शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – युरोपियन च्याम्पियन रियल मड्रिडले तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जित्ने अभियानको अन्तिम खुड्किलोको रुपमा शनिबार ब्राजिलियन क्लब ग्रिमिओसँग प्रतिस्पर्धा गर्दैछ ।

फिफा क्लब विश्वकपको उपाधिको यो वर्षको यात्रा रियल मड्रिडले बुधबार राति युएईको ब्लब अल जाजिरासँग अबुधाबीमा भएको सेमिफाइनलबाट सुरु गरेको हो ।

सेमिफाइनलमा आयोजक देशको अरबियन गल्फ लिगको विजेता अल जाजिरालाई २–१ ले हराएर रियल मड्रिडले फाइनल यात्रा तय गरेको हो । अबुधाबीमा भएको खेलमा रियल मड्रिडलाई जिताउन क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गरे ।

शनिबार रातिको फाइनलमा ब्राजिलियन क्लब ग्रिमिओलाई हराउँदै जिनेदिन जिदानको टिम रियल मड्रिड फिफा क्लब विश्वपक फुटबलको उपाधि लगातार जित्ने पहिलो टिम बन्ने योजनामा छ ।

 

यस्तै यसअघि दुईपटक उपाधि उचालेको रियल मड्रिड तेस्रोपटक उपाधि उचाल्दै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गर्ने दाउमा पनि छ । रियल मड्रिडले यो प्रतियोगिताको उपाधि सन् २०१४ र २०१६ मा जितेको थियो । सन् २००० देखि सुरु भएको यो प्रतियोगितामा तीनपटक उपाधि जित्ने बार्सिलोना एक मात्र टिम हो ।

यस्तै सेमिफाइनलमा मेक्सिकोको पाचुकालाई १–० ले हराएर फाइनलमा स्थान बनाइसकेको ब्राजिलियन पावर हाउस ग्रिमिओ रियल मड्रिडलाई अचम्मित पार्दै फिफा क्लब विश्वकपको उपाधि जित्ने चौथो ब्राजिलियन टिम बन्ने धुनमा छ ।

ब्राजिलको कारिन्थिएम्सले सन् २००० र २०१२, साओ पाउओलोले २००५ र इन्टरनासिओनलले सन् २००६ मा उपाधि जितेका थिए । यो प्रतियोगितामा फिफाका ६ क्षेत्रका कनफेडेरेशन च्याम्पियन तथा आयोजक देशको लिग विजेताले प्रतिस्पर्धा गर्ने छन् ।

तपाईको प्रतिक्रिया