बिन्दास कोमलमा विवाद र प्रसिद्धिलाई एकैसाथ थेग्न सक्ने क्षमता छ। उनी आफ्ना राजनीतिक सम्पर्कका कारण विवादमा आइरहेकी हुन्छिन् र आफ्ना मौलिक शब्दका कारण प्रसिद्धिको सुख भोगिरहेकी हुन्छिन्। ‘पोइल जान पाम्’ भन्ने उनको गीतले नेपाली संगीतमा ठूलै तरंग ल्याएको थियो। तरंग नआएसम्म त कोमल ओलीको चित्तै बुझ्दैन।
नेपाली गीत संगीतको क्षेत्रमा उनको गायकीको अर्को कुनै जोडा छैन भने पनि हुन्छ। ‘मलमल किरी जुनकिरी’ बाट लोकप्रियताको शिखर चुमेकी गायिका कोमल ओलीको लोकलयको क्षेत्रमा विशिष्ट योगदान छ। संगीत र मनोरञ्जनका कार्यक्रममा उनलाई हेर्ने र सुन्ने दर्शक-स्रोताको संख्या लाखौं नाघ्दछ। ढल्किन थालेको यौवनलाई उछिन्दै आफू झन् झन् तरुनी भएको महसुस गर्ने कोमल ओलीको जीवनका पानाहरू अहिलेसम्म कसैले पूरा पढ्न पाएका छैनन्। यो अन्तरंग वार्तामा स्वरुप आचार्यले उनको जीवनका ती पानाहरू पढ्ने कोसिस गरेका छन्।
हिजोआज के गर्दै हुनुहुन्छ?
नयाँ एल्बमको रेकर्डिङ। मोफसलमा कन्सर्टहरू गरिरा’छु। रेडियो नेपालको नियमित काम छँदै छ।
‘मैले ल्याउन पाम्’ भन्नेलाई काउन्टर दिनुभएन?
‘मैले ल्याउन पाम्’ भन्ने त अमेरिका गइहाले। तिनलाई काउन्टर दिनुपर्ने जरुरत नै परेन। केही नयाँ गरूँ भनेर लागेको छु।
यो पालिको एल्बमको थिम के हो त?
एल्बमको नामै छ, ‘मै हुँ हजुर तिम्री तरुनी।’ केटी गाउँछे, ‘सल्ली रुख बरुनी, मै हुँ हजुर तिम्री तरुनी।’ केटा गाउँछ, ‘बिहे गरी लाने भए तिम्रै घर जान्छु, हैन भने मोटर चढाई मेरै घर लान्छु।’
अब यो बुढ्यौलीमा के को ‘तिम्री तरुनी’?
हैन। गीत पो हो त। रमाइलो। फुलभोल्युम इन्टरटेनिङ। तै पनि, म कहाँ बुढी भएकी छु र? बुढी हुन अझै २०/२५ वर्ष बाँकी छ।
व्यावसायिक रूपमा कहिलेदेखि गाउन थाल्नुभयो?
२०४४ सालमा एसएलसी दिएर काठमाडौँ आएँ। त्यसै बेला लोकदोहोरी एल्बम ‘राप्तीको झरना’ रेकर्ड गराएकी थिएँ। त्यहीबाटै सुरु भयो, मेरो गीति यात्रा।
दाङको टिकरीमा जन्मिनुभयो। गीत गाएर नाम र दाम कमाउनुभयो। अहिले यहाँ यसरी अन्तर्वार्ता दिइरहेका बेला जिन्दगीलाई फर्केर हेर्दा कस्तो लाग्छ?
चुनौतीपूर्ण, संघर्षमय र रमाइलो।
चुनौतीपूर्ण? किन नि?
हरेक स्टेपमा चुनौती छ नि। यत्रो प्रतिस्पर्धा छ।
तर, तपाईँ त अब्बल हुनुहुन्छ नि आफ्नो विधामा?
त्यही मेन्टेन गर्नु पनि त चुनौती हो नि।
रमाइलो चाहिँ बन्धन नभएकाले होला, होइन?
सामाजिक बन्धन व्यक्तिगत बन्धनभन्दा धेरै तगडा हुन्छ। त्यसैले बन्धन छैन भन्ने म मान्दिनँ।
सामाजिक बन्धन त तोड्नकै लागि बनाइएको हुन्छ। यसमा पनि कोमल ओली अब्बल छिन् भन्छन् नि मानिसहरू…
आम्मा! हैन। कसले भन्यो? मैले त्यस्तो के गरेँ र? तपाईँलाई किन त्यस्तो लाग्यो?
उमेर ढल्किसक्दा पनि बिहे गर्नुभएको छैन। सार्वजनिक रूपमै ‘मलाई पोइल लग् आँट भए’ भनेर चुनौती दिनुहुन्छ। धेरै उदाहरण छन्। के भन्नुहुन्छ?
कति बुढी-बुढी भनिरा’? समाजबाट बहिस्कृत भएर बिहे नगरेको त हैन नि मैले। कतिपय मान्छेले बिहे नगरी पनि आफ्नो काम गरेर बाँचिरहेका हुन्छन्। त्यसै भन्ने हो भने त तिमीले चैँ किन बिहे नगरेको त? सामाजिक बन्धन तोडेको हो त?
मेरो बिहे गर्ने उमेर भएको छैन। कुरा निस्किहाल्यो, तपाईँ भन्नुस् न, तपाईँले बिहे किन गर्नुभएन?
रियालिटी भन्ने हो भने, म इन्टर पढ्दा मेरा साथीहरूको भटाभट बिहे भइराथ्यो। मलाई पनि बिहे गर्ने, लोग्नेसँग हात समाएर हिँड्ने रहर जागेको थियो।
अनि उमेरसँगै त्यो रहर केबल ‘फ्यान्ट्यासी’ मात्र लाग्न थाल्यो होला, होइन?
त्यस्तो होइन। एकजना मन परेको पनि हो। ल, अब बिहे गर्छु भनेर सोची पनि सकेको थिएँ। ऊ मेरो घरमा आयो, सबै कुरा भयो। त्यसपछि मेरो बुबाले मलाई बोलाएर के सोध्नुभयो भने, ‘तिमी कसैको श्रीमतीमात्र भनेर चिनिन चाहन्छौ कि कोमल ओली भनेर चिनिन चाहन्छौ?’ मैले त्यो बेला दोस्रो विकल्प रोजेँ। त्यसपछि मैले बिहे गर्ने फुर्सद नै पाइनँ।
घरमा बाबुआमासँग भेट्न बोलाउनुभयो र भोलिपल्ट म ‘कोमल ओली’ बन्न चाहन्छु भनेर डिसिजन सुनाउनुभयो। बिचरो, त्यो केटालाई त धोका दिनुभयो। होइन?
‘तिमी आकाशकी जुन, म धर्तीको धुलो’ भा थिएन। त्यति ठूलो अफेयर थिएन त्यो। बिहे नगरेर मरिहाल्ने कन्डिसन थिएन। सहमतिमा बिहे नगर्ने गरी कुरो टुंगियो।
अनि, लभ लेटर कत्तिको आयो त? ओइरो लाग्यो होला, नि?
धेरै आउँथे। ‘मलाई तिमी मन पर्छ’ भन्थे। म पनि के कम? ‘मलाई पनि तिमी एकदम मन पर्छ’ भनिदिन्थेँ। धेरैजना मन परेको पनि हो। तर, बिहेको बारेमा कहिल्यै सोचिनँ। ‘हाहु’ गरेरै उडाइदिएँ।
तपाईँ अगाडि बढ्नुभयो। कोमल ओली बनेर चिनिनुभयो। पहिचानको पहाड नै बनाउनुभयो। अब पनि बिहे नगर्ने त?
बिहे नै सबैभन्दा ठूलो कुरा होइन। बिहे हुनु जिन्दगीको ठूलो जीत हो, नत्र म हारेँ भनेर सोच्नुहुन्न। त्यो सोचाइ नै गलत होजस्तो लाग्छ लाग्छ।
मैले जित-हारको कुरा गरेकै होइन। तपाईँलाई बिहे गर्ने इन्ट्रेस्ट छ कि छैन? फुल एन्ड फाइनल?
जरुरी कुरा हो। हरेक मान्छेको बिहे हुनुपर्छ। नत्र समाज कसरी चल्छ र? समाज वैरागी हुन्छ, सबै अविवाहित भएभने। बिहे गर्न समय, वातावरण, परिस्थिति सबै मिल्नुपर्यो। केटा चाहियो। मैले अहिले बिहे गर्छु भनेर कोसँग बिहे गरूँ?
त्यसैले गीतमार्फत ‘गाँठ र आँट’ भएको केटा चाहियो भनेर विज्ञापन गरेको?
हाहा… त्यो त गीत हो नि! सबै गीतमा कहाँ वास्तविकता हुन्छ र?
गीतमा भावना त हुन्छ नि? तपाईँ त्यो अभिव्यक्त गर्ने माध्यम हो?
ओहो, कति पछि लागेको मेरो बिहेको पछाडि। विदेशमा मान्छेले ५५/६० वर्षको उमेरमा पनि त बिहे गरेका छन् नि। छैनन् र?
त्यसो हो भने, तपाईँ ६० कहिले पुग्नुहुन्छ?
२५/३० वर्षपछि। हाहाहा…
तपाईँ राजनीतिज्ञहरूजस्तो घुमाउरो कुरा गर्न माहिर हुनु हुँदो रहेछ। धेरै राजनीतिज्ञसँग उठबस भएर होला, हगि?
यस्ता कुरै नसोध्नुस्।
तपाईँलाई कहिल्यै राजनीति गर्न मन लागेन? अफर आएन?
देशको राजनीति सुधि्रयोभने म चुनाव लडेर, जितेर आउने हो। मनोनित हुने होइन।
तपाईँलाई के-के गर्न मन पर्छ?
जस्तै?
मलाई के थाहा, तपाईँलाई के-के गर्न मनपर्छ? तपाईँ भन्नुस् न।
मिठो-मिठो खानेकुरा खान, गीत गाउन, साथीभाइसँग गफ गर्न, टेलिभिजन हेर्न, म्युजिक सुन्न, पत्रपत्रिका पढ्न मन पर्छ। सामान्य जीवन जिउन पनि मन पर्छ।
तपाईँलाई मद्यपान गर्न पनि खुब मन पर्छ रे नि,हो?
मैले आजसम्म नखाएको चिज केही छ भने त्यो रक्सी हो।
मलाई विश्वास लागेन। बरु पिउन छाडेँ भन्नुस् न?
हैन, मैले खाँदै नखाएको कुरा कसरी छोड्नु? कस्तो जबर्जस्ती!
ल, ठिकै छ। तपाईँ अविवाहित मात्र हो नि, कुमारी त हैन नि?
म बिलकुल कुमारी केटी हुँ। द्येर इज नो डाउट।
तपाईँ केटी होइन, महिला हो। सामाजिक परिवेश र परिबन्दका कारण यसो भनिरहनुभएको छ?
कस्तो के! मलाई त्यो कुराले खासै फरक पर्दैन। मेरो आत्माले के भन्छ, म त्यसैलाई बढी महŒव दिन्छु।
तपाईँको आत्माले अहिले तपाईँलाई झुटो बोल्न हौस्याइरहेको छ?
हैन। यो नितान्त व्यक्तिगत कुरा हो। हाम्रो पनि पर्सनल लाइफ हुन्छ।
सेलिब्रिटीको पनि पर्सनल लाइफ भन्ने हुन्छ र?
हुन्छ नि! व्यक्तिगत जिन्दगी जिउन पाउने अधिकार हुन्छ, हामीलाई पनि। व्यक्तिगत स्वतन्त्रता भन्ने पनि त केही कुरा हुन्छ नि।
हाम्रो पनि त जान्न पाउने अधिकार छ नि?
छ। तर, त्यो भन्दैमा सबै कुरा जान्न पाउनुपर्छ भन्ने हुँदैन।
भन्दिन भन्न पाइन्छ। सोध्दै नसोध भन्नचाहिँ पाइँदैन-
‘कुमारी’को सेन्समा मेरो नाम ‘कोमल कुमारी ओली’ हो। यतिमै सकाउन चाहन्छु।
तपाईँ धेरै घुमाउरो कुरा गर्नु हुँदो रहेछ। धेरै डिप्लोम्याटिक भयो-
छैन। नगरेको कुरा के भनूँ त?
गरेको कुरा भन्नुस् न त। के के गर्नुभयो?
हाहाहा… यहाँसम्म सोधेपछि अब के बाँकी भयो र?
अनुहारमा खुब लिपपोत (मेकअप) गर्नुहुन्छ कि के हो? छालामा पर्ने चाउरी छोपिएजस्तो छ नि।
मलाई थाहा छ मेरो शरीरको कहाँ कहाँ रेखा परिसके। कति हतोत्साहित बनाउनुहुन्छ। मलाई मन पर्ने मेकअप भनेको गाजल र लिपस्टिकमात्र हो।
तपाईँको सुपर डुपर हिट गीत कुन हो?
मलमल किरी जुनकिरी।
त्यही गीतबाट स्थापित भएको हो त तपाईँ?
हो। त्यही गीतबाट म व्यावसायिक भएकी हुँ।
गीतमार्फत केटाहरूलाई खुब पोक गर्नुहुन्छ, हगि?
केटीहरूलाई पोक गर्ने कुरो आएन नि! केटाहरू आकर्षित हुन्छन्। अनि के गर्ने त?
त्यही त। तपाईँको उमेर पो ढल्केको त, गीत त जवान गाउनुहुन्छ नि?
मलाई वास्तविकतासँग परिचित गराएकोमा धन्यवाद। तर, म अझै जवान छु। मेरो उमेर ढल्केको छैन, अझ बढी झल्केको छ।
‘पोइल लान पाम्’ भनेर गाउनेलाई भेट्नुभयो कि नाइँ?
भेटेँ।
अनि ‘आँट र गाँठ’ थिएन त उसको?
आँट त थियो होला। लाने छाँटकाँट चाहिँ थिएन। हाहाहा…
तपाईँ खुब आशावादी हुनुहुन्छ, हैन?
जिन्दगी जिउने राम्रो सहारा हो आशा।
म तपाईँले कतिजनालाई प्रेम गर्नुभयो भनेर सोद्धिन। कतिजनालाई धोका दिनुभयो?
कठै! कसैलाई धोका दिएको छैन। कसैले आफ्नै सोचले धोका पाएको भए मलाई भन्नु केही छैन। मेरो उद्देश्य कसैलाई धोका दिने पनि छैन।
तपाईँको उपनाम ‘काली’ हो?
हैन। त्यो सब मेरोबारे अधकल्चो थाहा पाउनेहरूको अड्कलमात्र हो। कसैले मेरो जीवन पूरै पढ्न पाएकै छैन। मैले कसैलाई पढ्न दिएकी छैन।