बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – वाम र मधेसी गठबन्धनबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने प्रयास असफल भएको छ । मधेशी गठबन्धनमा आबद्ध राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन गर्ने प्रतिबद्धता माग गरेपछि राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति हुन नसकेको हो ।

संविधान संशोधन गर्नुपर्ने प्रस्तावका कारण राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति जुटाउन सक्ने अवस्था नदेखिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । वाम गठबन्धनले प्रदेश नम्बर २ मा सरकार बनाउन समेत सहकार्य हुने गरी राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव मधेशी गठबन्धनसँग मंगलबार बिहान नै राखेको थियो । त्यसपछि, बसेको बैठकमा मधेशी गठबन्धनले संविधान संशोधन गर्ने प्रतिबद्धता माग गरेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।

यता, मधेशी गठबन्धनका नेता वृशेषचन्द्र लालले राज्यपुनर्संरचना आयोगको प्रतिवेदन अनुसार संविधान संशोधन गर्न वाम गठबन्धनबाट प्रतिबद्धता आउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो । भोलि बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयन हुने कार्यसूची छ । बैठकमा वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरूले संविधान संशोधन आवश्यकता र औचित्यको आधारमा हुने स्पष्ट पारेका थिए ।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी भएका थिए भने राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया