बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

‘शरद लाग्यो अहिले अति चहकिलो शान्ति सुखको

गयो वर्षा बेला झमझम झरी याम ननिको

न त गर्मी धेरै न त छ बर्षा मेघ र हिलो

उदायो बेला यो रवि र शशिको कान्ति छरियो ।’

नेपालीको सबैभन्दा महत्वपूर्ण चाड बडादशैंको सेरोफेरोमा महाकाव्यकार श्रीहरि फुयाँलद्वारा लिखित ‘शारदी-शोभा’ शिर्षकको यस कवितामा शरद ऋतुमा पर्ने दशैंको शोभा वर्णित छ । साहित्यकार, प्राज्ञ तथा संस्कृतिविद्हरु पनि दशैंलाई धार्मिक पर्व साथै प्राकृतिकरुपमा ‘शरदउत्सव’ ले चिनाउन चाहन्छन् । दशैंलाई हर्ने आफ्ना दृष्टिकोणका सम्बन्धमा सोधिएको जिज्ञासामा उहाँहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो । दशैं अर्थात् विजयादशमीको पौराणिक, सामाजिक र वैज्ञानिक पक्षमध्ये कुनलाई बढी महत्व दिने भन्नेमा उहाँहरुका आ-आफ्नै तर्क छन् ।

पौराणिक मान्यताअनुसार आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा र त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रुपमा विजयादशमीलाई लिइन्छ । र, त्यही विजयको सम्झनाका लागि हरेक शरद याममा शक्तिपीठहरुको पूजा आराधनाका साथै खुसियाली मनाउने र पारिवारिक जमघट गर्ने परम्परा रही आएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान (एकेडेमी) का प्राज्ञ सदस्य विष्णु प्रभात पौराणिक मान्यतामा विश्वस्त हुने आधार नभएकाले दशैंलाई यथार्थवादी धाराबाट विवेचना गरी ‘शरदउत्सव’ भनिनु वैज्ञानिक र प्रकृतिपरक हुने बताउनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. विष्णुराज आत्रेय -लाटोसाथी) भने भगवान् शङ्करले सृष्टिको आरम्भ गरेदेखि नै प्रकृति र शक्तिको आराधना गर्ने परम्पराको शृङ्खलाका रुपमा विजयादशमीलाई व्याख्या गर्नुहुन्छ ।

संस्कृतिविद् डा. गोविन्द टण्डन पनि आध्यात्मको आराधना र उत्कर्षाट आफूले आफैलाई विजय गर्ने अवसरलाई विजयादशमीका रुपमा लिनुहुन्छ । डा. टण्डन र डा. आत्रेय दशैंलाई ‘शरदउत्सव’ भन्न सकिनेमा भने असहमत हुनुहुन्न । हिन्दु धर्मको वा पौराणिक महत्वको मात्रै भनिएका कारण यदाकदा दशैंलाई बहिस्कार गर्ने वर्ग र समूहहरु पनि नेपालमा नभएका होइनन् । यदि उनीहरुलाई यसको प्राकृतिक र सामाजिक महत्वबारे बोध भएको वा गराउन सकिएको भए कुनै पनि जाति, धर्म वा समुदायले दशैं बहिस्कार गर्ने थिएनन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघ (एकीकृत) का महासचिव तथा जनगायक माइला लामा समाजका सबैखाले भावनाको संयोजन र खण्डित मनहरुलाई जोड्ने महत्वपूर्व पर्वका रुपमा दशैंंलाई लिनुहुन्छ । यद्यपि, उहाँहरुले ‘जनयुद्ध’ का क्रममा दशैंलाई घोषितरुपमा मनाउनुभएको थिएन । एकेडेमीको दर्शनशास्त्र विभागका प्रमुखसमेत रहनुभएका प्रभातले आध्यात्मिक प्रत्ययवाद र पुराणका कथामा तथ्यभन्दा झुट बढी भएको भन्दै दैवीशक्तिको विजयको चर्चा गर्नेहरुले मातृप्रधान समाजको विजय वा प्राधान्यताको कुरा बिर्सेको भन्दै पुराणका व्याख्यालाई केलाएर मात्र विश्लेषण गर्न आग्रह गर्नुभयो ।

केही समय पहिले त्रिशूली वाङ्यमय प्रतिष्ठानद्वारा विजयादशमीका अवसरमा आयोजित ‘शुभकामना कविगोष्ठी’ मा ‘विजयादशमी’ लाई दैवीशक्तिको विजयका रुपमा लिन नसकिने भन्दै त्यसरुपमा व्याख्या गरिने दशैंको शुभकामना आफूले नदिने मन्तव्यसमेत उहाँले दिनुभएको थियो । रामले रावण मारेको वा देवीले राक्षसको महिसाशुरको बध गरेको भन्ने कथाका आधारमा मात्रै व्याख्या गर्ने र त्यही परम्परालाई मान्दै आएका कारण ‘शरदउत्सव’ को व्याख्या नआएको प्राज्ञ प्रभातको मान्यता छ । उहाँले रामले रावणलाई नमारेको र रावण दैत्य नभइ धेरैजनाको मस्तिष्कले सोच्ने काम उनी एक्लैले सोच्न सक्ने विशिष्ट मानव प्रतिभा भएको दाबी गर्नुभयो ।

शरदऋतुमा पर्ने भएको र बालीनाली पनि भित्रयाउने मात्र नभइ वषर्ायामको पनि समाप्ति भई पारिवारिक मिलन समारोहका रुपमा दशैंको सामाजिक परम्परा विकसित भएको भन्ने प्रगतिशील खेमामा विद्वानहरुको भनाइ छ भने अर्काथरि देवीको आराधनाबार्टर् इश्वरको साक्षात्कार र जीवनमा सुख प्राप्तिका लागि शक्तिपूजाको परम्परामा विश्वास गर्दछन् ।

साँस्कृतिक महासङ्घका महासचिव लामा आध्यात्मिक मान्यताका आधारमा दशैंलाई विवेचना गर्न नचाहे पनि यसको सामाजिक महत्व रहेकोमा सहमत हुनुहुन्छ । लामाले विश्वस्तरमा आध्यात्मवादको जबर्जस्त प्रभाव रहे पनि आफूहरु भौतिकवादी भएकाले त्यसमा विश्वास नगर्ने तर दशैंको सामाजिक मान्यतालाई भन्ने मान्ने बताउनुभयो ।

सँस्कृतिविद् डा. टण्डन महालक्ष्मी र महासरस्वतीको पूजा आराधनाबाट मानिस आध्यात्मिक उत्कर्षा पुगी काम, क्रोध, लोभ र मोहलाई बिर्सनुमा नै विजयादशमीको र्सार्थकता रहने बताउनुहुन्छ । डा. टण्डन र डा. आत्रेयले देवीलाई बली दिने नाममा निरीह पशुको हिंसा गर्ने संस्कृति भने शास्त्रीय मान्यताअनुसार नै विकृतियुक्त भएकोमा जोड दिनुहुन्छ । प्रा. डा. आत्रेय प्राचीनकालमा भगवान् राम, कृष्ण र शिवले पनि शक्तिको आराधना गरेको भन्दै व्यासद्वारा रचित मार्कण्डेय पुराणमा समाधि नामको बनियाँले शक्तिको पूजा गरेको शास्त्रीय नवरत्नको परम्परालाई निरन्तरता दिइएको बताउनुभयो । तर प्राज्ञ प्रभात भने ‘त्यसबारे केही तथ्य र तिथिमिति उहाँले दिन सक्नुहुन्छ -‘ भन्ने प्रश्न राख्दै त्यस तर्कप्रति असहमति जनाउनुहुन्छ ।

दशैंबारे तर्क-वितर्क जे-जस्ता भए पनि कुनै पनि नेपाली विश्वको जुनसुकै कुनामा किन नहोस्, उसले दशैंको महत्वलाई बिर्सन सक्दैन । यो चाड नेपालीत्वको पहिचान हो । त्यसैले दशैं नेपालको भौगोलिक सिमानाभित्र मात्र सीमित छैन, न त नेपालका नेपालीबीच मात्र । स्वर सम्राट नारायण गोपालले यो सदावहार गीत त्यसै गाएका छैनन्-

‘विछोडको पीडा नसकी खप्न दशैंको बेलामा,

आउँदैछु भेट्न तिमीलाई फर्की रमाइलो गाउँमा…………..।’

तपाईको प्रतिक्रिया