Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
नवीन अर्याल
काठमाडौँ-  सन् २००१ मा स्पेनमा विश्व क्लब च्याम्पिनसिपको दोस्रो संस्करण आयोजना हुँदै थियो। त्यतिबेला विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष थिए, सेप ब्लाटर। तर दुर्भाग्य, फिफामा व्याप्त आर्थिक अनियमितताका कारण फिफाको व्यावसायिक साझेदार ‘इन्टरनेसनल स्पोर्ट्स एन्ड लेजर (आइएसएल)’ विघटन भयो। अन्तर्राष्ट्रिय फुटबलमा यसको असर यति ठूलो देखियो, सन् १९९८ मा पहिलो पल्ट फिफा अध्यक्षको पदभार सम्हालेका ब्लाटरले क्लब च्याम्पियनसिप प्रतियोगिता नै स्थगन गर्नुपर्‍यो।
 
यसको असर सन् २००२ जापान र दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको विश्वकपमा मात्र होइन, २००६ जर्मनीमा सम्पन्न अर्को विश्वकपमा पनि देखियो। आइएसएलको विघटनका कारण फिफाले घाटा मात्र ४ करोड अमेरिकी डलर बेहोर्नुपर्‍यो। यो घटनापछि विदेशी समाचारमा पहिलो पल्ट फुटबलको सर्वोच्च संस्था फिफा र यसका पदाधिकारीले फुटबलको नाममा कसरी लुट मच्चाउँछन्, छताछुल्ल भयो।
ब्राजिलका जाओ हाभलान्जोको उत्तराधिकारीका रूपमा ब्लाटरले फिफाको सर्वोच्च कार्यकारीको भूमिका निर्वाह गर्दा ठानिएको थियो- सन् १९७५ देखि फिफामा आबद्ध स्विस आइस हकीका यी पूर्व महासचिवको अनुभवले फुटबलमा आर्थिक पारदर्शिता पालना गराउनेछ। तर, त्यसको ठिक उल्टो ब्लाटरलाई १९९८ को पहिलो निर्वाचनमै आरोप लाग्यो, उनले फिफा अध्यक्षका रूपमा आफूलाई उभ्याउन अफ्रिकन फुटबल संघका उपाध्यक्ष फारा आडुसँग पूरै क्षेत्रको भोट किन्न १ लाख अमेरिकी डलर खर्चिएको। अध्यक्ष भएपछि उनलाई अर्को आरोप पनि लाग्यो- उनकै साँठगाँठमा फिफामा आर्थिक चलखेल बढ्यो।
उनले तेस्रो पार्टीसँग गोप्य आर्थिक सम्झौता गरे। त्यतिबेला उनीमाथि आरोप लगाउने अरू कोही थिएनन्, उनकै विश्वासपात्र तथा फिफा महासचिव मिचेल जेन रुफिनेन।
तर, पछि रुफिनेनले यसको मूल्य चुकाउनुपर्‍यो। उनलाई ब्लाटरले २००२ मा पदच्युत गरे। त्यतिबेला ब्लाटर आफ्नो ४ वर्षे विवादास्पद कार्यकाल पूरा गरेर दोस्रो कार्यकालका लागि फिफा अध्यक्षको मनोनयन दर्ता गर्दै थिए। उनीमाथि भ्रष्टाचारको अनेक आरोप थिए। तर, कतारी व्यापारी मोहम्मद बिन हमामको आर्थिक तथा नैतिक दुवै समर्थन पाएका ब्लाटर दोस्रो कार्यकालका लागि फेरि चुनिए।
त्यतिबेला ब्लाटरको नारा थियो- फुटबललाई भ्रष्टाचारमुक्त बनाउने। तर, उनी दोस्रो कार्यकालमा आर्थिक मात्र होइन, थुप्रै मुद्दामा उल्भि्कए। एकपल्ट अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाले उनलाई अन्तर्वार्ताकै क्रममा ‘फुटबल धमिरा’ भनिदिए। त्यतिबेला रिसले आगो भएका ब्लाटरले म्याराडोनाबारे भनेका थिए, ‘मैले चिनेको अर्जेन्टिनाको अन्तिम महान खेलाडी डि स्टेफानो हुन्।’
२००४ मा पुरुष समर्थकलाई आकर्षित गर्न महिला खेलाडीले छोटो स्कर्ट र टाइट भेस्ट लगाउनुपर्ने उर्दी सुनाएका थिए ७५ वर्षे ब्लाटरले। यसैका कारण उनले माफी माग्नुपर्‍यो। अझ, २००६ को विश्वकपमा रुसी रेफ्री भालेन्टिन इभानोभका विषयमा उनको टिप्पणीले रेफ्री जगत नै क्रुद्ध बनेको थियो। उनले २००६ को विश्वकपमा पोर्चुगल-नेदरल्यान्ड्स खेलमा १६ वटा पहेँलो कार्ड तथा ४ वटा रातो कार्ड देखाएका इभानोभविरुद्ध व्यंग्य गर्दै भनेका थिए, ‘इभानोभले आफैलाई पहेँलो कार्ड देखाउँदा हुन्छ, आफ्नो खराब निर्णयका लागि।’ त्यतिबेला ब्लाटरविरुद्ध नराम्रो माहोल बनिसकेको थियो, उनले इभानोभसँग क्षमा माग्ने बताउँदै यो मुद्दालाई थामथुम पार्ने प्रयास गरेका थिए। तर, पछि न उनले इभानोभसँग माफी मागे, न उनलाई अर्को खेलमा रेफ्रीको भूमिका नै दिइयो। यही विश्वकपको फाइनलमा इटालीले फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी उचाल्दा पुरस्कार वितरण समारोहमा गएनन्, ब्लाटर। उनलाई त्यतिबेला फ्रान्सले हारेको झोकमा पुरस्कार वितरण समारोहमा नगएको आरोप लाग्यो। तर,पछि उनले भने, ‘म फ्रान्सले हारेका कारण पुरस्कार समारोहमा नआएको होइन। मेरोविरुद्ध सिटी बज्छ भनेर नआएको हो।’
ब्लाटरले दोस्रो कार्यकालमा पनि आफूले घोषणा गरेझैं फुटबललाई पारदर्शी बनाउन नसकेको आरोप लाग्यो। त्यसैले २००७ मा तेस्रो कार्यकालका लागि फिफा अध्यक्ष पदमा उभिँदा उनीविरुद्ध युरोपेली फुटबलका हस्ती एकजुट नभएका होइनन्। तर, आफ्ना अति विश्वासी मोहम्मद बिन हमाम र त्रिनिडाड एन्ड टोबाकोका अध्यक्ष ज्याक वार्नरको ‘सहयोग’मा ब्लाटर फेरि तेस्रो कार्यकालका लागि चुनिए। यतिबेला पनि उनको कार्यकाल विवादरहित बन्न सकेन।
सन् २०१८ मा रुसलाई विश्वकप आयोजना गर्न दिने निर्णय तथा २०२२ मा कतारको सहआयोजनाको निर्णयलाई ब्लाटर नेतृत्वको अर्को ठूलो भ्रष्टाचारका रूपमा हेरियो।
‘फाउल! दि सेक्रेट वर्ल्ड अफ फिफा ब्राइब्स’ का लेखक एन्ड्र्यु जेनिङ्सले आफ्नो किताबमा भनेका छन्- सुरुका दिनमा ब्लाटरको वार्षिक अदृश्य आम्दानी ९ लाख पाउन्ड थियो। २००६ मा प्रकाशित उनको किताबमा ब्लाटर, वार्नर र चुक ब्लाजेलगायत केही पदाधिकारी आर्थिक चलखेलमा सक्रिय भएको बताइएको छ।
यही आर्थिक चलखेललाई चिर्न गत जुनमा एसियाली फुटबल महासंघका अध्यक्ष मोहम्मद बिन हमामले चौथो कार्यकालका लागि फिफा अध्यक्षमा उठ्न लागेका ब्लाटरलाई दह्रो चुनौती दिन खोजेका थिए। तर, उनी निर्वाचनअघि नै मत प्रभावित पार्न फिफा उपाध्यक्ष तथा ८ वर्षदेखि ब्लाटर निकट वार्नरलाई पैसा दिएको आरोपमा मुछिन पुगे। हमाममाथि वार्नरलाई क्यारेबियन क्षेत्रका २५ सदस्यलाई ४० हजार अमेरिकी डलरको हिसाबले पैसा बाँडेको आरोप लागेको छ। यही कारण हमामलाई फिफाले आजीवन प्रतिबन्धको सजाय सुनाइसकेको छ। कुनै बेला ब्लाटरलाई फिफा अध्यक्ष जिताउन महŒवपूर्ण योगदान गरेका तथा ८ वर्षदेखि एसियाली फुटबलमा आफ्नो दह्रो पकड बनाएका हमामको पतनपछि अहिले फिफाको निर्विवाद एक्लो ‘डन’ बन्न पुगेका छन्, ब्लाटर।
यिनै ब्लाटर एएफसी च्यालेन्ज कपको मौका छोपेर गत बिहीबार आफ्नो निजी विमानबाट काठमाडौं आइपुगे। एकदिने नेपाल बसाइका क्रममा उनले नेपालका अग्रज राजनीतिज्ञ मात्र भेटेनन्, नेपाल र प्यालेस्टाइनबीचको उद्घाटन खेल पनि हेरे। शुक्रबार पत्रकारसँगको साक्षात्कारमा आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा उनले भन्न भ्याए, ‘नेपालीको खेल बार्सिलोनाजस्तै रहेछ। तर, यो टोलीमा मेसी रहेनछन्।’ उनले २४ घन्टे नेपाल बसाइक्रममा राष्ट्रपति रामवरण यादवदेखि प्रधानमन्त्री बाबुराम भट्टराईसम्म भेट्न भ्याए। तर, नेपाली फुटबलका लागि कुनै ठोस प्रतिबद्धता जनाउन चाहेनन्।
एएफसीका निलम्बित अध्यक्ष तथा ब्लाटरका प्रत्यासी बिन हमाम सन् २००५ मा एएफसी प्रेसिडेन्ट कपको उद्घाटनका लागि काठमाडौं आउँदा नेपाललाई दिँदै आएको आर्थिक सहयोग बढाउने घोषणा गरेका थिए। यसवापत उनलाई गोरखा दक्षिणबाहु दिइएको थियो।
आर्थिक अनियमितता सम्बन्धी दर्जन मुद्दा एकै पल्ट खेपिरहेका ब्लाटरको नेपाल आगमनलाई धेरैले स्वाभाविक मानेका छन्। तर, यसअघि पनि नेपाल आउने प्रचार गरिएका ब्लाटर आफ्नो व्यस्त समयतालिका छोडेर नेपाल लगायत बंगलादेश, भुटान र भारत भ्रमणमा निस्कनुलाई स्वाभाविक मान्न सकिन्न।
एएफसीमा बिन हमामको बहिर्गमनलाई अहिले नेतृत्वको खडेरीसँग जोडेर हेर्न थालिएको छ। यस अवस्थामा ब्लाटरले हमामको ‘पकेट’ मानिएको दक्षिण एसियाली देशको भ्रमण एकैसाथ गरेका छन्। ब्लाटरले यसपालि मात्र होइन, विगतमा पनि फिफाको निर्वाचन जित्न एसिया, अफ्रिका र कनकाकाफबाट ‘सहयोग’ पाउँदै आएका छन्। एसियामा मजबुत पकड बनाएका हमामलाई आजीवन प्रतिबन्ध लगाउने आफ्नो निर्णयले यो क्षेत्रमा आफ्नो ‘भोट ब्याङ्क’ नखलबलियोस् भन्ने ब्लाटरलाई लागेको हुनुपर्छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले फिफाको निर्वाचनअघि आफ्नो मत बिन हमामलाई जाने घोषणा गरेका थिए। त्यतिमात्र होइन, उनले हमामको प्रस्तावक नै आफू बस्ने सार्वजनिक गरेका थिए। हमामकै सहयोगमा गत वर्ष थापा एएफसी उपाध्यक्षसमेत बन्न सफल भए।
‘ब्लाटरले एसिया भ्रमणलाई प्राथमिकता दिनुको कारण अनेक हुन सक्छन्। तर, उनको भ्रमणले हिजो हमामसँग राम्रो सम्बन्ध भएका फुटबल राष्ट्रका अध्यक्षलाई ब्लाटरसँग पनि आफूलाई स्थापित गर्न मद्दत पुग्नेछ,’ एन्फाका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतले स्थापित गरेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणा भन्छन्।
हमाम प्रतिबन्धित भएपछि अहिले एएफसीको कार्यकारी अध्यक्ष पद चीनका झाङ जिलोङले सम्हाल्दै आएका छन्। ‘फिफामा ब्लाटरको इमेज त्यति राम्रो छैन। हमामको कारबाहीप्रति पनि अरेबियन राष्ट्र त्यति खुसी देखिँदैनन्। प्रायः अरेबियन राष्ट्र ब्लाटरको विपक्षमै छन्। पछिल्लो समय एसियामा अरेबियन राष्ट्रको बढ्दो प्रभावलाई कम गर्न पनि ब्लाटरको भ्रमण भएको हुन सक्छ,’ सन् १९९२ मा नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा एन्फा अध्यक्ष रहेका पुरुषोत्तमप्रसाद श्रेष्ठ भन्छन्।
हमामसँग पैसा लिएको आरोपमा फिफासँग २८ वर्ष लडेका ज्याक वार्नरले निर्वाचनअघि नै फिफा उपाध्यक्षबाट पदत्याग गर्नुपरेको थियो। यसपछि मात्र वार्नरले फुटबलमा स्वयंसेवा गरेको दाबी गर्दै आइरहेका फिफा अध्यक्ष ब्लाटरको मासिक तलब १० लाख अमेरिक डलर रहेको खुलासा गरेका थिए।
तपाईको प्रतिक्रिया