बिहिबार, फाल्गुण १०, २०८०
Thursday, February 22, 2024

विदेशमा झन्डै बीस वर्ष बिताएर नेपाल आएपछि काठमाडौं घुम्ने मौका मिलेको थियो । कस्तो भयो होला काठमाडौं ? के के परिवर्तन भए होलान् ? मनमा यस्तै अनेक कौतूहल थियो ।

यस्तै कौतूहल लिएर यताउति घुम्दाघुम्दै असन पुगेको थिएँ म । तर २० वर्ष अघि र अहिलेमा त्यति फरक देखिएन । घरहरू पनि धेरैजसो पहिलेकै स्थितिमा थिए । बेच्न राखिएका सामानमा पनि कुनै परिवर्तन देखिएन । पसल थाप्ने तरिका, सामान, सामानको गुणस्तर र व्यापारीका व्यवहार सबै पहिलेजस्तै थिए । केवल मानिसको सङ्ख्या भने अति नै बढेको देखियो । काठमाडौंमा बाहिरका मानिसहरूको बसोवास बढेकाले यस्तो भएको होला भन्ने अनुमान लगाएँ मैले ।

यसरी मानिसको घुइँचोलाई छिचोल्दै र पसल हेर्दै जाँदा असनकै एउटा पसल अगाडि मेरो आँखा टक्क रोकियो । त्यो पसलको अगाडि बोराका बोरा विभिन्न किसिमका रासन बेच्न राखिएको थियो । मुख खुला पारेर राखिएका ती बोरामा चामल, दाल, मकैलगायत ९-१० किसिमका रासन देखिन्थे । ती रासनका बोरामाथि केही परेवा बसेका थिए, कसैले चामल, कसैले मकै त कसैले दाल र अन्य गेडागुडी खाँदै थिए । उनीहरू घरी एउटा बोरा त घरी अर्को बोरामा र्सदै आफूलाई मन लागेको ‘मेनु’ परिवर्तन गर्दै खाँदै थिए । यसरी ‘मेनु’ फेरी-फेरी स्वाद लिइरहेका परेवाहरूमा कसले मिठो खायो, कसले धेरै खायो, कसले कम खायो भनेर एक अर्कामाथि न रिसराग गरेको देखिन्नथ्यो, न त झैझगडै गरेको देखिन्थ्यो । फेरि पसलको साहु पनि कति जाती, कति उदार ! परेवाहरूले जति खाए पनि उसले केही वास्ताव्यास्तै गरेको देखिएन । यो दृश्य मलाई निकै रमाइलो र आनन्ददायक लाग्यो । त्यसैले मैले निकै बेरसम्म यस दृश्य हेरी नै रहें ।

अघाएका परेवाहरू उड्दै थिए । भोकाहरू आउँदै थिए र आ-आफ्नै सुरमा आहारा टिप्दै थिए । कसैले धेरै खायो कि, कसैले आफूले भन्दा मिठो पो खायो कि भन्ने शंका गरेको देखिएन । कसैले कसैमाथि डाहा वा इष्र्या पोखेको पनि देखिएन ।

यो दृश्य देखेपछि मलाई लाग्यो, ‘अहा, यी परेवा कति भाग्यमानी रहेछन् । खान मन लागेको अन्नमाथि नै बसेर आफ्नो इच्छाअनुसार खान पाउनु कति सुखद् कुरा । न आपसमा झैझगडा गर्नु जरुरी छ, न त अरु कसैको हस्तक्षेपकै डर बोक्नु आवश्यक छ । तिनलाई न आफ्ना लागि सम्पति जोड्नु परेको छ, न त ठूलो घर चाहिएको छ, न त भोलिका लागि भनी सोच्नु नै परेको छ । कति निस्वार्थी र कति शान्तिप्रिय परेवा ।’

ती परेवाको अवस्था, आपसी सम्बन्ध र व्यवहार देखेपछि मेरो मनमा ‘नेपाल त स्वर्गको देशजस्तै’ आभास भयो । त्यसबेला त्यो दृश्यले मलाई केही सिकाएझै अनुभूति भयो ।

काठमाडौंको असनजस्ता रासन पसलमा मात्र होइन, मठमन्दिरका परिसरदेखि अन्य कतिपय सार्वजनिक स्थलमा परेवा बथानका बथान भेटिन्छन् । जहाँसुकै भेटिएका परेवाका बथानको आपसी सम्बन्ध यस्तै पाएको छु । शान्ति, मेलमिलाप, आपसी सद्भाव र प्रेमले भरिएको सम्बन्ध, लोभ र द्वन्द्व नभएको सम्बन्ध ।

लामो समयपछि नेपाल आउँदा मैले परेवाको संसारचाहिँ यस्तो देखें भने मान्छेको चाहिँ ठ्याक्कै यसको उल्टो देखें । मान्छेहरू भने लोभ, अशान्ति,, झैझगडा, आपसी वैरभाव र घृणाले व्याप्त भएको सम्बन्ध पाएँ । आफ्नो स्वार्थका लागि अर्कालाई धोका दिने, दुःख दिने काममा निर्लिप्त रहेको देखें । मान्छेहरू आफ्ना स्वार्थ र हितका लागि जस्तोसुकै दुष्कर्म गर्न पनि तयार । आफू मात्रै जान्ने, आफू मात्रै सही र आफूलाई मात्र मालिक ठान्ने प्रवृत्तिले ग्रस्त । आपसमा हानाहान, खुट्टा तानातान र छिनाझपटीमा व्यस्त । नेपाली समाजभित्र, अझ त्यसमाथि पनि आफूलाई देश चलाउने ठेकेदारै सम्झने राजनीतिक दलहरूभित्र यस्तै प्रवृत्ति, व्यवहार र नियत पाएँ मैले । अनि मेरो मनमा प्रश्न उब्जियो, किन यस्तो भएको होला ?

मानिसमा देखिने यस्ता प्रवृत्ति र व्यवहारले कस्तो नतिजा दिएका छन् त – मनमनै हिसाब गरे मैले । अहँ, नराम्रोबाहेक राम्रो नतिजा त केही पनि पो दिएका छैनन् ! यस्तै व्यवहारकै कारण मानिसका आपसी सम्बन्ध बिग्रिएको देखियो । हिंसा र आपराधिक गतिविधि मौलाएको पाइयो । सामाजिक सद्भाव बिथोलिएको दृश्य हेरियो । अझ खतरनाक कुरा त देशको भविष्य नै तहसनहस बनाउन खोजेको सुनियो ।

हिसाबै गर्दा सत्ता र शक्तिको सिंढी चढ्न पाएका अथवा चढ्ने कसरत गरिरहेका व्यक्तिहरूले व्यक्तिगत वा गुटगत आधारमा शक्ति र सम्पतिको फाइदा उठाएका होलान् । तर, आम नेपाली जनताले त सुखभन्दा दुखै बढी पाएका रहेछन् । प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्री नेपालआमाले विकासभन्दा विनासका चोटै बढी खेपेकी रहिछन् ।

त्यसैले नेपालका राजनीतिक नेताहरूले र आफूलाई देशको अगुवा ठान्ने अन्य व्यक्ति-विशेषहरूले पनि असनमा मैले पाएको परेवाको सन्देशबाट सिक्नुपर्ने र प्रेरणा लिनुपर्नेजस्तो लाग्यो मलाई । मानौं, उनीहरूले सोधिरहेझैं लाग्यो, ‘तिमीहरू किन झगडा गर्र्छौ, किन आफ्नो स्वार्थका लागि मात्र लड्छौ खालि ‘म’ मात्र किन भन्छौ ।’ हो, उनीहरूले नेपाली नेताहरूका गल्ती र कमजोरीलाई औंल्याउँदै भनेझै लाग्यो, ‘एकपल्ट राम्रोसँग सोच, तिमीहरूको जिम्मेवारी यो देशमा दिगो शान्ति कायम गराउनु हो, नयाँ संविधान बनाएर नयाँ नेपाल बनाउनु हो, सबै जात-जाति र भाषा-भाषीका नेपालीबीच आपसी सद्भाव र सम्मान कायम गराउनु हो ।’

उनीहरूले दिएको सन्देश मैले त ग्रहण गरे, यहाँहरुले कत्तिको गर्नुभएको छ ? धेरैजसो नेपालीले शान्ति, सुरक्षा, संविधानलाई साथ दिएर सन्देशलाई आत्मसात् गरेको महसुस भएको छ । अब त्यसलाई अनुभूत गर्ने र व्यवहारमा लागू गर्ने पालो नेपाली जनताका राजनीतिक अगुवाहरूको जस्तो लाग्छ ।

नेपालको मुटु घुम्दा यी शान्तिका दूतबाट केही प्रेरणा पाएझैं अनुभव गरें । यही प्रेरणालाई मैले व्यवहारमा उतार्ने प्रण गरेको छु, सकेसम्म लागू पनि गर्दैछु । अब खालि आफ्ना नेताहरूका गल्ती-कमजोरीलाई औंल्याउने र उनीहरूको टीकाटिप्पणी गर्ने मात्रै मेरो जिम्मेवारी कदापि हुन सक्दैन भन्ने थाहा पाएँ । हो, मेरो देश नेपाल र मेरा सम्पूर्ण नेपाली दाजु-भाइ, दिदी-बहिनीको सुख, शान्ति, आपसी सद्भावका लागि, उनीहरू सबैको सम्मान र समृद्धिका लागि म आफैं पनि सक्रिय भएर लाग्नुपर्छ भन्ने कर्तव्यबोध भएको पनि अनुभव गरें । यसरी त्यो दिन परेवाहरूले मेरो मनलाई आनन्दित मात्र तुल्याएनन्, आफ्नो जिम्मेवारी र दायित्वको बोधलाई पनि अझ गहिर्‍याए । धन्य छन्, यी शान्तिका दूतहरू !

(लेखक एनआरएन आइसीसीका प्रमुख संरक्षक हुन)

 

तपाईको प्रतिक्रिया