शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

टोकियो – फूलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा पशुपति क्षेत्रमा नवनिर्मित किरियापुत्री भवनको निर्माण कार्य सम्पन्न भएको छ ।

ट्रष्टका अध्यक्ष डा. उपेन्द्र महतोद्वारा आफ्नी स्वर्गीय माता फूलकुमारी महतोको स्मृतिमा निर्मित सो भवनको संस्कृतिमन्त्री गोपाल किराँती, डा. महतो र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहाटालगायतले संयुक्तरुपमा मंगलबार उद्‌घाटन गरेका हुन् ।

बाथरुमसहित आठवटा कोठा र अन्य दाताबाट पहिले नै निर्माण भएका दसवटा कोठा पुनःनिर्माण गर्दा रु. २ करोड ५० लाख खर्च भएको बताइएको छ ।

यसअघि डा. महतोले वि.सं. २०६२ मा करिब रु. १ करोड २५ लाखमा बाथरुमसहित १४ कोठा निर्माण गरी पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेका थिए ।

समारोहमा सो भवनको साँचो डा. महतोले मन्त्री किराँतीलाई हस्तान्तरण गरेका थिए भने सोही समारोहमा मन्त्री किराँतीले उक्त साँचो कोषका सदस्यसचिव नाहाटालाई हस्तान्तरण गरे ।

कार्यक्रममा मन्त्री किराँतीले नयाँनयाँ विकास निर्माणका कार्य गर्न गैरआवासीय नेपाली संघबाट सदैव सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरेका थिए ।

सो समारोहमा ट्रस्टका अध्यक्ष डा. महतो, गैरआवासीय नेपाली संघका अध्यक्ष देवमान हिराचन, उपाध्यक्ष जीवा लामिछाने, कोषका सदस्यसचिव नाहाटा, कोषाध्यक्ष नरोत्तम वैद्य, परियोजनाका आर्किटेक्ट निरुमान शाक्य, लेखक हरिभक्त सिग्देल लगायतले बोलेका थिए ।

 

तपाईको प्रतिक्रिया