विराटनगर- वर्तमान सरकारसँग गठबन्धन हुँदादेखि नै आफूले राम्रो काम गर्न खोजेको दाबी गर्दै उपप्रधान एवम् गृह मन्त्री विजयकुमार गच्छदारले नराम्रो कुरा नसोध्न पत्रकाहरुलाई आग्रह गरेका छन् । माओवादीले गरेको जनसत्ताको निर्णय कुनै हालतमा कार्यान्वयन नहुने पनि उनले बताए ।
शनिबार विराटनगर विमानस्थलमा उत्रँदा केही तनावग्रस्त देखिएका गच्छदारले आफू राम्रो काममा लागेको बताए । ‘शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउनेबारे मैले आज ठूलठूला नेतालाई भेटेको छु’, गच्छदारले भने- प्रचण्डसँग पनि कुराकानी गरें ।
शान्ति प्रक्रिया र संविधान निर्माण यही सरकारले गर्ने ठोकुवा गर्दै उनले मुलुक जोगाउन मोर्चाले माओवादीसँग गठबन्धन गरेको बताए । सरकारले राम्रो काम गर्न खोज्दा विरोधमात्रै भएको टिप्पणी पनि उनले गरे । विरोध गरेर कङ्ग्रेस–एमाले के जङ्गलतिर जाने हो ?’ उनले भने ।