शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
काठमाडौ- मजदुर आन्दोलनका कारण वैदेशिक लगानीका उद्योगहरू धमाधम बाहिरिरहेका बेला बहुराष्ट्रिय कम्पनी केएफसी र पिज्जा हट पनि अनिश्चितकालका लागि बन्द भएका छन् ।
कर्मचारी र व्यवस्थापनबीच विवाद बढेपछि अमेरिकी बहुराष्ट्रिय कम्पनी केएफसीको फ्रान्चाइजरका रूपमा देवयानी इन्टरनेसनलले सूचना टाँस गरी आफू मातहतका नेपालमा सञ्चालित ५ रेस्टुराँ बन्द भएको जनाएको हो । संसारभर १७ हजार रेस्टुराँ रहेको केएफसी ब्रान्डले नेपालमा ३ वर्षअघि ११ करोड रुपैयाँको लगानीमा रेस्टुराँ खोलेको थियो ।
एक वर्षअघि मजदुर आन्दोलनकै कारण विराटनगरस्थित बहुराष्ट्रिय कम्पनी सूर्य गार्मेन्ट बन्द भएको थियो । मजदुरको अनावश्यक माग धान्न नसकेर तीन वर्षअघि हेटौंडास्थित कोल्गेट पामोलिभ पनि बाहिरिइसकेको छ । केही महिनाअघि मजदुर आन्दोलनकै कारण बरुण वेभरेज (पेप्सी उत्पादक) पनि बन्द भएको थियो । सहमति पछि खुलेको थियो ।
अहिले पनि मजदुर-व्यवस्थापकै असमझदारीका कारण अन्तर्राष्ट्रिय चेन रेस्टुराँ केन्टुकी फ्राइड चिकन (केएफसी) का दरबारमार्ग र ब्लुबर्ड त्रिपुरेश्वरमा रहेका दुई शाखा सहित पिज्जा हट, क्रिमबेल र पीएचडी बन्द भएका हुन् । सञ्चालक देवयानी इन्टरनेसनलले कर्मचारीमाथि कुटपिट भएको, धाकधम्की दिइएको, गैरकानुनी व्यवहार भएको र थप तोडफोड हुन सक्ने डरका कारण अनिश्चितकालका लागि बन्द गरेको सूचनामा उल्लेख गरेको छ । केएफसी र पिज्जाहटका यी रेस्टुराँमा करिब १ सय ८० कर्मचारी कार्यरत छन् । भारतीय लगानीकर्ताहरूको कम्पनी आरजे कर्पको सहायक कम्पनीका रूपमा देवयानीले रेस्टुराँ खोलेको हो ।
रेस्टुराँका एक व्यवस्थापकका अनुसार श्रम कार्यालय टेकुले ट्रेड युनियन खोल्नेबारे पठाएको पत्रको जवाफ बुझाउन जाँदा कर्मचारीहरूले मानवसंसाधन व्यवस्थापकलाई आक्रमण गरेका थिए । ‘ट्रेड युनियन स्थापनामा हाम्रो आपत्ति होइन,’ उनले भने, ‘कर्मचारीको सुरक्षा नभएकाले बन्द गरिएको हो ।’ कानुनी प्रावधान पूरा गरेर ट्रेड युनियन खोल्न सकिने उनले बताए । ‘कार्यालयमा चिठी पुर्‍याउन गएका कर्मचारीलाई कुटपिट गरेर कागजात खोसियो,’ उनले भने ।
मोहन वैद्य अध्यक्ष रहेको नेकपा माओवादी समर्थित अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर संघका उपाध्यक्ष टीका सुवेदीले रेस्टुराँका कसै माथि हातपात नभएको र बिनाजानकारी रेस्टुराँ बन्द गरिएको बताए । ‘मेरो जानकारीमा भएसम्म कुटपिट भएको छैन,’ उनले भने, ‘व्यवस्थापनले यसअघि देखि कर्मचारीलाई ट्रेड युनियन नखोल्न धम्की दिइरहेका थिए ।’
देवयानी इन्टरनेसनलको सूचनामा ‘नो वर्क नो पे’ को सिद्धान्त अनुसार बन्द भएको अवधि भर कसैलाई पनि कुनै तलब भत्ता उपलब्ध नगराइने उल्लेख छ । सुवेदी भने बिप्पा सम्झौता र नो वर्क नो पेको ट्रेड युनियनले विरोध गरिरहेकाले मान्य नहुने बताउँछन् । ‘यो भारतीय लगानी हो जसमा पुनः विस्तारवाद देखाउन खोजियो,’ सुवेदीले भने, ‘वार्ताबाट समस्या समाधान गर्न नखोजेर दिल्ली धाउने होइन ।’
कर्मचारीले व्यवस्थापनमा रहेका व्यक्तिलाई कुटपिट गर्ने र ज्यान मार्ने लगायत धम्की दिएको इन्टरनेसनलले टाँस गरेको सूचनामा उल्लेख छ । कर्मचारीले आदेश निर्देशन पालना नगरेको र केएफसी ब्रान्डको स्तर अनुसार सेवा सुविधा उपलब्ध नगराएको आरोप पत्रमा लगाइएको छ ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले अन्तर्राष्ट्रिय लगानी रहेको रेस्टुराँ बन्द हुनुले नकारात्मक सन्देश जाने बताए । ‘बन्द हुनुले विदेशी लगानीमा नकारात्मक सन्देश जान्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया