सोमबार, आषाढ १७, २०८१
Monday, July 1, 2024
काठमाडौं– जीवा लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को पाँचौ विश्व सम्मेलन सकिएको छ ।
अध्यक्षका अर्का प्रत्यासी एवं निवर्तमान अध्यक्ष देबमान हिराचनले अन्तिम समयमा आएर आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि लामिछाने निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्षसँगै अन्य सात पदमा सर्बसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष बाहेकका पदाधिकारी र अन्य गरी १३ पदका लागि भने निर्वाचनबाट नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रामेश्वर शाह र क्या. हितमान गुरुङ, महासचिवमा तेन्जी शेर्पा, सचिवमा टीबी कार्की र कोषाध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभयो ।
महिला संयोजकमा रन्जु थापा, सहसंयोजकमा अनन्तकुमारी गुरुङ र राधा बस्नेत निर्विरोध चयन हुनुभयो । उत्तर अमेरिका संयोजकमा मुकेशकुमार सिंह निर्वाचित हुनुभयो भने उपसंयोजकमा रामचन्द्र खरेल निर्विरोध हुनुभयो ।
यूरोप संयोजकमा कुमार पन्त, क्षेत्रीय सहसंयोजकमा लक्ष्यबहादुर गुरुङ, मध्यपूर्व संयोजकमा नरेन्द्रबहादुर भट्ट तथा सहसंयोजकमा लोकनाथ सुवेदी निर्विरोध चयन हुनुभयो ।
एसिया प्यासिफिक संयोजकमा यमकुमार (त्रिलोक) गुरुङ, सहसंयोजकमा किरणविक्रम थापा तथा ओसियाना संयोजकमा मन खत्री र सहसंयोजकमा निरज श्रेष्ठ निर्विरोध चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
जापानबाट ६ मध्ये २ निर्वाचित
गैरआवासीय नेपाली संघ (एनआरएन)को पाँचौ विश्व सम्मेलनमा जापानबाट उम्मेदवार भएका ६ मध्ये दुई जना निर्वाचित हुनुभएको छ । जापानबाट अध्यक्षमा देवमान हिराचन, महासचिवमा कुमार बस्नेत, कोषाध्यक्षमा नम्रता पाण्डे र भवन भट्ट तथा एसिया प्यासिफिक सहसंयोजकमा किरणविक्रम थापा र राजन प्रधानाङ्ग उम्मेदवार हुनुहुन्थ्यो ।
तीमध्ये हिराचन,  पाण्डे र प्रधानाङ्गले उम्मेदवारी फिर्ता लिनुभयो । भट्ट कोषाध्यक्षमा ४२६ मतले विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी गोवा कटवालले २८४ मत पाउनुभयो । थापा एसिया प्यासिफिक सहसंयोजकमा निर्वाचित हुनुभयो । महासचिवमा उम्मेदवार डा. कुमार बस्नेत भने पराजित हुनुभयो ।
एक ढिक्का बनाउँछुः नवनिर्वाचित अध्यक्ष 
अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि लामिछानेले एनआरएनलाई एकढिक्का बनाएर नेपालको आर्थिक र समाजिक रुपान्तरणका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले निवर्तमान अध्यक्ष हिराचनको त्यागको आफुले कदर गर्ने उल्लेख गर्दै अन्य पदका प्रत्यासीहरुले पनि सहमती मै चयन गर्न सके संघलाई थप बल मिल्ने बताउनु भयो ।
अध्यक्षका प्रत्यासी हिराचनले ५७ देशमा रहेका एनआरएन र सम्पुर्ण नेपालीको भावना अनुरुप संघलाई एकताबद्ध ढंगले अघि बढाउनका लागि आफुले उम्मेद्वारी फिर्ता लिएको प्रतिक्रिया दिनुभयो । सम्मेलन आजै नयाँ नेतृत्व चयन गर्दे सकिएको छ ।
झण्डै नौ सय प्रतिनिधि मध्ये ७ सय २३ ले मतदानमा भाग लिएका थिए ।
प्रवक्तामा शर्मा
यसैबीच नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेले एनआरएन प्रवक्तामा बेलायत निवासी डा. हेमराज शर्मालाई नियुक्त गर्नुभएको छ । प्रवक्ता अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था छ ।
यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले १३ बुँदे घोषणा जारी गरेको छ ।
बैठकका निर्णयहरु-
१) पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलनमा प्रस्तुत काठमाडौ घोषणापत्र २०११ अनुमोदन गरियो। बैठकले विश्व सम्मेलन सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई हार्दिक धन्यवाद व्यक्त गर्यो।
२) निवर्तमान चौथो कार्यसमितिले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी नयाँ कार्यसमितिलाई कार्यभार हस्तारण गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
३) निवर्तमान अध्यक्ष देवमान हिराचन प्रमुख संरक्षक र राम थापा, भिम उदास, ईन्द्रा बन संरक्षक रहने गरी संरक्षक परिषद गठन गरियो।
४) गैरआवासीय नेपाली संघको युवा संयोजकमा अष्ट्रेलियाबाट ध्रुव सुवेदीकाई मनोनित गरियो।
५) अर्को व्यवस्था नभए सम्म चौथो कार्समितिले गठन गरेका सम्पूर्ण कार्यदल र स्थायी समितिलाई निरन्तरता दिने निर्णय गरियो।
६) काठमाडौ घोषणापत्र २०११ मा गरिएको प्रतिवद्दता अनुसार १०० मेघावटसम्मको मध्यमस्तरीय जलविध्युत परियोजनाको कार्वान्यनको लागी अवधारणापत्र तयार गरी १ महिना भित्र कार्यसमितिमा पेश गर्ने जिम्मा अध्यक्ष जीवानाथ लामिछानेले दिईयो।
७) विभिन्न क्षेत्रहरुमा परियोजना सञ्चानगरेका गैरआवासीय नेपाली विज्ञहरुलाई ‘प्रोजेक्ट च्याम्पेन’ घोषित गरी सहकार्य गर्ने।
८) ‘गैरआवासीय नेपाली सम्वन्धी ऐन’मा भएका गैरआवासीय नेपालीको परिभाषा लगायतका कमिकमजोरी बिषयमा छलफल गर्न एनआरएनएका पदाधिकारीहरुको प्रतिनिधी मण्डलले परराष्ट्रमन्त्रीसँग भेट गर्ने।
९) स्वास्थ्यको क्षेत्रमा परियोजनाहरु सम्पन्न गर्न Help Nepal Network  सँग सहकार्य गरेर अगाडि बढ्ने।
१०) नेपालको विभिन्न जिल्लामा पुस्तकालयहरु स्थापना गर्न सकृय Nepal Library Foundation सँग सहकार्य गर्ने।
११) अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरुले आफ्नो कार्यकालमा अनिवार्यरुपमा कम्तीमा एउटा च्यारिटि परियोजना सम्पन्न गर्नु पर्ने निर्णय गरियो। बैठकमा उपस्थिति कार्यसमितिका सदस्यहरुबाट १ करोड ६० लाख बराबरको रकमको प्रतिवद्दता गरियो।
१२) एनआरएन भवन काठमाडौमा निर्माण गर्नको लागी आवश्यक रकम संकलन शुरु गरियो। बैठकमा उपस्थिति कार्यसमितिका सदस्यहरुबाट १ करोड ४० लाख बराबरको रकमको प्रतिबद्दता गरियो। भवन निर्माणको लागि सबै राष्ट्रिय समन्वय परिषदलाई अनिवार्यरुपमा अर्थिक सहयोग गर्न आग्रह गर्ने।
१३) हालै सिन्धुलीमा बस दुर्घटना परी मृत्यु भएका यात्रुका परिवार प्रति समवेदना प्रकट गरिन्छ।
तपाईको प्रतिक्रिया