शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा तीव्रगतिकाे रेलको उद्घाटन गरे । तर शनिबार त्यो रेल बीच बाटाेमै अलपत्र पर्‍याे । मोदी सरकारले १ सय ३० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने वन्दे भारत एक्सप्रेस (टी-१८) लाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि ठानेकाे थियाे ।

तर सबैभन्दा छिटो चल्ने मानिएको वन्दे भारत एक्सप्रेसले आफ्नो पहिलो ट्रिपमा नै रोकिनु पर्यो । रेलले गाईलाई ठक्कर दिएपछि रेलको डिब्बा जाम भयो, जसका कारण रेल कुद्न सकेन । वाराणसीबाट राति फर्किँदै गर्दा बीच बाटोमा गाईलाई ठक्कर दिएपछि बिहान ५ : ३० बजे टुँडलाबाट १८ किलोमिटरको दूरीमा रेललाई रोकिएकाे हो ।

वन्दे भारत एक्सप्रेस नयाँ दिल्ली र वाराणसीको बीचमा सोमबार र बिहीबार बाहेक हप्तामा पाँच दिन चल्नेछ । यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अर्थात फेब्रुअरी १५ मा हरियो झण्डा देखाएर गरेका थिए । वन्दे भारत एक्सप्रेस १७ फेब्रुअरीबाट नियमित चल्नेछ । यो ट्रेन नयाँ दिल्ली रेलवे स्टेसनबाट बिहान ६ बजे छुटेर वाराणासीमा दिउँसोको दुई बजे पुग्नेछ । र वाराणासीबाट दिउँसोको तीन बजे हिँडेर दिल्लीमा राति ११ बजे पुग्नेछ ।

रेल बीचमा कानपुर र इलाहबाद(प्रयागराज) मा रोकिनेछ । वन्दे भारत एक्सप्रेसको दिल्लीबाट वनारससम्मको सामान्य भाडादर १७ सय ६० भारतीय रुपैयाँ छ भने विशिष्ट भाडादर ३ हजार ३ सय १० भारतीय रुपैयाँ छ । याे रेललाई विदेशबाट खरिद गरिएको नभइ पूर्णतया भारतमा निर्माण गरिएको भारतकै पहिलो ‘सेमी हाई स्पीड ट्रेन’ हो ।

तपाईको प्रतिक्रिया