आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
  • उजिर मगर
काठमाडौं- अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यका राजनीतिक प्रस्ताव एउटै बनाउनुपर्ने मत बलियो हुँदै गएपछि एकीकृत माओवादी नफुट्नेतर्फ उन्मुख भएको छ। जारी केन्द्रीय समिति बैठकमा दाहाल र बैद्यका प्रस्ताव एउटै बनाउन र ‘नयाँ आधारमा नयाँ एकता’ कायम गर्न पहल भइरहेको बुझिएको छ। भिन्न मतबारे पार्टीमा तल्लो तहसम्म छलफल चलाउने सहमतिमा प्रतिवेदनबीच एकरूपता ल्याइने सम्भावना छ।
एक भएर जानुपर्छ भन्नेमा ‘अत्यधिक मत देखिएको’ उल्लेख पार्टी सचिव तथा वैद्य पक्षका प्रखर वक्ता सिपी गजुरेलले बुधबारको बैठकपछि नागरिकसँग भने, ‘सदस्यले बोल्ने क्रम सकिएपछि दुई प्रतिवेदन एउटै बनाउनेबारे छलफल भएको छ।’
‘ठोस निर्णय’ भने भइ नसकेको उनले उल्लेख गरे। केन्द्रीय समितिको पालुङटार विस्तारित बैठकमा जस्तै दाहाल र वैद्यका प्रतिवेदनलाई एउटै बनाउने प्रयास देखिएको छ।
‘कार्यदिशामा एकरूपता’ आउन नसके पनि ‘तत्कालीन कार्ययोजना कार्यन्वयन गरेर जाने’ तयारी भएको दाहाल निकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले बताए।
सापकोटाका अनुसार त्यो भनेको राजनीतिक लाइनलाई ‘फोरम चलाएर’ तल्लो निकायसम्म जाने विकल्प हो। ‘कामकारबाहीमा एक रूपता, अभिव्यक्तिमा स्वतन्त्रता’कै आधारमा पार्टीलाई अघि बढाउने विकल्प अर्थ्याउँदै उनले थपे, ‘अधिकांश सदस्यले एक भएर जाने भनेका छन्, मिलेर जाने प्रयत्न भइरहेको छ।’
वैद्य पक्षले मान्दै मानेन भने मतदान गर्ने र बहुमतका आधारमा कार्यदिशा चुन्ने सम्भावना पनि उनले औंल्याए।
जारी बैठकमा अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष दाहालकै प्रतिवेदनलाई समर्थन गरेका छन्। शान्ति र संविधानको कार्यदिशामा अघि बढ्ने दाहाल-भट्टराईको नीति विपरीत वैद्यले सरकारबाट हटेर सदन र सडकबाट विद्रोहतर्फ जाने विचार प्रस्तुत गरेका हुन्।
स्थायी समिति सदस्य तथा प्रधानमन्त्री भट्टराईका प्रमुख सल्लाहकार देवेन्द्र पौडेलका अनुसार ‘मिल्न सक्ने एजेन्डाहरूमा सहमति गरेर जान’ वैद्य सकारात्मक देखिएका छन्। ‘तत्कालै कार्यदिशा कार्यान्वयनमा कुरा मिलेन भने बहुमतबाट कार्यदिशा पारित गर्ने हो,’ उनले वैद्य पक्षलाई संकेत गर्दै भने, ‘अर्को पक्ष ‘भिन्न मत’ भएर जान्छ।’
पार्टीभित्र ‘अत्यधिक बहुमत पक्ष’ एकतामा अडिग देखिएको र त्यसलाई नेताहरूले बुझेको पनि पौडेलले उल्लेख गरे। ‘पार्टीमा तल राज्य समितिसम्म छलफल पुर्‍याउन ‘फोरम चलाएर जाने’ विधि तय हुन्छ,’ उनले भने।
त्यसअनुसार ‘विचार समूह’का प्रतिनिधिहरू राज्य समिति तहसम्मका बैठकमा पुगेर आफ्ना मत राख्ने प्रक्रिया सुरू हुनेछ।
त्यसैगरी मन्त्री तथा पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्ट मगरका अनुसार जारी बैठकले महाधिवेशनको मिति तय पनि गर्नेछ।
तपाईको प्रतिक्रिया