालीसँग भेट हुने बताइन् । तर, ‘असाइलम’ गर्ने नेपालीमध्ये ९० प्रतिशतले फर्जी विवरण बुझाउने गरेको सुनाइन् । अन्य देशका पनि छन्, फर्जी विवरण दिएर शरणार्थीको मान्यता लिने । तर, त्यस मामिलामा नेपाल अलिक बदनाम भएको उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया