काठमाडौ- नमस्कार अध्यक्षज्यू, भीडका माझ अग्लो कदका अभिनेता राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देख्नासाथ हात अघि बढाए । हात मिलाउँदै दाहालले भने तपाईंलाई कस्तो छ रु राजेशले भने, ‘ठिकै छु । ल नयाँ संविधानका निम्ति बधाई दिन नसके पनि तपाईंको छोराले सगरमाथा चढ्न सफल भएछन्, त्यसका लागि बधाई ।’
राष्ट्रपति रामवरण यादवले पाँचांै गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको चियापानमा उपस्थित अध्यक्ष दाहालप्रति धेरैले घोचपेच गरे । करिब आधा घन्टा बसेका दाहाल हमालबाट छुट्टएिर राष्ट्रपति रामवरण यादव भएतिर बढे । संविधानसभा विघटनको घटनाले सामान्य बधाई र शुभकामनको शिष्ट्राचारसमेत त्यहाँ खल्लो बन्यो । दाहाल मात्रै होइन, अरू नेताहरूको अनुहारबाट राष्ट्रपति पनि दिक्क भएर केही बोल्न नखोजेजस्तो देखिन्थो । अघिपछि नेताहरूसित लामो भलाकुसारी गर्ने राष्ट्रपति सोमबार खासै बोलेको देखिएन । राष्ट्रपतिसँग हात मिलाउँदै दाहाल चिया लिएर कांग्रेस नेता शेरबहादुर देउवातिर पुगे । देउवाले भने, ‘मैले तपाईंलाई संकटकाल लगाएर संविधानसभाको म्याद थप गर्नु भनेको होइन रु अब हामी कसरी निर्वाचनमा जाने ? संविधान बनाउन अयोग्य हुने, अनि निर्वाचनमा जाँदा योग्य भएँ भनेर कसरी भन्ने ? देउवाले छेड हान्नासाथ दाहालले प्रतिवाद गरे, ‘छोडदनुहोस्, अब यी कुरा, कहिले दाइको पालो कहिले भाउजूको पालो, यस्तै हो ।’
अघिल्ला गणतन्त्र दिवसमा दक्षिणतर्फ आयोजना गरिने चियापान यसपालि उत्तर कार्यालयसामु राखिएको थियो । कार्यालयका बायाँतर्फ नेताहरूलाई छुट्टयाइएको ठाउँमा सबै दलका शीर्ष नेताहरू थिए । प्रधानमन्त्री बाबुराम भट्टराई भने आउनासाथ राष्ट्रपतिलाई भेटेर फर्किहाले । माओवादी अध्यक्ष दाहाल करिब २० मिनेटजति नेताहरूमाझ बसेका थिए ।
अब के हुन्छ, कसरी अघि बढ्नु हुन्छ भनेर सञ्चारकर्मीले कुरा खोतलेपछि नेताहरूबीच घोचपेच सुरु भयो । ‘माधव कमरेडले केही दिनअघि एउटा टेलिभिजनमा फ्रान्समा तीन पटक संविधानसभाको निर्वाचन भएको भन्नुहुन्थ्यो । नेपालमा पनि त्यही हुन लाग्यो । कस्तो मिलाउनुभएको रुु छेउमै बसेका नेपाललाई दाहालले पेलिहाले, ‘माधवजी ज्योतिष नै हो नि । पहिल्यै संविधानसभा विघटन हुन्थेन भनेको भए त नहुने रहेछ नि ।’ माधव नेपालले पनि किन बाँकी राख्थे रु उनले जवाफ लगाए, ‘तपाइ’ ५ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ रे, त्यहाँ के भन्नुहुन्छ मै भन्दिउ“m ?’ दाहाल मुसुक्क हाँसे । ‘उहाँले नै केही ब्रिफिङ दिनुहुन्छ कि’ अर्को छेउमा रहेका अन्य नेताहरूले दाहाललाई उकासे । पत्रकार सम्मेलन गर्नुअघिको त्यो घेचपेचमा दाहालले भने, ‘सबै कुरा अहिले सार्वजनिक गर्न मिल्दैन । तर सबै नेताहरूको नाम त्यहाँ आउँदैन ।’
नेताहरूको त्यो जमघटमा सबैभन्दा बढी आक्रोश पूर्वसभामुख सुवास नेम्वाङको थियो । ‘मलाई व्यक्तिहरू खाल्डोमा गएको चिन्ता होइन,’ उनले ननिको माने, ‘देशलाई खाल्डोमा हालेकामा चिन्ता हो ।’
नेम्वाङको यो भनाइमा नेपालले थपे, ‘सभामुखजीको कस्तो पवित्र धारणा ।’ दाहालले भने यसमा केही नबोली शिर निहुराइरहे ।
घोचपेचले वातावरण गम्भीर हुन थालेपछि एमाले नेता ईश्वर पोखरेलले विषायन्तर गर्दै दाहाललाई भने हिसिला यमीलाई चिन्नु भयो ? अघिपछि अनौपचारिक पोसाकमा देखिने माओवादी नेतृ हिसिला यमी चियापान कार्यक्रममा सारी लगाएर आएकीले नेताहरू केहीबेर झुक्किए । दाहालले भने, ‘हो, उहाँलाई कहिलेकाहीं चिन्न गाह्रो हुन्छ । तर आज लाजिम्पाटबाट सँगै आएकाले चिन्न सजिलै भयो ।’
यो घोचपेचपछि नेताहरूले सञ्चारकर्मीको आग्रहमा सामूहिक तस्बिर खिचाए । त्यतिखेर उनीहरूदेखि अलि परै रहेको केही आमन्त्रित भन्दै थिए, ‘फोटो खिचाउन्जेल मात्र मिलेजस्तो गर्ने न हुन्, नत्र मुलुकको हालत किन यस्तो हुन्थ्यो ?’