मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024
काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीको प्रचण्डपथ भ्रष्टपथमा परिणत भएको टिप्पणी गर्नुभएको छ ।
अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको शनिबार किर्तिपुरमा उद्घाटन गर्दै खनालले माओवादीले अब माओवाद समेत छोडेर एमालेकै बाटो माक्सवाद लेनिनवादको बाटोमा आउने दावी समेत गर्नुभयो ।
‘माओवादीको प्रचण्डपथ भ्रष्टपथमा रुपान्तरित भैसकेको छ’, अध्यक्ष खनालले भन्नुभयो, ‘उनीहरु माओवाद छोडेर माक्र्सवाद लेनिनवादकै बाटोमा आइपुग्न लागेको छन् ।’ उहाँले राज्य पुर्नसंरचनाका लागि विज्ञ समूहको साटो आयोग बनाउने कुरा गरेर माओवादी एमालेकै लाईनमा आएको बताउनुभयो ।
पछिल्लो समय माओवादीको बिचार र व्यवहारमा ३ सय ६० डिग्रीको परिवर्तन देखिएको भन्दै खनालले भारतसँगको बिप्पा सम्झौता त्यसैको उपज भएको बताउनुभयो । भारतलाई प्रधानशत्रु देख्ने र कुनै समय भारतकै विरुद्ध लड्न सुरुङ्ग खन्ने माओवादी आफ्नो विचारलाई लत्याउँदै भारतसंग हातेमालो गर्न गएको खनालको भनाई छ ।
कार्तिक १५ गते दलहरुबीच भएको सहमतिका अधिकांश कुरामा आफ्नो नेतृत्वको सरकारकै पालामा सहमतीको खनालले दाबी गर्नुभयो । खनालले त्यतिबेला माओवादीले नै नमानेर नभएको सहमति अहिले माओवादीले आफुले जस पाउन गरेको आरोप समेत लगाउनुभयो ।
अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला तथा केन्द्रीय प्रशिक्षण भेला आइतबारसम्म चल्ने छ । भेलामा देशभरका झण्डै चार सय प्रतिनिधि सहभागि छन् ।
तपाईको प्रतिक्रिया