शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पोखरा – माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताउनुभएको छ ।

प्रेस सेन्टर कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस् भन्ने सोचका साथ राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने गरी तयारी गरेको बताउनुभयो । सरकारको आजभोलि नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला गरेको भए पनि उसको नियत राम्रो नदेखिएको उहाँले बताउनुभयो ।

निर्वाचनको जनादेशअनुसार दुई पार्टी मिल्नुको विकल्प नभएको बताउँदै उहाँले यसका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएको उल्लेख गर्नुभयो । सो अवसरमा पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू तत्कालीन अवस्थामा सभामुख जस्तो पदीय जिम्मेवारीमा रहेका कारण प्रत्यक्षतर्फबाट चुनाव नलडेको बताउनुभयो ।

पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया