मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024
झापाका मान्छे लाई काठमाडौंमा प्रायः जसोले मापाका भन्दा रहेछन् । यहाँका मान्छे झापाका मान्छेसँग डराउँछन् र घर कोठा भाडा लिन जाँदा पनि कतिसँग विवाद हुन्छ रे ! कहिलेकाहीँ त विवाद झडपमा पनि परिवर्तन हुन्छ रे- यस्ता हल्लाहरू काठमाडौँमा प्रशस्त सुनिन्छ । मेरो अनुभवमा भने झापाका मान्छे मापाका मैले देखिनँ । बरु आˆनो कर्तव्य, अधिकार तथा न्याय अन्यायमा बढी सजग देखिन्छन् । त्यसैले आˆनो स्वभाव अन्तर्गत विरोध प्रतिक्रिया दर्शाउन पछि पर्दैनन् । ज्यादा त पहाडबाट मधेस झरेका मान्छेहरूबाट नयाँ झापाको निर्माण भएको छ । झापामा स्कुलै स्कुल छन् । कलेजको पनि कमी छैन, कमी छ भने खालि एउटा विश्वविद्यालयको जुन झापाले निकट भविष्यमा पाउन अनिवार्य छ ।
पश्चिम बङ्गाल जस्तो सुरुदेखि नै जिउँदो जाग्दो, पुनर्जागरणको इतिहास बोकेको भारतको झापाका बासिन्दाहरूको सिमानामा भएकाले त्यहाँको स्कुल, कलेज, विश्वविद्यालयमा झापालीहरूले शिक्षा हासिल गर्ने मौका पाउँदै आएका हुन् । बङ्गालको पुनर्जागरण तथा सङ्र्घषशील इतिहास सम्पूर्ण भारतमै प्रसिद्ध छ । बङ्गालको सिमानासँगै जोडिएको हुनाले त्यहाँको संसर्ग र सम्पर्कबाट झापाब पनि अछुतो रहने कुरा आएन । उनीहरूको मानसिकता निर्माणमा यसको प्रभाव परेको देखिन्छ । दार्जिलिङ्, खर्साङ्, सिलीगुडीमा नेपालीहरूको बाक्लो बसोबास देखिन्छ । त्यहाँका धेरै शिक्षकहरू पहिले झापाका शिक्षण संस्थामा पढाउँथे । उनीहरूले पनि त्यहाँ आˆनो प्रभाव ठोस रूपले छोडेका छन् । प्रवेशिका परीक्षामा मलाई ट्युशन पढाउने मेरा शिक्षक बङ्गाली थिए । उनी बङ्गालको क्रान्तिकारी इतिहास विशेष गरेर सुभाषचन्द्र बोस र भारतको स्वतन्त्रता संग्राममा बङ्गालले खेलेको भूमिकाको बारेमा सुनाउँथे Û यस्ता शिक्षकहरू झापामा त्यतिबेला ठाउँ ठाउँमा पाइन्थे । आˆना छोराछोरीलाई शिक्षा दिन अभिभावकहरू बङ्गाली शिक्षकहरूलाई ज्यादाजसो रोज्दथे ।
झापाका मान्छेहरू सचेत र जागरूक भएकाले हाकाहाकी स्वभावका हुनु स्वाभाविकै हो । त्यसैले यिनीहरूले मापाका भन्ने विशेषण पाउन पुगे । झापाका धेरै स्थानहरू साना-साना सहरका रूपमा विकसित भएका छन् । यसरी हेर्दा झापामा सुरु सुरुका दिनमा देखिने गाउँभन्दा कल्पनामा आउने गाउँहरूको दुरुस्त अनुहार यहाँ विद्यमान छैन । शनिश्चरे, बिर्तामोड, काँकडभिट्टा, चन्द्रगढी, भद्रपुर, दमक, एक सय एक यस नमुनाका साना सहर बनेका छन् । विभिन्न जातजातिको सम्मिश्रण स्थल भएर यहाँको बसोबास विकसित भएकाले कुनै एक जातिको बाहुल्य यहाँ देखिन्न । विभिन्न जातजातिको परम्परा अन्तरसम्बन्ध शान्तिपूर्ण रहेकाले त्यस्ता कुनै खिचोलाहरू यहाँ देखिन्न । धनी गरिबबीचको खाडल भने यहाँ पनि अरू स्थानमा झैं छ । यहाँको मध्यमवर्ग, शिक्षित, सम्पन्न र जाग्रत छ । आदिवासी, जनजाति तथा विभिन्न जातजातिको बसोबासका कारण यहाँ नेपालका विभिन्न राष्ट्रिय भाषा बोल्नेहरू धेरै छन् । हाल जातीय तथा भाषिक राज्य निर्माणको कुरा गरेर कतिपयबाट सङ्घर्षका कार्यक्रम गर्दै सङ्घर्ष गरेको देखापरे पनि त्यसले खासै प्रभाव पर्ने कुरा भने त्यति बलियो देखिँदैन ।
कोचे, मेचे, दनुवार, राजवंशी यहाँका आदिवासीहरूमा पर्दछन् । यिनीहरूमध्ये राजवंशीको बोलचालको भाषा भने विकसित छ । पछि पहाडबाट झरेर बसोबास गर्ने राई, लिम्बू, तामाङ, मगरहरूले पनि आˆनो दैनिक जीवनमा आˆना भाषाहरू बोलचालमा प्रयोग गर्न लागेको प्रशस्त पाइन्छ । यी सबै एक अर्कासँग नेपाली भाषामै बोलचाल गर्ने गर्दछन् । पूर्वी नेपालको झापाको नेपाली भाषा कर्णपि्रय र उन्नत पाइन्छ । झापाका आदिवासी, जनजाति तथा जुनसुकै जातजातिका हुन् तिनीहरू नेपाली भाषा धाराप्रवाह बोल्न सक्छन् । झापाको यो विशेषता नै हो ।
यहाँका सबै जातजातिका भाषाभाषीका व्यक्तिहरूलाई आˆना छोराछोरीलाई स्कुल पठाउनुपर्छ भन्ने भावना उत्पन्न भइसकेको छ । यहाँको मध्यम वर्गमा त आˆना छोराछोरीलाई जसरी पनि उच्च शिक्षा दिनुपर्दछ भन्ने धारणा जाग्रत भइसकेको छ ।
झापालीहरू मिहिनेत गरेर खान्छन् । कोही धानबाली लगाउँछन् भने कोही तरकारी खेती । यता १५/१६ वर्षदेखि सुपारी, नरिवल खेती गर्ने चलन बढेको छ । यस्ता बालीनालीले नगद कमाउँछन् र झापाको मध्यम वर्गसँग मात्र नभई निम्न मध्यमवर्गसँग समेत पैसाको अभाव नभएको देखिन्छ । जमिन हुनेहरू र उच्च मध्यम वर्गले भुइँकटहर, रबर र चियाखेती गरेको देखिन्छ । झापामा विगत १० वर्षदेखि चियाखेती एउटा खेतीको रूपमा विकसित भएको छ ।

तपाईको प्रतिक्रिया