आइतबार, आषाढ २३, २०८१
Sunday, July 7, 2024
काठमाडौं- जब पार्टी विवाद उत्कर्षमा पुग्छ, त्यसबेला मध्यमार्गी नेताको छवि बनाएका स्थायी समिति सदस्य कृष्णबहादुर महरा तात्ने गरेका छन् ।
यसअघिका धेरै विवादमा सक्रिय महरा पछिल्लो विवादमा मिलाउन सक्रिय भएका छन् । पहिले वैद्य पक्षमा रहेका महरा पछिल्ला चार वर्षयता भने अध्यक्ष प्रचण्ड निकट छन् ।
भारतमा भएको बिपा सम्झौतापछि बढेको विवाद मिलाउन महराले आइतबार बिहान आफ्नो घर सुकेधारामा शीर्ष नेतालाई भेला गराए । महरा निवास सुकेधारामा झण्डै सवा घण्टा भएको छलफलमा अध्यक्ष प्रचण्डका साथै बैद्य, उनी पक्षीय सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य देवप्रसाद गुरुङ र नेत्रविक्रम चन्द सहभागी रहे ।
बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने एक महत्त्वपूर्ण बैठक बहुचर्चित धोवीघाट भेलाबाट उनलाई हटाएर उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा गहृमन्त्रीमा पठाउने निर्णय गरेपछि उनी वैद्यसँग रिसाएका थिए ।
चिनौं महरालाई 
कृष्णबहादुर महरा दाङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट तत्कालिन माओवादी पार्टीको तर्फबाट विजयी सभासद् र हाल स्थायी समिति सदस्य हुन ।
कृष्णबहादुर महरा ‘अमरसिंह’ २०५१ सालको आम निर्वाचनमा तत्कालीन जनमोर्चा नेपालको तर्फबाट रोल्पा २ बाट विजयी भएका थिए । ९ जना संयुक्त जनमोर्चाका सांसदमध्ये उनी एक मात्र हिंसात्मक बिद्रोहमा होमिएका थिए । महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए ।
अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए । माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत भएका थिए ।
५० वर्षीय महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए । बि.सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भूमिगत भए । माओवादी बिद्रोह सुरु भएपछि कृष्णबहादुर महरा स-परिवार नै भूमिगत भए ।
रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर -७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रुपमा जन्मिएका महराका २ छोरा २ छोरी छन् । महराका दुई छोरा जनमुक्ति सेना नेपालमा कार्यरत छन् भने छोरीहरु सांस्कृतिक फाँटमा ।
रोल्पा तथा रुकुमका क्षेत्रमा यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए । मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्याएका हुन । निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका ‘स्वच्छ’ नेताको रुपमा चिनिन्छन् ।
तपाईको प्रतिक्रिया