Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
मन्त्रीले समाते ग्यास व्यापारी
काठमाडौ- ‘दुई सिलिन्डर ग्यास चाहियो के गर्ने होला ?’ काठमाडौंको शान्तिनगरस्थित मिलिजुली चोकमा रहेको अम्बिका एन्ड जनरल सप्लायर्समा एक अपरिचितको फोन आयो । सप्लायर्स सञ्चालक जीवराज थपलियाले सोधे, ‘कुन ग्यास होला ? को बोल्नुभएको ?’  ‘सगर ग्यास हो,’ उत्तर आयो, ‘म यहीँ शान्तिनगर बस्छु ।’
 
सम्भवतः थपलियाले फोन गर्ने मानिस चिनजानकै होला भन्ने सोचे र भने, ‘सगर त छैन, सिद्धार्थमात्र छ, सिलिन्डर नै किन्ने हो भने ४५ सय पर्छ ।’
‘भइहाल्छ नि, काम गर्ने मान्छे पठाइदिन्छु है त,’ फोनमा उत्तर आयो । वार्तालाप सकिएको केहीबेरमै जीवराजले ती अपरिचितलाई कल ब्याक गरेर सोधे, ‘के काम गर्नुहुन्छ ? रेस्टुरेन्टका लागि हो भने ग्यास दिन मिल्दैन ।’ ‘घरकै लागि हो,’ जवाफ आयो, ‘म कलंकी नापी शाखामा काम गर्छु । अधिकृत हुँ ।’
‘ए, त्यसो भए भइहाल्छ,’ थपलियाले फोन काटे । त्यसको २ घन्टा बित्दानबित्दै थपलिया प्रहरी खोरमा थिए । ग्यास चाहियो भन्दै फोन गर्ने अपरिचित व्यक्ति स्वयं वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट थिए । कालोबजारीको प्रमाणसहित प्रहरी खोरमा पुग्ने थपलिया सम्भवतः पहिलो ग्यास डिलर हुन् ।
कुरो सोमबारकै हो । दिउँसो यस्तै १ बज्न लागेको हुँदो हो, मन्त्री भट्टले आफ्नो टेबुलमा एउटा कागज फेला पारे । त्यो कुनै व्यक्तिले ग्यास कालोबजारीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको उजुरीको बोधार्थ थियो । त्यसमा ग्यास कालोबजारी गर्नेको फोन नम्बर पनि उल्लेख थियो ।
बजारमा चरम अभाव भएपछि आपूर्ति सहज बनाउन केही समययता ग्यास उद्योग र डिपोमा आफैं अनुगमन गरिरहेका मन्त्री भट्टले उक्त नम्बरमा तत्काल फोन गरे । त्यसपछि माथिको वार्तालाप भएको हो ।
वार्तालापपछि मन्त्री भट्टले ४५ सय रुपैयाँ निकाले र नोटमा सही गरे । त्यसपछि उनले आफ्नै पीए गणेश बिष्टलाई नोट थमाए । बिष्ट उक्त सप्लायर्समा पुगे र पैसा बुझाएर सिदार्थ ग्यासको सिलिन्डर खरिद गरे । बिष्टको पछिपछि गएका वाणिज्य विभाग र जिल्ला प्रशासनका अधिकारीहरूले तत्काल थपलियालाई समाते । ‘थपलियालाई समातेर तीनकुनेस्थित प्रहरी चौकीमा बुझायौं,’ विभागका बजार निरीक्षक अधिकृत कमल थापाले भने, ‘उनीमाथि कालोबजारी अभियोगमा कारबाही हुनेछ । त्यसका लागि विभागले जिल्ला प्रशासनलाई पत्राचार गर्छ ।’
सिलिन्डरसहित ग्यास किन्दा उपभोक्ता मूल्य करिब ३ हजार ५ सय रुपैयाँ पर्छ । तर बजारमा ग्यास अभावको मौका छोपी केही उद्योगी/व्यापारीले नाफाका लागि नयाँ सिलिन्डर बेचिरहेछन् । मोटो कमिसनको लोभमा डिपो सञ्चालकले पनि कालोबजारीलाई सघाइरहेछन् । थपलिया त्यसका एउटा उदाहरण हुन् । सामान्यतया नेपालमा ग्यासको मासिक खपत करिब १५ हजार टनमात्र हो । दुई महिनाअघि भारतीय आयल निगम (आईओसी) ले तेस्रो देशबाट आयात गरेर नेपाल आयल निगमलाई पर्याप्त ग्यास दिन नसक्दा चरम अभाव भएको थियो । तर फेब्रुअरी र मार्चमा खपतभन्दा बढी अर्थात् मासिक करिब १७ हजार ५ सय टन ग्यास आयात भएको छ । तर पनि व्यवसायीले कृत्रिम अभाव बनाई कालोबजारी गरिरहेछन् ।
मासिक घाटा १ अर्ब ५२ करोड
यसैबीच आईओसीले आइतबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा गरेको मूल्य हेरफेरअनुसार निगमको मासिक घाटा १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । नयाँ मूल्यअनुसार निगमलाई प्रतिसिलिन्डर ग्यासमा ८ सय २ रुपैयाँ र प्रतिलिटर डिजेलमा १२ रुपैयाँ ६३ पैसा घाटा छ । ‘घाटा बढेर प्रतिसिलिन्डर ग्यासमा ८ सय २ रुपैयाँ र प्रतिलिटर डिजेलमा १२ रुपैयाँ ६३ पैसा पुगेको छ,’ निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भने ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको भन्दै निगमले गत मंगलबारमात्र प्रतिलिटर डिजेल, मट्टतिेल र पेट्रोमा ४ रुपैयाँ मूल्य वृद्धि गरेको थियो । त्यसका बाबजुद निगमलाई प्रतिलिटर डिजेलमा १० रुपैयाँ ५२ पैसा घाटा र प्रतिसिलिन्डर ग्यासमा ५ सय ६३ रुपैयाँ ४० पैसा घाटा थियो । आईओसीले आइतबार मूल्य वृद्धि गरेपछि नाफा घटेर प्र्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ६५ पैसा, मट्टतिेलमा ६७ पैसा, आन्तरिक हवाई इन्धनमा २४ रुपैयाँ ५२ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ रुपैयाँ १८ पैसामा झरेको छ ।
यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा ३ रुपैयाँ ७७ पैसा र प्रतिलिटर मट्टतिेलमा ४ रुपैयाँ ८८ पैसा नाफा थियो भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २५ रुपैयाँ २५ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धनमा १९ रुपैयाँ ९१ पैसा नाफा थियो । त्यसैगरी निगमको मासिक घाटा यसअघि १ अर्ब २ करोड ९९ लाख रुपैयाँ थियो ।
तपाईको प्रतिक्रिया