शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौं- प्रधानमन्त्री डा.बाबुराम भट्टराई नौवटा मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री पनि हुन् । तर, आफूले सम्हालेका मन्त्रालयमा उनले एकचोटि पाइलासमेत टेकेका छैनन् । ती मन्त्रालयबाट आउने फाइलमा हस्ताक्षर धस्काउनमै सीमित छ उनको भूमिका ।
गत १४ जेठयता प्रधानमन्त्री कार्यालयसँगै ऊर्जा, कानुन, न्याय, संविधानसभा तथा संघीय मामिला, कृषि विकास, युवा तथा खेलकुद, रक्षा, वाणिज्य तथा आपूर्ति, सहरी विकास र सामान्य प्रशासन प्रधानमन्त्री डा. भट्टराईकै मातहत छन् । त्यसअघि ती मन्त्रालयमा एमाले, कांग्रेसका मन्त्री थिए । उनीहरूले नयाँ संविधानसभाको पुन: निर्वाचन गर्ने सरकारको
निर्णयप्रति असहमति जनाउँदै मन्त्रीपदबाट राजीनामा दिएपछि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरिएको छैन । यति धेरै मन्त्रालयको बोझ बोकेका प्रधानमन्त्रीले मातहतका मन्त्रालयबाट आएका महत्त्वपूर्ण फाइल पढ्न भ्याउँदैनन् । अरूलाई हेर्न दिएर उनले हस्ताक्षर मात्रै ठोक्ने गरेको स्रोतले बतायो । स्रोतका अनुसार फाइल हेर्नमा सबैभन्दा क्रियाशील रहन्छिन् प्रधानमन्त्रीपत्नी हिसिला यमी । यसैगरी, प्रधानमन्त्री सचिवालयका कर्मचारी पनि उनलाई फाइल हेर्न सघाउँछन् ।
‘विभिन्न मन्त्रालयबाट दैनिक दर्जनौँ फाइल आउने गर्छन्,’ सचिवालयका एक कर्मचारीले भने, ‘प्रधानमन्त्री आफँैले ती फाइल हेर्न नभ्याउने भएकाले अध्ययन गर्ने जिम्मा अरूलाई नै दिनुभएको छ ।’ तर, प्रधानमन्त्रीले फाइल हेर्ने जिम्मा दिएका अधिकारीको नाम भने ती कर्मचारीले बताउन मानेनन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले विभिन्न मन्त्रालयबाट आएका फाइल पत्नी हिसिला यमी तथा प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठलाई हेर्ने जिम्मा दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार विभिन्न मन्त्रालयबाट आएका फाइल सुरुमा प्रमुख स्वकीय सचिव श्रेष्ठले हेर्ने गर्छन् । श्रेष्ठले हेरेका फाइल पुन: पत्नी यमीले हेरेपछि मात्र प्रधानमन्त्रीले सो फाइल सदर या बदर गर्छन् । यसअघि पर्यटन, भौतिक, भूमिसुधारजस्ता महत्त्वपूर्ण मन्त्रालय चलाइसकेको र मन्त्रालयको काम–कारबाहीका विषयमा दक्षता रहेको भन्दै प्रधानमन्त्री भट्टराईले अन्य मन्त्रालयको फाइल हेर्ने जिम्मा पत्नी यमीलाई दिएको उनको निजी सचिवालयका एक अधिकारीले बताए ।
स्रोतका अनुसार विभिन्न मन्त्रालयका नीतिगत र अन्य कार्यक्रमको निर्देशन र कामको डिजाइन पनि एमाओवादी पोलिटब्युरो सदस्यसमेत रहेकी यमीले नै गर्दै आएकी छन् । उनकै सुझावअनुसार मन्त्रालयका सचिवलाई फाइल तयार गर्न लगाइन्छ । ‘प्रधानमन्त्री पत्नी यमी आफैँले मन्त्रालयका सचिवसँग भेट गरेर यो गर, त्यो नगरचाहिँ भन्नुभएको छैन,’ एक सचिवले सौर्यसँग भने, ‘मन्त्रालयमा बोलाएर यसरी काम गर्न पाए राम्रो हुन्थ्यो भन्दै घुमाउरो शैलीमा निर्देशन दिनुहुन्छ, हामीले यसलाई अन्यथा ठानेका छैनाँै ।’ प्रधानमन्त्रीले सम्हाल्दै आएको एक मन्त्रालयका सचिवले भने । उनले यसलाई दबाबका रूपमा नलिई सुझावका रूपमा लिएको बताए । स्रोतका अनुसार यमीले प्रधानमन्त्रीका स्वकीय सचिव तथा अन्य कर्मचारीमार्फत सचिवहरूलाई आºनो इच्छाअनुसार काम गर्न लगाउने गर्छिन् ।
निजी सचिवालयका कर्मचारीले विभिन्न मन्त्रालयबाट आएका फाइल प्रधानमन्त्रीनिवासमै पुर्‍याउने गरेका छन् । त्यसरी निजी निवासमा लगिएका फाइल यमीले निवासबाटै हेरेर सदरका लागि प्रधानमन्त्रीलाई दिन्छिन् । कुनै महत्त्वपूर्ण र तत्काल निर्णय गर्नुपर्ने फाइल आएमा उनले प्रधानमन्त्री कार्यालयमै आएर सम्बन्धित फाइल हेर्ने तथा कार्यक्रम बनाउने गर्छिन् । स्रोतका अनुसार कर्मचारी सरुवा, बढुवा, पदस्थापन र विभिन्न आयोजनाबारे पनि यमीले निर्णय लिने गरेकी छन् । सचिवालयका एक कर्मचारीले भने, ‘यमीको गरेका र भनेका विरलै निर्णयमा मात्र प्रधानमन्त्रीले ‘अब्जेक्सन’ जनाउनुहुन्छ, नत्र सदर गर्नुहुन्छ ।’ यमी प्रधानमन्त्री कार्यालयमा सातामा एक या दुई दिन पुगेर केही घन्टा बिताई फर्कने गर्छिन् ।
प्रधानमन्त्रीपत्नी यमीको सबैभन्दा बढी चासो सहरी विकास, वाणिज्य तथा आपूर्ति र कृषि विकास मन्त्रालय हुने गरेको छ । स्रोतका अनुसार उनले ती मन्त्रालयबाट आएका फाइल विशेष चासोका साथ हेर्नुका साथै आºनो चाहनामुताविक फाइल तयार गर्न निर्देशन दिने गरेकी छन् । वाणिज्य मन्त्रालयका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीपत्नीको निर्देशनात्मक सुझावका आधारमा गत असारमा मात्र चारवटा फाइल प्रधानमन्त्री कार्यालयमा पेस गरिएको थियो । ती फाइल दुई दिनमै सदर भएर आएका थिए । अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयमा बुझाइएका अन्य फाइल सदर हुन कम्तीमा पनि चार/पाँच दिन लाग्थ्यो ।
प्रधानमन्त्री भट्टराईका प्रमुख स्वकीय सचिव गंगा श्रेष्ठले भने प्रधानमन्त्रीपत्नी यमी मन्त्रालयहरूको फाइल हेर्ने आधिकारिक व्यक्ति नभएको र हेर्ने पनि नगरेको दाबी गरे । ‘विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेको अनुभवका आधारमा यमीले प्रधानमन्त्रीलाई सुझाव, सल्लाह दिन सक्नुहुन्छ र दिनु पनि भएको छ, त्यसबाहेक उहाँको अरू कुनै अधिकार छैन,’ प्रमुख स्वकीय सचिव श्रेष्ठले भने, ‘उहाँ(यमी)ले कुनै पनि मन्त्रालयका सचिवलाई यो गर, त्यो नगर भनेर निर्देशन दिनुभएको छैन ।’
सामान्य नागरिकले पनि राम्रो कामका लागि प्रधानमन्त्रीलाई सुझाव दिन सक्ने तर्क श्रेष्ठले गरे । ‘झन् पार्टीको जिम्मेवार नेत्रीले सल्लाह दिन नसक्ने र नहुने प्रश्न उठ्दैन,’ उनले भने, ‘सल्लाह र सुझाव दिएको विषयलाई लिएर कसैले मन्त्रालय नै चलायो भनेर हल्ला गर्दै हिँडेको छ भने त्यो प्रधानमन्त्रीलाई बद्नाम गराउने खेलबाहेक अरू केही होइन ।’ विभिन्न मन्त्रालयबाट आएका फाइल प्रधानमन्त्री आफैँले हेर्ने गरेको जिकिर श्रेष्ठले गरे । ‘विवादास्पद र कानुनी रूपमा अस्पष्ट निर्णय भएको पाइएमा त्यस्तो फाइल म आफैँले हेरी त्यसबारे सम्बन्धित मन्त्रालयको सचिवसँग जानकारी लिने गरेको छु,’ उनले भने, ‘अरूलाई फाइल हेर्न दिएको छैन ।’ त्यति धेरै मन्त्रालयका फाइल प्रधानमन्त्रीले कसरी हर्न भ्याउनुहुन्छ भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘धेरै काम त सम्बन्धित मन्त्रालयका सचिवहरूले नै हेरिसकेका हुन्छन्, बाँकी सामान्य कुरा हेरेर प्रधानमन्त्रीले सदर गर्नुहुन्छ, त्यसमा खासै समय लाग्दैन ।’
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पेस गरेको फाइल कसले अध्ययन गर्छ भन्नेबारे जानकारी नभएको बताए । ‘विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री नै भएकाले उहाँले हस्ताक्षर गर्नुपर्ने फाइल प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा छाडेर आउँछौँ,’ सचिव घिमिरेले भने, ‘हामीले फाइल छाडेको चार/पाँच दिनमा फिर्ता पाउँछौँ, त्यो फाइल प्रधानमन्त्री आफँैले हेरेर सदर गर्नुहुन्छ या अरूलाई हेर्न लगाउनुहुन्छ, हामीलाई जानकारी हँुदैन ।’ प्रधानमन्त्रीपत्नीले आजसम्म यो काम गर्नू यो नगर्नू भनेर कुनै दबाब नदिएको उनको भनाइ छ । घिमिरेले भने, ‘हामीले प्रधानमन्त्रीपत्नीबाट सुझाव भने पाउने गरेका छौँ, त्यसलाई दबाब वा काम अह्राएको भन्न मिल्दैन ।’ उनले कुनै जटिल काम पर्‍यो र प्रधानमन्त्रीको सल्लाह चाहियो भने सिधै निजी सचिवालयमार्फत प्रधानमन्त्रीसँग राय माग्ने गरेको जानकारी गराए ।
सहरी विकास मन्त्रालयका सचिव ताना गौतमले पनि विभागीय मन्त्रीको हैसियतमा मन्त्रालयका फाइल प्रधानमन्त्री कार्यालय पठाउने र त्यो फाइल प्रधानमन्त्रीले पाँच–सात दिनपछि सदर गरेर फर्काउने गरेको बताए । ‘त्यो फाइल प्रधानमन्त्री आफँैले हेर्नुहुन्छ वा अरू कसैलाई हेर्न लगाउनुहुन्छ, मलाई जानकारी भएन,’ उनले भने ।

तपाईको प्रतिक्रिया