Deneme Bonusu Veren Siteler
बिहिबार, पौष १८, २०८१
Thursday, January 2, 2025
सुर्खेत- शिखर उच्चमाविकी छात्रा तारा राना बिहीबार दशरथपुरस्थित एसएलसी परीक्षा केन्द्रमा दुईदिने शिशु काखमा राखेर परीक्षामा सामेल भइन्। परीक्षामा केही असहज भए पनि ‘शिशु-अधिकार’प्रति सचेत हुँदै दुग्धपान गराएको उनले बताइन्।
‘मेरा लागि एसएलसी र बाबु दुइटै समान महत्वका छन्,’ ताराले भनिन्, ‘त्यसैले बाबुलाई काखमा राखेर परीक्षा दिइरहेकी छु।’
नियमिततर्फ परीक्षामा सामेल ताराले बुधबार परीक्षामा बसेकै बेला शिशु जन्माएकी हुन्। शिशुको नाम दशरथ राखिएको छ। तीन घन्टाको समयमा शिशुलाई पाँचपटक दुग्धपान गराएको उनले बताइन्। ‘दूध खाने त उसको पहिलो हक हो,’ उनले भनिन्, ‘आमाको एसएलसी छ भनेर चुपचाप बस्ने कुरा भएन क्यारे!’
यस वर्षको एसएलसीमा सुर्खेतमा शिशु-अधिकारप्रति सचेत ताराजस्ता थुप्रै आमा सहभागी भए, जसले परीक्षालाईजस्तै आफ्नो काखका बालकलाई पनि ध्यान दिए। चारमहिने छोरालाई काखमा राखेर एसएलसी दिइरहेकी जनज्योति मावि कालपानीकी झरना जिसीले बच्चालाई काखमा राखेर एसएलसी दिँदा नयाँ अनुभूति भएको बताइन्। ‘दुई-तीन चोटी दूध खुवाउनुपर्छ, तैपनि कुनै समस्या छैन,’ उनले भनिन्।
छिन्चुस्थित शारदा उच्चमावि केन्द्रमा झरनाजस्तै अन्य तीन परीक्षार्थी काखे बालकसहित परीक्षामा सहभागी छन्। उनीहरूको लागि परीक्षा व्यवस्थापन समितिले दूग्धपान गराउने समय मिलाएको छ। ‘एक पटकमा पाँच मिनेट दूध खुवाउनका लागि दिएका छौं,’ केन्द्राध्यक्ष जीवन गौतमले भने, ‘यति नगरे बालअधिकार हनन् भैगो नि!’
छिन्चुमा आमाहरूको लागि छुट्टै कोठाको व्यवस्था नभए पनि दशरथपुर केन्द्रमा भने अलग्गै परीक्षाकोठा व्यवस्था गरिएको छ। शिशुसहितका परीक्षार्थीले शान्त र मनोरम वातावरणमा परीक्षा दिन पाऊन् भन्ने उद्देश्यसाथ अलग्गै कोठा व्यवस्था गरिएको केन्द्राध्यक्ष लोकबहादुर खत्रीले बताए।
जिल्ला शिक्षा कार्यालयका अनुसार सुर्खेतमा परीक्षाअवधिमा तीन छात्राले बच्चा जन्माएका छन्। यसबाहेक जिल्लाभर दूधे बालकसहितका ४७ परीक्षार्थी सहभागी भएका कार्यालयको तथ्यांक छ। जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले परीक्षा हलमै सुत्केरी भएकाहरूलाई छुट्टै कोठा र अन्य छात्राका लागि दूग्धपान गराउने उपयुक्त स्थान व्यवस्था गरिएको बताए। ‘सुत्केरी छात्राहरूको लागि विशेष परीक्षा हलको व्यवस्था गरे राम्रो हुन्थ्यो, सम्भव भएसम्म यो वर्ष हामीले त्यो प्रयास गर्‍यौं,’ उनले भने।
तपाईको प्रतिक्रिया