Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

भरत कोइराला, पोखरा –  आकाशे रंगका पोशाक लगाएर विद्यार्थीहरु लाममा बसेका थिए । कतिबेला आफ्नो पालो आउला भनेर उनीहरुको मन आत्तिरहेको थियो । आफूभन्दा अघि लाइनमा बसेका साथीले शैक्षिक सामग्री सहितका उपहार हात पारिसके तर आफूले कतिबेला पाइन्छ होला भनेर प्रतिक्षामा बसिरहेका थिए कास्कीको लुम्ले गाविसमा रहेका तान्चोक माझगाउँ प्राथमिक विद्यालयका विद्यार्थीहरु ।

फुर्सदको समयमा नेपाल घुम्न आएको जापानी टोलीले हालै विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीलाई शैक्षिकसहित अन्य सामग्री मात्र हैन विद्यालयलाई चाहिने फर्निचर समेत प्रदान गरेको छ । जापानको ओशाकास्थित इण्डिपेन्डेन्ट इन्स्योरेन्स एशोसियसनको टोलीले विद्यार्थी र विद्यालयलाई दुइ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

दलित विद्यार्थीको बाहुल्य रहेको विद्यालयमा निम्न आय भएका अभिभावकका छोराछोरी पढ्ने गरेको प्रधानाध्यापक ताराप्रसाद गुरुङले बताए । ७० विद्यार्थीमध्ये व्राम्हृण परिवारका तीन र गुरुङ परिवारका तीन वाहेक सबै दलित छन् ।

ओशाकाबाट कुरोइशीको नेतृत्वमा आएको टोलीले शैक्षिक तथा सामाजिक विकास केन्द्र (इसोडेक) को सहकार्यमा सहयोग गरेको हो । विसं २०१२ मा स्थापित विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि आग्रह गरेअनुसार सहयोग प्राप्त भएको इसोडेकका महासचिव निरज थापाले जानकारी दिए । सामग्री पाएपछि उत्साहित भएका विद्यालयका कर्मचारी र विद्यार्थीको खुसीले टोली झनै उत्साहित भएको छ ।

सहयोग शैक्षिक सामग्रीमा डेस्क बेञ्च, सूचनाबोर्ड, शिशु कक्षाको लागि उपयुक्त टेबल, कुसनलगायत छन् । कार्यक्रममा टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर गुरुङ, प्रअ ताराप्रसाद गुरुङ, पूर्व प्रअ एवं निवर्तमान गाविस अध्यक्ष हरिन्द्र गुरुङ र शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमारी गुरुङलाई संयुक्त रुपमा सामान हस्तान्तरण गरेको थियो ।

टोली नेता कुरोइशीले नेपाल घुम्ने क्रममा यहाँका विद्यार्थी र विद्यालयको अवस्था दयनीय देखेर सहयोग गरिएको बताए । यो हाम्रो सानो सहयोग हो, तर यसको प्रभाव सकारात्मक हुनेमा हामी आशावादी छौं, उनले भने ।

विगत लामो समयदेखि कास्की जिल्लाका विभिन्न विद्यालयहरुमा भौतिक तथा शैक्षिक सामाग्रीहरु सहित छात्रवृत्ति वितरण गर्दै आईरहेको संस्था इसोडेकले आगामी दिनमा सहयोगको लागि थप पहल गर्ने महासचिव निरज थापाले बताए। ***

तपाईको प्रतिक्रिया