Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024
  • कमलराज रेग्मी
विसं २००८ असार महिनाको कुरा हो। नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूबारे छलफल गर्न काठमाडौँमा एउटा भेलाको आयोजना गरिएको थियो। त्यस भेलामा भाग लिन काठमाडौँ आउने उद्देश्यले म पाल्पाबाट भैरहवा आएको थिएँ। त्यसबेला भैरहवा हुँदै काठमाडौँ आउनुपथ्र्यो।
डा केआई सिंहको पश्चिम नेपालमा ठूलो आकर्षण थियो। युवाका लागि त उनी ‘रोल मोडेल’ नै थिए। एकातिर नेपालमा प्रजातन्त्र आगमनको खुसीयाली मनाइँदै थियो भने अर्कोतर्फ ‘दिल्ली सम्झौता धोका हो’ भन्दै आन्दोलनको उद्घोष गरएिको थियो। २५ माघ ००७ मा भएको दिल्ली सम्झौतापछि ७ फागुनमा प्रजातन्त्रको घोषणा भयो। तर, त्यसको भोलिपल्टै सम्झौताको विरोधमा केआई सिंहको समूहले भैरहवामा ठूलो आक्रमण गर्‍यो। त्यसक्रममा सरकारतर्फका चार जनाको मृत्यु भयो भने सिंहतर्फका नौ जना मारएि। ९ फागुनमा नेपाल-भारत संयुक्त सुरक्षा फौजले ३ सय ५७ जना सशस्त्र कार्यकर्तासहित सिंहलाई पक्राउ गर्‍यो। यसरी भैरहवा जेलमा थुनिएका थिए सिंह।
भारतीय सैनिकको सहयोगमा पक्राउ परेका सिंहको चर्चा त्यसबेला धुरीमा थियो। उनका काम र व्यक्तित्वलाई लिएर विभिन्न किंबदन्ती बनेका थिए। किशोर सुलभ मन न हो, एकपटक भेटेर जाने मन बनाएर म पनि भैरहवा कारागारसम्म पुगेँ।
जेलभित्र बन्दी अवस्थामा भए पनि उनको जोस र जाँगर ज्यादै उच्चकोटिको थियो। मैले उनलाई देख्नासाथ भनेँ, “तपाईंको व्यक्तित्वको चर्चाले मलाई यहाँसम्म ल्याइपुर्‍यायो। तपाईंजस्तो मान्छेलाई भेट्न पाउँदा ज्यादै खुसी पनि लागेको छ।” उनले बुलन्द हौसला र उत्साहका साथ जेलभित्रैबाट भने, “स्याबास् ! तिमीहरूजस्तै नौजवानले यस देशको हित गर्न सक्छौ, अगाडि बढ!”
जेल कम्पाउन्डबाट बाहिर निस्किनासाथ मेरो मनमा अनेक किसिमका तरंग उठे। उनलाई पक्राउ गर्न भारतीय सुरक्षाकर्मीलाई नेपालभित्र प्रवेश गराएकामा सबैतिरबाट चर्को विरोध भइरहेको थियो। तसर्थ, तत्कालीन सरकारले सूर्यप्रसाद उपाध्यायको अध्यक्षतामा केआई सिंहको मुद्दा हेर्न भनी एउटा कमिसन -टोली) पठाउने निर्णय गर्‍यो। विरोध यति उत्कर्षमा पुगेको थियो कि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत लिखित जवाफ दिनुपरेको थियो।
भैरहवा जेलमा सिंहलाई भेटेर काठमाडौँ आएको दोस्रो दिन अचानक मलाई डा दिनेशलाल गंगोलको वटुस्थित घरबाट गिरफ्तार गरियो। म त अवाक् भएँ। मलाई दिइएको पक्राउ पुर्जीमै भनिएको थियो, ‘केआई सिंहको पक्षमा लागेर अशान्ति मच्याउन खोजेको हुँदा निजलाई शान्ति सुरक्षा अन्तर्गत नियन्त्रणमा लिन आवश्यक देखिएकाले गिरफ्तारीका निम्ति यो पुर्जी जारी गरिएको छ।’
यसरी सिंहलाई भेटेकै अभियोगमा गिरफ्तार गरी मलाई गोर्खा दलका भरतशमशेर जबराहरूलाई राखिएको मदनशमशेरको दरबारमा लगेर थुनियो। भरतशमशेरहरू जेल तोडेको, बीपी कोइरालालाई मार्ने प्रयासमा लागेको आदि अभियोगमा पक्राउ परेका थिए। त्यही अभियोगमा गोर्खा दलमाथि समेत प्रतिबन्ध लगाइएको थियो।
त्यसबेला मुलुकमा केआई सिंहको मात्र होइन, कम्युनिस्ट पार्टीको पनि जगजगी थियो। किनभने, कम्युनिस्ट पार्टीले पनि सिंहले जसरी नै दिल्ली सम्झौताको चर्को विरोध गरेको थियो। त्यसैले सिंह र कम्युनिस्ट पार्टीका कार्यकर्ता सरकारको चर्को निगरानीमा थिए।
जेलमा बस्ने क्रममै मैले फाँसीकी तख्ते से भन्ने प्रसिद्ध कृति नेपालीमा अनुवाद गरेँ। विभिन्न नाटक लेखेँ। क्रान्तिकारी कविता लेखेँ। त्यतिबेलाका मेरा रचना काठमाडौँका विभिन्न पत्रपत्रिकामा प्रकाशित पनि भएका छन्। उता मैले लेखेको नाटक ठक्कर पाल्पाको धवल पुस्तकालयको सहयोगार्थ पहिलोपटक सशुल्क प्रदर्शन गरयिो। टिकट काटेरै त्यो नाटक हेर्ने मान्छेको घुइँचो पाल्पामा थामिनसक्नुको थियो।
यत्तिकैमा २७ असार ००८ मा केआई सिंह भैरहवा जेल तोडेर भागे। सरकारले उनलाई डाँकु घोषणा गर्दै पक्राउ गर्नेलाई पाँच हजार रुपियाँ इनाम दिने भन्यो। भैरहवामा भारतीय सेना उतारिए पनि पहाडी इलाकासम्म उसको पहुँच सहज थिएन। सिंह पहाडी इलाकातिर गएर संगठनको काममा लागे। उनलाई पक्राउ गर्न अनेक प्रपञ्च भइरहेकै थियो। ‘श्री ५ बाट लेखिएको चिट्ठी’ भनी धोकामा पारी नेपाल सरकारका सैनिकहरूले स्याङ्जाको म्याकुरेनजिकैबाट घातक हातहतियारसहित ३३ जना कार्यकर्तासँगै सिंहलाई पुनः पक्राउ गरे। र, पहाडको बाटो हुँदै हिँडाएर काठमाडौँ ल्याई सिंहदरबारमा बन्दी बनाए।
केआई सिंह सिंहदरबारमा थुनिएको अवस्थामै ८ माघ ००८ को मध्यराती विद्रोहमा उत्रिए। सिंहदरबार कब्जा गरे। त्यसपछि त काठमाडौँमा हाहाकार नै मच्चियो। राजनीतिक पार्टीहरू सबैले आ-आफ्नै ढंगले त्यसको विरोध गरे। कम्युनिस्ट पार्टीले न विरोध गर्‍यो, न त समर्थनमै कुनै वक्तव्य जारी गर्‍यो। आफ्नै ढंगले यस घटनाको अध्ययन-विश्लेषण गररिहेको जानकारी कम्युनिस्ट पार्टीका तर्फबाट दिइयो।
९ माघका दिन दरबारका तर्फबाट यस विषयमा बुझ्न टंकप्रसाद आचार्य र गणेशमान सिंहलाई केआई सिंहकहाँ पठाइयो। सिंहले दरबारसामु पाँच माग राखे। राजा त्रिभुवन र केआई सिंहका बीच पत्राचारद्वारा संवादको क्रम पनि चल्यो। तर, केआई सिंह माग पेस गर्नासाथ त्यहाँबाट आफ्ना केही फौजी जवानलाई लिएर तिब्बतको बाटो चीनतर्फ भागे। त्यसको सुइकोसमेत कसैले पाएन। भागिसकेपछि मात्र काठमाडौँमा उनी गायब भएको सनसनीपूर्ण हल्ला चल्यो।
यस घटनामा कम्युनिस्ट पार्टीको संलग्नता थियो कि थिएन, अहिलेसम्म पनि रहस्य नै छ।। तर, त्यस घटनालगत्तै गौरीभक्त प्रधानले मिनीट्रक/जिपमा बसेर ‘यो जनताको विद्रोह हो’, ‘जनवाद आउने भयो’ भनेर पर्चा छरेको आरोपमा १० माघमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो। र, तीन दिनसम्म काठमाडौँमा अघोषित कफ्र्यु लाग्यो।
यसरी केआई सिंहलाई भैरहवा जेलमा भेटेकै कारण जेल परेपछि ५ देखि १३ असोज ००८ मा कोलकातामा आयोजित नेपाल कम्युनिस्ट पार्टीको प्रथम महाधिवेशनमा मैले भाग लिन पाइनँ। जुन महाधिवेशनले विधिवत् रूपमा कम्युनिस्ट पार्टीको महासचिव निर्वाचित गरेको थियो र कार्यसमिति चयन गरेको थियो। यही सम्मेलनपछि नेपाल कम्युनिस्ट पार्टीमा भारतीय संगठनकर्ताको उपस्थिति अन्त्य भयो। यसरी कम्युनिस्ट पार्टीको ऐतिहासिक प्रथम महाधिवेशनमा भाग लिन नपाएको पछुतो अहिलेसम्म मलाई छ। सायद त्यस महाधिवेशनमा भाग लिन पाएको भए प्रथम महाधिवेशनबाटै म केन्द्रीय समितिमा चुनिन्थेँ कि ! किनभने, दोस्रो महाधिवेशनबाट त सबैभन्दा धेरै मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएको थिएँ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
तपाईको प्रतिक्रिया