समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ भने ६० जना घाइते भएका छन्। स्थानीय प्रहरी प्रशासनका अनुसार, आइतबार राति अचानक भएको भागदौडका कारण ठूलो क्षति पुगेको छ। घटनापछि उद्दारकार्य तीव्र पारिएको छ भने घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।
महाकुम्भ मेला यही जनवरी १३ बाट सुरु भएको हो। अहिलेसम्म १५ करोडभन्दा बढी श्रद्धालुहरूले गङ्गामा स्नान गरिसकेको अनुमान गरिएको छ। हिजो माघ कृष्ण औँसीका अवसरमा अमृत स्नानका लागि करिब १० करोड भक्तजन उपस्थित हुने अपेक्षा गरिएको थियो। तर, शनिवार राति प्रयागराजको सङ्गम क्षेत्रमा अकस्मात भागदौड मच्चिएपछि स्थानीय प्रशासनले अमृत स्नानलाई रद्द गरेको थियो।
यस घटनापछि मेलामा गएका परिवारका सदस्य तथा आफन्तहरू हराइरहेको भन्दै श्रद्धालुहरू चिन्तित देखिएका छन्। साथै, भक्तजनहरूले कुम्भ मेलाको व्यवस्थापन र सुरक्षाको प्रभावकारिता माथि प्रश्न उठाएका छन्।