Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले सोलुखुम्बुको काँगेलडाँडा जान ठिक्क परेको नेपाल वायुसेवा निगमको जहाज ‘जबर्जस्ती’ डोटी लगेका छन्। डेढ दशकदेखि बन्द डोटी विमानस्थलमा ‘फेरि उडान सुरु गर्ने’ निहुँमा मन्त्री विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत नेताहरू बोकेर नियमित उडानको जहाज लगेका हुन्।
उनीहरू माओवादी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको निम्ति गएको पार्टी स्रोतले जानकारी दियो।
सोमबार बिहान ८ः४० मा १९ सिटे टि्वनअटर जहाज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काँगेलडाँडा जान ठिक्क परेको थियो। त्यसको डेढ घन्टाअघि नै मन्त्री विष्ट विमानस्थल पुगेर नियमित उडान रद्द गराएका हुन्। त्यतिबेला निगमले काँगेलडाँडा जाने यात्रुहरूको निम्ति काउन्टर खोलिसकेको थियो। माओवादी नेताका निम्ति अपर्झट उडान रोकिएपछि १६ यात्रु फर्किनुपर्‍यो। उनीहरूको अर्को उडान कहिले हुने अनिश्चित छ।
मन्त्री विष्टले जहाजको बिलसमेत तिरेका छैनन्। विमानस्थल पुगेर ‘बिल उधारोमा राख्नू’ भन्दै १५ जनाको टिकट काटेका थिए। एयरपोर्ट ट्याक्ससमेत नतिरेको विमानस्थल स्रोतले जानकारी दियो। काठमाडौं-डोटी आतेजाते हवाई भाडा एयरपोर्ट ट्याक्सबाहेक प्रतिव्यक्ति २१ हजार रुपैयाँ लाग्छ। एयरपोर्ट ट्याक्स प्रतियात्रु २ सय पर्छ।
यो उडानसहित मन्त्री विष्टले अहिलेसम्म करिब १७ लाख रुपैयाँ बराबरको उधारो हवाई यात्रा गरिसकेका छन्।
विमानस्थलका अनुसार कलसाइन ‘९एन-एबिओ’ भएको उडान नम्बर १ सय ८५ को उक्त जहाज सोमबार बिहान ८ः४० बजे काँगेलडाँडा गएर १०ः०५ मा काठमाडौं फर्कने तालिका थियो। त्यसपछि दिउँसो ३ बजे पोखरा गएर मंगलबार जोमसोम र मनाङ उड्ने तालिका थियो। मन्त्रीले आफूखुसी जहाज लगेपछि ती सबै यात्रुले सास्ती पाउने भएका छन्।
‘बिहान ७ बजे पर्यटनमन्त्रीको टोली डोटी जाने भने पनि नेपाल बन्द, मौसम खराबसँगै माओवादी अध्यक्ष प्रचण्ड ढिलो आउँदा जहाज ९ बजे उडेको थियो,’ स्रोतले भन्यो, ‘मन्त्री विष्टले निगम अध्यक्ष मनरुप शाहीलाई हवाई टिकट, एयरपोर्ट ट्याक्ससहित जहाजको व्यवस्था मिलाउन निर्देशन दिँदै जबर्जस्ती जहाज लिएर गए।’
जहाज मन्त्रीले लगेपछि काँगेलडाँडा जान एयरपोर्ट पुगेका यात्रुहरू निराश र आक्रोशित देखिन्थे। काँगेलडाँडाका लागि साताको सोमबार एउटामात्र उडान गर्दै आएको निगमले अलपत्र यात्रुलाई अन्य दिनमा पठाउने भएको छ।
स्रोतका अनुसार मन्त्री विष्टको टोलीको उडान तालिका काठमाडौं-नेपालगन्ज-डोटी दुईतर्फी थियो। तर, यहाँबाट उडेपछि उडान डाइभर्ट गरेर सुर्खेत पुर्‍याइयो। सुर्खेतमा रहेका माओवादी स्थायी समिति सदस्य तथा भेरी-कर्णाली इन्चार्ज लिलामणि पोखरेललाई डोटी लान जहाज डाइभर्ट गरिएको थियो।
फर्कंदा भने डोटीबाट नेपालगन्जमा इन्धन हाल्न ओर्लिएको जहाज मौसम खराब भएकाले भैरहवामा अवतरण गर्नुपर्‍यो। राति ७ बजेसम्म काठमाडौं ओर्लिने अनुमति लिए पनि जहाज फर्कन नसकेको स्रोतले जानकारी दियो। निगमका क्याप्टेन एलबी थकाली र कोपाइलट डिआर जुहार्चनले जहाज उडाएका हुन्।
१५ जनाको टिकटलाई ३ लाख १५ हजार र ट्याक्स ३ हजार भएको छ। त्यसैगरी सुर्खेत-डोटी, डोटी-भैरहवा र त्यहाँबाट काठमाडौंसम्मको थप रकमसँगै थपिएका यात्रु पोखरेलको डोटी-काठमाडौंको साढे १० हजार र ट्याक्स २ सय पनि थपिएको छ।
सडक यातायात पुगेपछि डोटी विमानस्थल डेढ दशकदेखि बन्द छ। बन्द हुनुअघि निगमले नेपालगन्ज र धनगढीबाट डोटी उडान गर्थ्यो। यही विमानस्थल पुनः सञ्चालन गर्ने भन्दै मन्त्री विष्ट टोलीसहित गएका हुन्।
‘डोटी विमानस्थलमा जहाज १५ मिनेटमात्र बस्न पाउने अनुमति भए पनि मन्त्री गएकाले दिनभरि जहाज उतै थन्कियो,’ स्रोतले भन्यो, ‘आन्तरिक उडान गर्न निगमसँग रहेका दुई टि्वनअटरमध्ये एउटा मन्त्रीले लगेपछि सबै तालिका भताभुंग भयो।’
व्यावसायिक योजनाबिना हचुवा भरमा निगमलाई सात-आठवटा जहाज किन्नुपर्छ भनी भाषण दिँदै हिँड्ने पर्यटनमन्त्री विष्टले वर्षौंदेखि बन्द विमानस्थल फेरि सञ्चालन गर्ने नाममा जहाज लिएर जानुको कुनै तुक नहुने स्रोतको दाबी छ।
पर्यटन मन्त्री विष्टले यसअघि गत पुस २० देखि माघ दोस्रो साताभित्र देशभरका विमानस्थल निरीक्षण भन्दै जहाज र हेलिकोप्टरमा उडेर १३ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए। उनको खर्चको भार नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि परेको थियो। उनले भ्रमण गर्दा उठेको खर्चमध्ये प्राधिकरणले ९ लाख रुपैयाँ विभिन्न वायुसेवा कम्पनीलाई भुक्तानी गरिसकेको छ भने ४ लाख भुक्तानी हुन बाँकी छ। मन्त्री विष्ट प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पनि हुन्।
विष्टले विगतमा सञ्चालनमा आएर बन्द भएका विभिन्न ठाउँका विमानस्थल पुनः सञ्चालन गर्ने भन्दै कार्यक्रम बनाएर निरीक्षण भ्रमणमा गएका थिए। प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थल सञ्चालन गर्ने प्रमुख निकाय हो।
मन्त्री विष्टले बाग्लुङको बलेवा, रुकुमको चौरजहारी, नेपालगन्ज, कमलबजार, रामरोसन, साँफेबगर, पोखरालगायत विमानस्थल निरीक्षण भ्रमण गर्दा खर्च भएको साढे ५ लाख रुपैयाँ हेलिकोप्टर कम्पनी सिमि्रक एयर र जहाज कम्पनी बुद्ध एयरलाई भुक्तानी भएको सम्बद्ध कम्पनीले जानकारी दिएका छन्।
सम्बद्ध कम्पनीका अनुसार सिमि्रकलाई झन्डै साढे ३ लाख, सौरभ ट्राभल्सलाई करिब १ लाख तथा वायुसेवा निगमको जहाजबाट पोखरा-बाग्लुङ उडान चार्टरको करिब ९० हजार र पोखराबाट काठमाडौं फर्किंदा २० हजार रुपैयाँ भुक्तानी भएको छ। अर्को हेलिकोप्टर कम्पनी फिसटेल एयरले पनि मन्त्री विष्ट उड्दा लागेको भाडावापत्को ४ लाख रुपैयाँ भुक्तानी दिन प्राधिकरणमा बिल पेस गरेको छ।
‘सडक यातायात पुगेपछि वर्षौंदेखि बन्द रहेका विमानस्थल चलाउनुपर्छ भन्दै निरीक्षणमा जानुको कुनै तुक छैन र त्यस्ता विमानस्थलमा परीक्षण उडानपछि अर्कोपल्ट जहाज गएको थाहा छैन,’ सम्बद्ध स्रोतले भन्यो।
मन्त्री विष्टको जहाज र हेलिकोप्टर भाडाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरूले आश्चर्य व्यक्त गरेका छन्। प्रधानमन्त्री वा मन्त्री कसैलाई पनि सरकारी ढुकुटीबाट हेलिकोप्टर भाडा उपलब्ध गराउने नियम नभएको सम्बद्ध स्रोतले बतायो। मन्त्रीहरूको पारिश्रमिक, भाडा, भत्ता सबै मन्त्रिपरिषद कार्यालयले व्यवस्था गर्छ।
स्रोतका अनुसार विगतमा गृह मन्त्रीले जिल्ला भ्रमण गर्दा हेलिकोप्टर भाडा लिए पनि कृष्णबहादुर महरा गृह मन्त्री भएपछि यो नियम रोकिएको थियो।
मन्त्रिपरिषद कार्यालयबाहेक अन्य कुनै पनि सरकारी निकायबाट मन्त्रीहरूले जहाज वा हेलिकोप्टर भाडा लिन नपाइने र आकस्मिक परेर सापटी लिएको हो भने तीन दिनभित्र सम्बद्ध निकायले मन्त्रिपरिषदलाई कार्यालयलाई जानकारी गराउनुपर्ने स्रोतले जानकारी दियो।
‘तर, नागरिक उड्डयन प्राधिकरणबाट अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन,’ स्रोतले भन्यो, ‘त्यही भएर यो अनियमितता हो।’ मन्त्रीहरूले महिनामा दुई पल्ट जिल्ला भ्रमणवापत् जहाज भाडा लिन पाउने नियमअनुसार पर्यटन मन्त्री विष्टले पनि मन्त्रिपरिषद कार्यालयबाट भाडा लिइरहेको स्रोतले जानकारी दियो।
तपाईको प्रतिक्रिया