मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

पेरिस – फ्रान्समा नेपाल प्रबर्द्धन गर्ने कार्यलाई जारी राख्दै तथा नेपाल पर्यटन वर्ष २०११ को उपलक्ष्यमा नेपाली राजदूतावास, पेरिस तथा नेपाल पर्यटन बोर्ड काठमाडौंको संयुक्त आयोजनामा शुक्रवार, १८ नोभेम्वर साँझ एक भव्य कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा मुख्य अतिथिको रुपमा फ्रान्सको परराष्ट्र तथा युरोपियन मामिला मन्त्रालयका एशिया विभागका प्रमुख Madame Veronique Roger-Lacan तथा परराष्ट्रका अन्य अधिकृतको समेत सहभागिता रहेको थियो ।

सो कार्यक्रमको उद्घाटन फ्रान्सका लागि नेपाली राजदूत महामहिम श्री मोहन कृष्ण श्रेष्ठ तथा Mme. Lacan ले संयुक्त रुपमा सुकुन्दामा बत्ति बालेर गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हुनुभएका पाहुनालाई धन्यवाद दिनुहुँदै राजदूत श्रेष्ठले सुस्वास्थ्य, सुख तथा प्रगतिको लागि शुभेच्छा प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा भारतका राजदूत तथा अमेरिका, जापान, पाकिस्तान, मलेशिया, बंगलादेश, लाओस, थाईलैण्ड, टर्की, होण्डुरस, म्यादगास्कर आदि मुलुकहरुका युनेस्कोका लागि राजदूत तथा अन्य मुलुकहरुका प्रतिनिधिहरु, नेपालका लागि फ्रान्सका पूर्व राजदूतहरु, युनेस्को अन्तर्गत रहेको विश्व सम्पदा समितिका निर्देशक, प्रोफेसरहरु, SNCF का प्रमुख, डाक्टर, ट्राभल एजेन्ट्स, टुर अपरेटर्स, ट्राभल पत्रकार, पेन्टर, व्यापारी, नेपाली विद्यार्थी, एनआरएन फ्रान्सका अध्यक्ष, एभरेष्ट नेपाल एशोसिएसन तथा मेजो कल्चर नेपालका अध्यक्षहरु, नेपाली एकता समाजका महासचिव, फ्रान्समा लामो समयदेखि बसोबास गर्दै आउनुभएका नेपालीहरु लगायत अन्य विभिन्न गण्यमान्य व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रममा फ्रेन्च भाषामा स्वागत मन्तव्य दिनुहुँदै राजदूत श्रेष्ठले हिमाल, कला, संस्कृति, जीवन रहनसहन, नदिनाला, पहाड कन्दरा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल एक विभिन्न विविधताले भरिएको राम्रो मुलुक भएको व्यहोरा वर्णन गर्नुभएको थियो । नेपाल भगवान गौतम बुद्धको जन्मस्थल भएको तथा विश्वको एकमात्र जीवित देवी कुमारीको पनि घर भएको तथ्यमाथि प्रकाश पार्नुहुँदै नेपाल अत्युत्तम कला, कौशलको एक जीवित म्युजियम भएको कुरा पनि भन्नुभयो । वहाँले द्वन्द्व समापनमा एक मननयोग्य उदाहरण पेश गरेको नेपालमा सन् २००६ पछि स्थायी शान्तिको लागि काम हुँदै आएको र नयाँ संविधान घोषणा भएपछि सम्पूर्ण नेपालीको हकहित तथा उत्तरदायित्व सुरक्षित हुने आशा पनि व्यक्त गर्नुभयो । फ्रान्स तथा नेपालबीच २० अप्रिल १९४९ मा दौत्य सम्वन्ध स्थापना भएको स्मरण गर्नुहुँदै राजदूत श्रेष्ठले दुई देश बिचको सम्बन्ध सो भन्दा धेरै अगाडिदेखि नै रहिआएको तथा सन् १८५० मा तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा फ्रान्सको भ्रमणमा आउँदा ५५ दिन पेरिसमा बसी फर्केको भन्ने जानकारी पनि दिनुभएको थियो । साथै वहाँले दुई देश बिचको सम्बन्ध सच्चा मित्रता, पारस्परिक समझदारि तथा सहयोगात्मक भावनामा आधारित भएको र आउने दिनमा अझ बढी संख्यामा फ्रेन्च पर्यटकहरुले नेपालको भ्रमणमा जाने आशा पनि प्रकट गर्नुभयो । राजदूत श्रेष्ठले आफूले नेपाल पर्यटन वर्ष २०११ को सिलसिलामा फ्रान्सको विभिन्न भागहरुमा भ्रमण जाँदा जहाँ गएपनि नेपाल र नेपालीलाई माया गर्ने फ्रेन्चहरु प्रशस्तै रहेकोले आफूलाई गर्व लागेको र दुई देश बिचको सम्वन्धलाई बढावा दिन आ–आफ्नो किसिमले कार्यरत सबैलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको थियो ।

प्रमुखअतिथि Mme Lacan ले फ्रान्स तथा नेपाल बिच राम्रो सम्वन्ध रहीआएको र फ्रान्समा नेपालको हिमालहरु मनपराउने मानिसहरु धेरै भएको स्मरण गर्नुहुँदै फ्रान्समा नेपाल पर्यटन प्रबर्द्धन गर्न आयोजित कार्यक्रमहरुमा भाग लिन पाउँदा आफूलाई खुशी लागेको भन्नुभएको थियो । वहाँले फ्रान्सले नेपाललाई युरोपियन युनियनमार्फत सहयोग दिँदै आएको र यो आगामी दिनमा जारी रहने तथा फ्रान्स र नेपाल बिच सांस्कृतिक तथा विद्यार्थीहरुको मामिलामा द्विपक्षीय सहयोग जारी रहने कुरा पनि बताउनुभएको थियो । Mme Lacan ले आफू हालसम्म नेपालको भ्रमणमा जान नपाएता पनि नेपालको प्राकृतिक सौन्दर्यता, मित्रवत जनताका बारेमा जानकारी पाएको र मौका मिल्नासाथ भ्रमणमा जाने आशा पनि व्यक्त गर्नुभएको थियो । वहाँले नेपाल पर्यटन वर्ष २०११ को कार्यक्रममा भाग लिन पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट निर्मित “Nepal Naturally Beautiful – Once is not Enough” नामक वृत्तचित्र देखाएकोमा सबैले सह्राहना गरेका थिए । साथै नेपाली निकासीयोग्य वस्तुहरु जस्तै चाँदिका सामानहरु, पश्मिना, चियाकफी, धातुका मूर्तिहरु, काठका कलात्मक झ्यालहरु प्रदर्शनमा राखिएकामा पाहुनाहरुले रुचिपूर्वक हेरेका थिए ।

सुश्री प्रशंसा के.सी. र विमल बसेलले केही नेपाली नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा नेपाली खानाको डिनर पाहुनाहरुले सह्राहना गर्दै ग्रहण गरेका थिए । कार्यक्रमको संचालन सुश्री बारबरा कुटेरियरले गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया