चितवन- सङ्घीय नेपालमा कति प्रान्त बनाउने भन्ने विषयमा दलबीच विवाद जारी रहेका बेला नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भने ७५ वटै प्रान्त बनाए हुने बताएका छन् । सदरमुकाम फेरिँदा मारामार हुने देशमा जिल्लै परिवर्तन गरेर प्रान्त बनाउँदा शान्ति सुव्यवस्था बिग्रने तर्क पनि उनले गरे ।
सोमबार प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाटमा कुरा गर्दै उनले भने- दलबीच कुरै मिल्दैन भने ७५ प्रान्त बनाउँदा हुन्छ । प्रस्तावित १४ प्रान्त अथवा त्यसभन्दा बढी वा घटी त्यसमा पनि जातीय वा अन्य के भन्ने विषयमा दलबीच मत नमिलेको उनले जानकारी दिए । ‘प्रान्तका विषयमा कहिले मत मिल्दैन, मलाई थाहा छ, देउवाले भने- त्यसैले भनेको ७५ जिल्लालाई प्रान्त बनाइदिउँ, अनि प्रत्येकमा मुख्य मन्त्री भइहाल्छन्, अधिकार पनि पुगिहाल्यो ।’ उनले यसो गर्दा भएका पूर्वाधारको पनि सदुपयोग हुने दाबी गरे ।
बाँकी कुरामा संवैधानिक राष्ट्रपति र संसदीय प्रधान मन्त्रीमा जानुपर्ने जिकिर उनले गरे । माओवादीले भनेजस्तो नयाँ नेपाल नहुने उनको भनाई थियो । ‘नयाँ नेपाल कसरी हुन्छ उही पहाड, उही मधेस, उही मान्छे, हेर्नूस् त उही बाबुराम, उही माधव नेपाल, नयाँ नेपाल कहाँ छ ?’ विभिन्न जातजाति रहेको देशमा सबैको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हुने उनले बताए ।
लडाकु समायोजनका विषयमा सातबुँदे सहमतिअनुसार मापदण्ड पूरा गरेअनुसारको पद लडाकुले पाउने देउवाले बताए । नयाँ बन्ने महानिर्देशनालयमा दोस्रो पद दिन पनि लडाकुले मापदण्ड पूरा गरेकै हुनुपर्ने दाबी उनले गरे । माओवादीले सहमतिअनुसार काम नगरेको भन्दै शान्ति र संविधानको बाधक ऊ स्वयम् रहेको देउवाले ठहर गरे । ‘उल्टो जनसत्ताको निर्णय कार्यान्वयन गराउँदैछ, देउवाले थपे- भएका सहमति त कता हो कता ?’ अहिलेको सरकारको आयु लामो नरहेको भन्दै उनले मधेसी मोर्चासमेत रुष्ट भइसकेकाले कुनै पनि बेला ढल्न सक्ने उनले बताए ।
कङ्ग्रेसभित्रको विवाद सम्मानजनक समाधान नभएसम्म नटुङ्गिने उनले बताए । पार्टी एक हुँदा भएको सहमति विपरित आफ्नो बाहुल्यता रहेको भातृसंस्था विघटन भएकाले विवाद सजिलै नटुङ्गिने उनको भनाई थियो ।