शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोहन वैद्यले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेपछि जारी केन्द्रीय समिति बैठकमा नेताहरु पनि बाँडिएका छन् ।
तीन दिनदेखि जारी बैठक शुक्रबार बिहान ११ बजेदेखि बस्दैछ । कीकृत माओवादी केद्रीय समितिको बिहीबारको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले मुलुकको समसामयिक राजनीतिलगायत पार्टीभित्र देखिएको अन्तरविरोध हटाउनेबारे आ-आफ्ना धारणा राखेका छन्।
बैठकमा स्थायी सदस्य वर्षमान पुन, टोपबहादुर रायमाझी, पोलिटब्युरो सदस्यहरू अग्नि सापकोटा, हितमान शाक्य, हेमन्तप्रकाश ओली, दिलबहादुर श्रेष्ठ, नवराज सुवेदी, गिरिराज पोखरेल, हिसिला यमि, पम्फा भुसाल, राम कार्की, लेखराज भट्टलगायतले बोलेका छन् । तीमध्ये शाक्य, ओली, भूसाल र श्रेष्ठबाहेक सवैले अध्यक्षको प्रस्तावमा समर्थन जनाएका छन् ।
बैठकमा दुई स्थायी समिति सदस्यसहित १८ जनाले आ-आफ्नो धारणा राखेका थिए। पार्टी उपाध्यक्ष मोहन वैद्यले प्रस्तुत गरेका प्रतिवेदनका पक्षधर सदस्यहरूले संस्थापन पक्षले प्रस्तुत गरेको प्रतिवेदनका कमी-कमजोरी, अभाव र समस्याबारे केन्द्रीत रहेर भनाइ राखेको पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले बताए।
अर्का पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले मुख्यत पार्टीभित्रको कार्यदिशाबारेमा  बोल्ने सदस्यहरूले भनाइ केन्द्रीत गरेको बताए।
बैठकमा वैद्यपक्षले पार्टीको हितविपरीत संस्थापन पक्षले सम्झौतालगायत शान्ति र संविधानको पक्षमा हुँदै लचिलो भएको आरोप लगाएको थियो।
त्यस्तै, संस्थापन पक्षले त्यसको खण्डन गर्दै पार्टीको आन्तरिक विषयलाई सडकमा लगेर पार्टीलाई कमजोर बनाउने खेल भएकाले शान्ति र संविधानका लागि बढी लचकता अपनाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको बताएका थिए।
बैठकमा दुवै विचार समूहका सदस्यहरूले आ-आफ्नो पक्षबाट प्रस्तुत भएको प्रतिवेदन वस्तुवादी, क्रान्तिकारी र सही रहेको दाबी गर्दै बचाउ गरेका थिए।
तपाईको प्रतिक्रिया